पूर्वाधार वाच, काठमाडौं ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले डिजिटल माध्यमबाट सहज कर्जा प्रवाह गर्ने उद्देश्यले ‘RBB Foneloan’ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले फोनलोन प्राइभेट लिमिटेडसँग सहकार्य गर्दै आफ्नो मोबाइल एप ‘RBB Digital Sansar’ मार्फत प्रयोग गर्न मिल्ने डिजिटल लेंडिङ प्रोडक्ट कार्यान्वयनमा ल्याएको हो ।
बिना धितो र कागजी प्रक्रिया कर्जा सुविधा
नयाँ सेवाअन्तर्गत ग्राहकहरूले बिना धितो, बिना कागजी प्रक्रिया तथा बैंकमा भौतिक रूपमा उपस्थित नभई अधिकतम एक लाख रुपैयाँसम्म कर्जा लिन सक्नेछन् । बैंकका अनुसार यो सुविधा हालका लागि तलबी खाता भएका ग्राहकहरूलाई लक्षित गरिएको छ ।
ग्राहकले आफ्नो खाताको कारोबार इतिहासका आधारमा कर्जा सुविधा पाउनेछन् । कर्जा लिनका लागि मोबाइल बैंकिङ सेवा सक्रिय भएको हुनुपर्नेछ र ‘RBB Digital Sansar’ एपमार्फत नै आवेदन दिन सकिने व्यवस्था गरिएको छ । आवेदनपछि बैंकले आवश्यक प्रक्रिया पूरा गरी कर्जा स्वीकृत गर्ने जनाएको छ ।
डिजिटल बैंकिङ विस्तारमा नयाँ पहल
बैंकले डिजिटल प्रविधिमार्फत सेवा विस्तार गर्दै ग्राहकलाई छिटो, सरल र झन्झटररहित बैंकिङ अनुभव प्रदान गर्ने उद्देश्यले यो सेवा सुरु गरेको जनाएको छ । ‘RBB Foneloan’ ले विशेषगरी आकस्मिक आवश्यकता भएका ग्राहकहरूलाई सहज रूपमा सानो परिमाणको कर्जा उपलब्ध गराउने अपेक्षा गरिएको छ ।
देशभर व्यापक सेवा सञ्जाल
वि.सं. २०२२ साल माघ १० गते स्थापना भएको पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले हाल देशभर ३१३ शाखा कार्यालय, ७१ एक्सटेन्सन काउन्टर, ३२६ एटिएम र ९९ शाखारहित बैंकिङ सेवा सञ्चालन गर्दै आएको छ ।
७ वटै प्रदेशका ७७ जिल्लामा सेवा विस्तार गरेको बैंकले ४७ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सुविधा प्रदान गर्दै आएको जनाएको छ ।
वित्तीय पहुँच अभिवृद्धिमा योगदान
बैंकले ‘RBB Foneloan’ सेवामार्फत डिजिटल बैंकिङलाई थप प्रभावकारी बनाउँदै वित्तीय पहुँच विस्तारमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ । यसले विशेषगरी डिजिटल माध्यमप्रति आकर्षित युवा तथा नियमित आम्दानी भएका सेवाग्राहीलाई सहज कर्जा सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्