पूर्वाधार वाच, काठमाडौं ।
जिल्ला होटल व्यवसायी संघ काठमाडौंले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । सोमबार काठमाडौंको कान्तिपथस्थित होटल एल्लोप्यागोडामा आयोजित कार्यक्रममा होटल तथा पर्यटन क्षेत्रका विभिन्न संघसंस्थाका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा शुभकामना व्यक्त गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले होटल व्यवसायलाई कानुनी दायरामा ल्याउन देखिएका प्रक्रियागत जटिलता र कानुनी अस्पष्टता हटाउन पहल गर्ने बताएका छन् ।
उनले लामो समयदेखि कानुनी अस्पष्टताका कारण धेरै होटल व्यवसायी पर्यटन विभागमा सूचीकृत हुन नसकेको उल्लेख गर्दै आगामी दिनमा दर्ता तथा सूचीकृत हुने प्रक्रियालाई सहज बनाउने दिशामा काम गरिने बताए । होटल व्यवसायलाई व्यवस्थित बनाउन आवश्यक अध्ययन तथा वातावरणीय परीक्षणसम्बन्धी प्रक्रियालाई पनि सरल र व्यावहारिक बनाउनुपर्ने उनको भनाइ थियो ।
महानिर्देशक लामिछानेले होटल सेवाको गुणस्तर अभिवृद्धिमा व्यवसायी स्वयंको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै सम्बन्धित संघसंस्थाले आफ्ना सदस्य व्यवसायीले कानुन तथा व्यावसायिक आचारसंहिता पालना गरे–नगरेको निगरानी गर्नुपर्ने बताए ।
होटलको सरसफाइ, खाद्य स्वच्छता, आरामदायी वातावरण र गुणस्तरीय सेवामा विशेष ध्यान दिन आग्रह गर्दै उनले पर्यटकलाई सन्तुष्ट बनाउने गरी व्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड दिए । पर्यटन विभाग व्यवसायीका समस्या समाधान गर्न सम्बन्धित संघसंस्थासँग समन्वय र संवादमा रहेको पनि उनले जानकारी दिए ।
विपद्मा परेका व्यवसायीलाई संघको सहयोग
कार्यक्रमको अध्यक्षता गर्दै जिल्ला होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश बरालले विपद्का कारण प्रभावित भएका होटल व्यवसायीलाई संघले सहयोग गर्दै आएको बताए ।
भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण व्यवसाय गुमाएका तथा प्रभावित होटल व्यवसायीलाई संघका तर्फबाट स्थलगत रूपमा पुगेर आर्थिक सहयोग उपलब्ध गराइएको उनले जानकारी दिए ।
बरालले होटल व्यवसायीलाई प्रभावित बनाइरहेको रोयल्टीसम्बन्धी समस्याको तत्काल समाधान खोज्न होटल व्यवसायी महासंघको ध्यानाकर्षण गराए । व्यवसायीलाई अन्योल र त्रासमा राख्ने अवस्था अन्त्य गरी समस्याको व्यावहारिक समाधान निकाल्नुपर्ने उनको भनाइ थियो ।
काठमाडौं महोत्सवमार्फत पर्यटन प्रवर्द्धन गर्ने योजना
अध्यक्ष बरालले काठमाडौंको पर्यटन प्रवर्द्धनलाई थप प्रभावकारी बनाउन स्थानीय खानाका परिकार, कला, संस्कृति र मौलिक पहिचान समेटेर गत वर्षझैँ यस वर्ष पनि काठमाडौं महोत्सव आयोजना गर्ने सोच रहेको बताए ।
उनले पर्यटन प्रवर्द्धनलाई राजधानीका होटल व्यवसायमा मात्र सीमित नराखी अन्तर्राष्ट्रिय बजारसम्म विस्तार गर्नुपर्नेमा जोड दिए । नेपालमा पर्यटक आगमन बढाउन भारत, चीन र पाकिस्तानजस्ता छिमेकी मुलुकमा लक्षित प्रचारप्रसार आवश्यक रहेको उनको भनाइ थियो ।
नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक समानतालाई उपयोग गर्दै भारतीय पर्यटक आकर्षित गर्न विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने उनले बताए । पर्यटकलाई नेपाल भ्रमणका लागि प्रोत्साहित गर्न सञ्चारमाध्यममार्फत प्रचारप्रसार गर्नुका साथै सम्बन्धित मुलुकमै पुगेर प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए ।
यसका लागि सञ्चारमाध्यमसँग सहकार्य गर्ने र आवश्यकताअनुसार विदेशमा कार्यालय स्थापना गरेर पर्यटन प्रवर्द्धन गर्ने प्रयाससमेत अघि बढाइएको बरालले जानकारी दिए ।
पर्यटन व्यवसायीबीच सहकार्यमा जोड
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा महासंघका उपाध्यक्ष ज्ञानु गजमेर, होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशका अध्यक्ष दामोदर नेपाल, नेपाल होटल संघका महासचिव साजन शाक्य तथा नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष रमणनाथ श्रेष्ठलगायत सहभागी थिए ।
उनीहरूले होटल तथा पर्यटन क्षेत्रको विकास, व्यवसायीका हकहितको संरक्षण र आपसी सहकार्यका विषयमा धारणा राख्दै नजिकिँदै गरेका चाडपर्वको शुभकामना व्यक्त गरेका थिए ।
त्यसैगरी, कार्यक्रममा उद्योग महासंघका अध्यक्ष विक्रम चेम्जोङ लिम्बू, पर्यटन प्रहरीका प्रमुख प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारी, फास्टफुड एसोसिएसनका होमराज श्रेष्ठ, होटल व्यवसायी महासंघका सदस्य शैलेन्द्र विक्रम थापा तथा संघका संस्थापक अध्यक्ष एवं सल्लाहकार शैलेश कार्कीलगायतको उपस्थिति रहेको थियो ।
पर्यटन तथा वातावरणविज्ञ पीके शेर्पासहित विभिन्न होटल व्यवसायी संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू पनि कार्यक्रममा सहभागी थिए ।
कार्यक्रममा चाडपर्वको शुभकामना आदानप्रदानसँगै होटल व्यवसायमा देखिएका समस्या, सेवा गुणस्तर, व्यवसायीको हकहित र काठमाडौंसहित समग्र नेपालको पर्यटन प्रवर्द्धनलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो ।
होटल व्यवसायी र सरकारी निकायबीच सहकार्य बढाउँदै व्यवसाय सञ्चालनमा देखिएका कानुनी तथा प्रक्रियागत समस्या समाधान गर्ने र नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने विषय कार्यक्रमका प्रमुख प्राथमिकताका रूपमा रहेका थिए ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्