पूर्वाधार वाच, काठमाडौं ।
कलंकी होटल एण्ड गेष्ट हाउस एशोसिएशनको १४औँ वार्षिक साधारणसभा तथा नवौं अधिवेशन आज काठमाडौं महानगरपालिका, कलंकीमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको वार्षिक प्रतिवेदन, भावी कार्ययोजना तथा संस्थागत गतिविधिबारे समीक्षा गर्नुका साथै आगामी कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ ।
निर्वाचन समितिका अनुसार उम्मेदवारी दर्ता भएका सबै पदमा एकल उम्मेदवारी परेकाले मतदानको आवश्यकता नपरी आपसी समझदारी र सहमतिका आधारमा सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू निर्विरोध निर्वाचित भएका हुन् ।
नयाँ कार्यसमितिको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा श्याम चौलागाईं, उपाध्यक्षमा राजु घिमिरे, महासचिवमा अप्सरा थापा, सचिवमा रेशम पुलामी, कोषाध्यक्षमा माधव प्रसाद गौतम तथा सह–कोषाध्यक्षमा नहकुल भट्टराईनिर्विरोध चयन भएका छन् ।
महिला सदस्यमा तारा पराजुली र रोजिना खत्री निर्वाचित भएका छन् भने सदस्यमा राजु चौरेल र रविन राई चयन भएका छन् ।
निर्वाचन समितिका प्रमुख अधिवक्ता कुलबहादुर बोगटीले उम्मेदवारीमाथि कुनै दाबी–विरोध नपरेपछि सबै उम्मेदवारलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए । यससँगै नयाँ कार्यसमितिले औपचारिक रूपमा जिम्मेवारी सम्हाल्ने भएको छ ।
साधारणसभामा प्रस्तुत वार्षिक प्रतिवेदनअनुसार एशोसिएशनले कलंकी, बल्खु, स्वयम्भू र कोटेश्वर आसपासका होटल तथा गेष्ट हाउस व्यवसायीबीच एकता, आपसी सहकार्य र व्यवसायिक अधिकार संरक्षणका लागि निरन्तर काम गर्दै आएको जनाएको छ ।
संस्थाले पर्यटन क्षेत्रको प्रवर्द्धन, व्यवसायिक मर्यादा कायम गर्ने, सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्ने, स्थानीय तह तथा सुरक्षा निकायसँग समन्वय गर्दै सुरक्षित व्यवसायिक वातावरण निर्माण गर्ने तथा होटल व्यवसायलाई व्यवस्थित बनाउन आवश्यक पहललाई आगामी कार्यकालमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।
नवनिर्वाचित अध्यक्ष कुमार श्रेष्ठ नेतृत्वको कार्यसमितिले आगामी कार्यकालमा सदस्य विस्तार, संस्थागत सुदृढीकरण, होटल तथा गेष्ट हाउस व्यवसायीका साझा समस्याको समाधान, व्यवसायीको हकहित संरक्षण तथा पर्यटन क्षेत्रको विकासमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ । साथै सम्बन्धित सरकारी निकायसँग समन्वय गर्दै व्यवसायमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने जनाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्