पूर्वाधार वाच, काठमाडौं ।
श्री डिस्टिलरी लिमिटेडको पाँचौँ वार्षिक साधारणसभाले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । कम्पनीका अध्यक्ष ज्ञानेन्द्र खनालको अध्यक्षतामा सोमबार काठमाडौंमा सम्पन्न सभाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदनसहित विभिन्न प्रस्तावहरू पारित गरेको हो ।
सभाले सञ्चालक समितिका तर्फबाट अध्यक्ष खनालले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक वर्ष २०८२/०८३ को वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अनुसूचीसहितको लेखापरीक्षण प्रतिवेदनमाथि छलफल गरी स्वीकृत गरेको छ ।
त्यसैगरी, आर्थिक वर्ष २०८३/०८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित भएको छ । सभाले प्रबन्ध सञ्चालकको सेवा–सुविधा अनुमोदन गर्नुका साथै सञ्चालकहरूको बैठक भत्तासम्बन्धी प्रस्तावसमेत सर्वसम्मतिले स्वीकृत गरेको छ ।
खुद नाफा ९३७ प्रतिशतले बढ्यो
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८२/०८३ मा श्री डिस्टिलरीको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ९३७ प्रतिशतले वृद्धि भएको छ ।
आर्थिक वर्ष २०८१/०८२ मा ८ लाख ५८ हजार ७६१ रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले आर्थिक वर्ष २०८२/०८३ मा ८९ लाख ५ हजार ४८० रुपैयाँ नाफा कमाएको छ । यससँगै कम्पनीको खुद नाफामा उल्लेख्य सुधार देखिएको हो ।
त्यस्तै, कम्पनीको सञ्चालन नाफा ३०८ प्रतिशतले वृद्धि भई २ करोड ८१ लाख ४१ हजार १३ रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा सञ्चालन नाफामा भएको वृद्धिले कम्पनीको व्यावसायिक गतिविधिमा सुधार आएको संकेत गर्छ ।
कम्पनीको कुल आम्दानी २७ प्रतिशतले बढेर ७२ करोड ८४ लाख ९३ हजार ९०८ रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको कुल आम्दानी ५७ करोड २२ लाख रुपैयाँ रहेको थियो ।
यसैगरी, कम्पनीको खुद आम्दानी ३२ प्रतिशतले वृद्धि भई ३१ करोड ५ लाख ६५ हजार ९९५ रुपैयाँ पुगेको छ भने कुल सम्पत्ति ११ प्रतिशतले बढेर ७६ करोड ५ लाख ८५ हजार ५७७ रुपैयाँ कायम भएको छ ।
१३५ वितरकममार्फत देशभर उत्पादन बिक्री
श्री डिस्टिलरीले देशभर १३५ वितरकमार्फत आफ्ना उत्पादनको बिक्री–वितरण गर्दै आएको छ । कम्पनीको बिक्रीमा बागमती, मधेश र गण्डकी प्रदेशको उल्लेख्य योगदान रहेको विवरणमा उल्लेख छ ।
प्रदेशगत विवरणअनुसार बागमती प्रदेशमा ४४ वितरकममार्फत २२ करोड १४ लाख ८८ हजार ५३९ रुपैयाँ बराबरको बिक्री भएको छ । त्यस्तै, मधेश प्रदेशमा ३७ वितरकममार्फत २० करोड ५९ लाख २० हजार ८०६ रुपैयाँ र गण्डकी प्रदेशमा नौ वितरकममार्फत १८ करोड ८२ लाख ४२ हजार ५४ रुपैयाँ बराबरको बिक्री भएको छ ।
यसैगरी, लुम्बिनी प्रदेशमा २४ वितरकममार्फत ७ करोड ४९ लाख ४४ हजार १०० रुपैयाँ, कोशी प्रदेशमा १३ वितरकममार्फत २ करोड ३७ लाख ५० हजार २३६ रुपैयाँ र सुदूरपश्चिम प्रदेशमा आठ वितरकममार्फत १ करोड ४१ लाख ४८ हजार १७३ रुपैयाँ बराबरको बिक्री भएको कम्पनीको विवरणमा उल्लेख छ ।
उक्त विवरणले कम्पनीको बजार विस्तारमा देशव्यापी वितरण सञ्जालको भूमिका महत्त्वपूर्ण रहेको देखाउँछ ।
आईपीओमार्फत पुँजी जुटाउने तयारी
पाँचौँ वार्षिक साधारणसभाबाट आईपीओ निष्कासनको प्रस्ताव पारित भएसँगै श्री डिस्टिलरीले सर्वसाधारणबाट पुँजी जुटाउने प्रक्रिया अघि बढाउने बाटो खुलेको छ । यद्यपि, आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डलगायत सम्बन्धित निकायबाट आवश्यक स्वीकृति तथा नियामकीय प्रक्रिया पूरा गर्नुपर्नेछ ।
आईपीओमार्फत प्राप्त हुने पुँजीलाई कम्पनीले व्यवसाय विस्तार, उत्पादन प्रणालीको आधुनिकीकरण तथा दीर्घकालीन व्यावसायिक योजनामा उपयोग गर्न सक्नेछ । तर, सेयर निष्कासनको कित्ता संख्या, मूल्य, समयतालिका र अन्य सर्तबारे विस्तृत विवरण सार्वजनिक भएपछि मात्रै यससम्बन्धी थप जानकारी स्पष्ट हुनेछ ।
उत्पादन क्षमता विस्तारमा जोड
कम्पनीले उत्पादन सुविधाको आधुनिकीकरण तथा स्वचालित बोटलिङ प्रविधिको प्रयोगमार्फत उत्पादन क्षमता विस्तार गर्ने योजना अघि सारेको छ । उपलब्ध विवरणअनुसार कम्पनीको उत्पादन प्रणालीबाट मासिक एक लाख केसभन्दा बढी उत्पादन गर्न सकिने क्षमता रहेको छ ।
उत्पादन प्रणालीलाई आधुनिक बनाउने र वितरण सञ्जाललाई थप प्रभावकारी बनाउने योजनाले कम्पनीको आगामी व्यावसायिक विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
काठमाडौं महानगरपालिका–११, बबरमहलमा केन्द्रीय कार्यालय रहेको श्री डिस्टिलरी लिमिटेडले नाफा वृद्धि, बजार विस्तार र आईपीओ निष्कासनको तयारीलाई प्राथमिकतामा राखेको छ । साधारणसभाबाट पारित प्रस्तावसँगै कम्पनीको पुँजी परिचालन तथा आगामी व्यावसायिक योजनालाई अघि बढाउन थप आधार तयार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्