पूर्वाधार वाच, मुगु ।
साबिक कर्णाली बासीहरूको ‘लाईफ लाइन’को रूपमा रहेको राष्ट्रिय गौरवको आयोजनाको रूपमा लिइने कर्णाली करिडोर हुम्ला पछि आगामी असार महिनाको मसान्तसम्म मुगुमा जोडिँदै छ ।
सोरू गाउँपालिकाको आर्थिक लगानीमा हुम्लाको सीमा जोडिएको सोरू गाउँपालिका वडा नं १ र २ मा पर्ने पिपलमुडा भन्ने स्थानको हुम्ला कर्णाली नदीमा बेलिब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेपछि अबको १ महिना भित्रमा कर्णाली करिडोर मुगुको सोरू गाउँपालिकामा जोडिने सोरू गाउँपालिकाका अध्यक्ष धरमबहादुर शाहीले जानकारी दिए ।
कर्णाली राजमार्ग भन्दा कर्णाली करिडोर यात्रा गर्दा हिउँदमा हिमपातको समस्या नहुने तथा छिटो र छरितो रूपबाट सुर्खेत नेपालगन्ज मुगुबाट गाडीमा सवार गर्दा एक दिनमा पुगिने भएकाले सोरू गाउँपालिकाले पिपलमुडाको बेलिब्रिजमा लगानी गरेको सोरू गाउँपालिका उपाध्यक्ष केशरजङ्ग शाहीले बताए ।
४ करोड ५० लाख लगानी रहेको उक्त बेलिब्रिज पुलले हुम्ला र मुगु जोड्ने छ । सोरूकोटदेखि पिपलमुडासम्म यस अघि नै ट्याक खोली सकिएको छ । पिपलमुडा वेलिब्रिज बन्ने बित्तिकै कर्णाली करिडोर भएर आउने सवारी साधनहरू सिधै सोरूकोट हुँदै गमगढी पुग्ने अपेक्षा यहाँका स्थानीयहरूको छ ।
यस अघि सुर्खेत पुग्न दुई दिनको समय लाग्नेमा अब एक दिनको समय छोटिने छ भने नेपालकै पर्यटकीय गन्तव्य स्थल रारा घुम्न आउने पर्यटकहरूलाईसमेत ठुलो राहात मिल्ने जिल्ला समन्वय समितिका संयोजक मन्जन बहादुर कार्कीले बताए ।
बजेट अभावका कारण बेलिब्रिज निर्माणमा केही ढिलाइ भए पनि योजना स्थलमा सबै निर्माण सामाग्री हरू पुगिसकेको बताइएको छ भने निर्माणको काम अन्तिम चरणमा पुगेको छ । जलभ रबिचक्र जेभि निर्माण कम्पनीले बेलिब्रिज निर्माणको जिम्मा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्