images
images
images

पास भएका केयरगिभर इजरायल पठाएपछि मात्रै नयाँ भर्ना प्रक्रिया सुरु हुने

images

काठमाडौं । इजरायलले हाल छनोट प्रक्रियामा रहेका नेपाली श्रमिकलाई पठाउने कार्य सम्पन्न भएपछि मात्रै श्रमिक भर्नाको अर्को चरणको प्रक्रिया सुरु गर्ने भएको छ।

बुधबार युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि इजरायली राजदूत एरी बासबीच मन्त्रालयमा द्विपक्षीय भेटवार्ता भएको थियो। भेटका क्रममा इजरायल जान छनोट भएका नेपाली श्रमिकले भोगिरहेका समस्या, स्वास्थ्य परीक्षण र भाषा परीक्षाका विषयमा विस्तृत छलफल भएको थियो । श्रम मन्त्रालयका एक उच्च अधिकारीका अनुसार हालको भर्ना प्रक्रिया र आगामी योजनाबारे गृहकार्य भइरहेको छ।

‘२३०० जनाको प्रारम्भिक सूचीबाट हाल १२०० जनाको स्क्रिनिङ प्रक्रिया अघि बढेको छ। यो चरण सकिएपछि मात्रै बाँकी रहेकाहरूका लागि र नयाँ आवेदनका लागि अर्को सूचना निकालिनेछ’ ती अधिकारीले भने ‘केयरगिभरका रूपमा जान चाहने र अघिल्लो लटरीमा नपरेकाहरूका लागि अर्को परीक्षा कहिले गर्ने भन्ने विषयमा पनि हामी छलफलमै छौँ।’

राजदूत बासले पनि हाल अंग्रेजी भाषा परीक्षा पास गरी छनोटमा परेका श्रमिकको प्रस्थान प्रक्रियालाई प्राथमिकता दिइएको बताएका थिए । छनोटमा परेका इजरायल उडेपछि मात्र नयाँ आवेदन र छनोटको ढोका खुल्ने उनले स्पष्ट पारे।

यसैबीच, मन्त्रालयले होम (बेस केयर र एग्रीकल्चर वर्कर)का लागि पनि नयाँ प्रोटोकल तयारी गरेको छ। मन्त्रालयका अधिकारीका अनुसार यी दुई क्षेत्रका प्रोटोकलमाथि प्राप्त कमेन्टहरूलाई समेटेर छिट्टै अन्तिम रूप दिइने छ।

‘होम बेस र कृषि क्षेत्रका लागि आवश्यक प्रोटोकलको काम अन्तिम चरणमा पुगेको छ, हामी यसलाई छिट्टै टुङ्ग्याउने पक्षमा छौँ,’ ती अधिकारीले भने। भेटवार्तामा मन्त्री र राजदूत दुवैले नेपाली श्रमिकका समस्या समाधानका लागि निरन्तर संवाद र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे। नेपाल र इजरायलबीचको श्रम सहकार्यलाई थप सुदृढ बनाउँदै नेपाली श्रमिकको हकहित संरक्षणका लागि दुवै पक्षले समन्वय बढाउने सहमति समेत भएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्