images
images
images

जेमिनी रिसाइकल नेपालले आईपीओ निष्कासन गर्ने, ईभी ब्याट्री रिसाइकलिङमा विस्तार गर्दै

images

पूर्वाधार वाच, विराटनगर ।

नेपालमा रिसाइकलिङ तथा फोहोर व्यवस्थापनको क्षेत्रमा क्रियाशील जेमिनी रिसाइकल नेपाल लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर निष्कासन (आईपीओ) गर्ने प्रक्रिया अघि बढाएको छ । मोरङको बुढीगंगा–५, हात्तीमुढामा सम्पन्न कम्पनीको विशेष साधारणसभाले पूँजी विस्तारसँगै आगामी व्यवसायिक रणनीतिका सम्बन्धमा महत्वपूर्ण निर्णय गरेको हो ।

सभाले कम्पनीको कुल ५० करोड रुपैयाँ जारी पूँजीको २० प्रतिशत बराबर १० लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको जनाएको छ ।

संस्थापक शेयरको मूल्य १९० रुपैयाँ कायम

विशेष साधारणसभाले संस्थापक शेयरको मूल्यसमेत निर्धारण गरेको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ९० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता १९० रुपैयाँ कायम गर्ने निर्णय गरेको जनाएको छ ।

आईपीओ निष्कासनमार्फत सर्वसाधारणलाई कम्पनीको स्वामित्वमा सहभागी गराउने तयारीसँगै कम्पनीले आफ्नो व्यवसायलाई थप विस्तार गर्ने रणनीति अघि सारेको छ ।

ईभी ब्याट्री रिसाइकलिङमा प्रवेश गर्ने तयारी

परम्परागत रिसाइकलिङ व्यवसायलाई विस्तार गर्दै जेमिनी रिसाइकलले विद्युतीय सवारीसाधन (ईभी) का प्रयोग भइसकेका ब्याट्री रिसाइकलिङलाई आगामी व्यवसायिक योजनामा समेटेको छ ।

नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गएसँगै भविष्यमा प्रयोग भइसकेका ब्याट्रीको व्यवस्थापन महत्वपूर्ण चुनौती बन्न सक्ने भएकाले त्यसलाई व्यवसायिक अवसरका रूपमा अघि बढाउने कम्पनीको योजना छ ।

कम्पनीले प्रयोग भइसकेका ईभी ब्याट्रीलाई आधुनिक प्रविधिमार्फत प्रशोधन गरी पुनः प्रयोग गर्न सकिने कच्चा पदार्थमा रूपान्तरण गर्ने लक्ष्य लिएको जनाएको छ । यसबाट वातावरणीय जोखिम न्यूनीकरणसँगै रिसाइकलिङ उद्योगमा नयाँ अवसर सिर्जना हुने अपेक्षा गरिएको छ ।

रिमेल्टेड र रिफाइन्ड लिड उत्पादन गर्दै

जेमिनी रिसाइकलले हाल पुराना ब्याट्रीबाट रिमेल्टेड तथा रिफाइन्ड लिड उत्पादन गर्दै आएको जनाएको छ । कम्पनीले आल्मुनियम र कपर स्क्र्याप प्रशोधन गर्नुका साथै पुराना प्लास्टिकलाई समेत प्रशोधन गरी दाना तथा चिप्स उत्पादन गर्दै आएको छ ।

कम्पनीका अनुसार उत्पादित अधिकांश सामग्री भारतीय बजारमा निर्यात हुँदै आएका छन् । फोहोर तथा प्रयोग भइसकेका सामग्रीलाई औद्योगिक कच्चा पदार्थमा रूपान्तरण गर्ने व्यवसायले आयात प्रतिस्थापन तथा निर्यातमार्फत नेपालको अर्थतन्त्रमा योगदान पुर्‍याउने कम्पनीको विश्वास छ ।

अनुभवी व्यवसायिक समूहको लगानी

जेमिनी रिसाइकल नेपालमा व्यवसायिक क्षेत्रमा स्थापित व्यक्तिहरू तथा संस्थागत लगानीकर्ताको सहभागिता रहेको कम्पनीले जनाएको छ । कम्पनीको नेतृत्व दिवाकर राठीले गरिरहेका छन् भने सञ्चालक समितिमा आकाश गोल्छाविल किशोर मेन्याङ्बोलगायत रहेका छन् ।

कम्पनीमा टप फन्ड लिमिटेड, स्टार फण्ड इन्भेष्टमेन्ट र हारवेस्ट भेन्चर्सजस्ता संस्थागत लगानीकर्ताको समेत सहभागिता रहेको बताइएको छ । व्यवसायिक समूह तथा संस्थागत लगानीकर्ताको सहभागिताले कम्पनीको विस्तार योजना र नयाँ प्रविधिमा आधारित रिसाइकलिङ व्यवसायलाई थप मजबुत आधार प्रदान गर्ने अपेक्षा गरिएको छ ।

‘सफा शहर’का लागि डिजिटल प्रणाली विकास गर्ने योजना

कम्पनीले वातावरण संरक्षणलाई प्राथमिकतामा राख्दै पब्लिक–प्राइभेट पार्टनरसिप (पीपीपी) मोडलमार्फत फोहोर व्यवस्थापनमा काम गर्ने योजना अघि सारेको छ ।

घर, कार्यालय तथा उद्योगबाट उत्पादन हुने फोहोरलाई व्यवस्थित रूपमा संकलन गर्न छुट्टै मोबाइल एप विकास गर्ने कम्पनीको तयारी छ । एपमार्फत घरदैलोबाटै फोहोर संकलन गरी प्रशोधन केन्द्रसम्म पुर्‍याउने र पुनः प्रयोगयोग्य सामग्रीलाई रिसाइकलिङ प्रक्रियामा लैजाने दीर्घकालीन योजना कम्पनीले अघि सारेको छ ।

आईपीओसँगै प्रविधिमा लगानी विस्तार गर्ने लक्ष्य

आईपीओमार्फत सर्वसाधारणबाट पूँजी जुटाउँदै कम्पनीले रिसाइकलिङ क्षेत्रमा प्रविधिको प्रयोग र लगानी विस्तार गर्ने लक्ष्य लिएको छ । विशेषगरी ईभी ब्याट्री रिसाइकलिङ, प्लास्टिक तथा धातुजन्य फोहोरको प्रशोधन र व्यवस्थित फोहोर संकलन प्रणालीमार्फत वातावरण संरक्षण तथा औद्योगिक विकासमा योगदान पुर्‍याउने कम्पनीको योजना छ ।

सर्वसाधारणको लगानीसमेत जोडिँदै जाँदा जेमिनी रिसाइकल नेपालले आगामी दिनमा आफ्नो व्यवसायिक क्षमता विस्तार गर्दै वातावरण संरक्षण र आर्थिक गतिविधि दुवैमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्