पूर्वाधार वाच, नारायणगढ ।
चालु आर्थिक वर्षमा डिभिजन सडक कार्यालय भरतपुरमार्फत निर्माण सम्झौता भएका सात मोटरेवल पुलको निर्माण सम्पन्न भएको छ ।
निर्माण सम्पन्न भएका पुलमा २० मिटरदेखि दुई सय मिटरसम्मका मोटरेवल दुई लेनका पुल रहेका छन् । डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहका अनुसार यस आर्थिक वर्षमा चितवनमा छ र नवलपुरमा एक पुलको निर्माण सम्पन्न भएको हो ।
उनले यस वर्ष ठूला पुलमध्येका चितवनको ठिमुरा र तनहुँको देवघाट जोड्ने त्रिशूली नदीमाथिको पुल निर्माण सम्पन्न भएको बताए । रु २० करोड लागतको पुुलको विसं २०७१ मा सम्झौता भएको र पटक–पटक म्याद थप्दै नौ वर्षपछि गत पुसमा मात्र निर्माण सम्पन्न भएको उनको भनाइ थियो ।
शाहका अनुसार निर्माण सम्पन्न भएका अन्य पुलमा चितवनको खैरहनी नगरपालिका–६ नमूना पेट्रोल पम्प नजिकको पम्फा खोला पुलको निर्माण यस वर्ष सम्पन्न भएको छ । रु चार करोडमा निर्माण सम्पन्न भएको सो पुलको विसं २०७३ असारमा निर्माण सम्झौता भएको थियो । त्यस्तै, चितवनको राप्ती–६ र १० जोड्ने पम्फा खोला पुलको पनि यस वर्ष निर्माण सम्पन्न भएको छ ।
वि. सं २०७५ जेठमा निर्माण सम्झौता भएको सो पुलको यस वर्ष निर्माण सकिएको सूचना अधिकारी शाहले जानकारी दिनुभयो । सो पुलको लागत रु चार करोड छ । त्यसैगरी, ढुङ्ग्रे खोला कठार चितवनको पुलको यस वर्ष निर्माण सम्पन्न भएको छ ।
विसं २०७५ जेठमा सम्झौता भएर यस वर्ष कठार पुलको निर्माण सकिएको इन्जिनियर साहले बताउनुभयो । सो पुलको लागत रु चार करोड ५० लाख रहेको छ । चितवनकै इच्छाकामना गाउँपालिकामा पर्ने थाङ खोलामा पनि यस वर्ष नयाँ पुल बनेको छ ।
सम्झौता भएको मितिले २ वर्षमा निर्माण सम्पन्न सो पुलको बजेट रु चार करोड ५० लाख रहेको छ । शाहले भन्नुभयो, “थाङखोला पुल अब छिट्टै सञ्चालनमा आउँछ ।” भरतपुर महानगरपालिकामा पर्ने केरुङ्गा खोलाको पुलको पनि यस वर्ष निर्माण सम्पन्न भएको छ ।
साहका अनुसार रु चार करोडमा निर्माण सम्झौता भएको सो पुल तीन वर्षमा निर्माण सम्पन्न भएको हो । कार्यालयमार्फत यस वर्ष पूर्वी नवलपरासीमा पर्ने गैँडाकोट नगरपालिका–१३ र १६ जोड्ने अभिछेक खोलाको पुल पनि निर्माण सम्पन्न भएको छ ।
रु पाँच करोड १७ लाखमा निर्माण भएको सो पुलको विसं २०७८ मा निर्माण सम्झौता भएको थियो । सूचना अधिकारी साहले यस वर्ष नयाँ पुलको योजना नरहेकोे र रातो किताब आएपछि आगामी आर्थिक वर्षका योजनाहरुको जानकारी प्राप्त हुने बताए । कार्यालयको कार्य क्षेत्र चितवन र नवलपरासी ९सुस्ता पूर्व० पर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्