images
images
images

बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेश अस्पतालका रूपमा सञ्चालन गरिने

images

पूर्वाधार वाच, बागलुङ ।

जिल्लाको बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई आगामी आर्थिक वर्षदेखि प्रदेश अस्पतालका रूपमा सञ्चालन गरिने भएको छ ।

ढोरपाटन नगरपालिकाको केन्द्रमा रहेको उक्त स्वास्थ्य केन्द्रलाई ५० शय्याको अस्पतालमा स्तरोन्नति गरिने गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख छ ।

यसअघि बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शय्याको जिल्ला अस्पतालमा रूपान्तरण गर्ने योजनाअनुसार भौतिक पूर्वाधार निर्माण गरिएको भए पनि त्यो पूरा भएको थिएन ।

बागलुङ जिल्ला अस्पताल खारेज भएर बागलुङ बजारमा धौलागिरि अस्पताल बनेपछि बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई जिल्ला अस्पताल बनाउन भवन निर्माण गरिएको थियो

कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनलगायतका विषयलाई प्राथमिकतामा राखेर मङ्गलबार गण्डकी प्रदेशसभा बैठकमा गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा बागलुङको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र र गोरखाको आँपपीपल अस्पताललाई प्रादेशिक अस्पतालका रूपमा सञ्चालन गरिने जनाइएको छ ।

गण्डकी प्रदेश सरकारको सिफारिसमा सङ्घीय सरकारले बागलुङको बुर्तिवाङ र गोरखाको आँपपिपलमा ५० शय्याको प्रदेश अस्पताल बनाउन गत फागुन ६ गते मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । उक्त निर्णय कार्यान्वयन गर्ने विषय नीति तथा कार्यक्रममा उल्लेख छ ।

स्वास्थ्य केन्द्र ५० शय्याको अस्पताल भएमा ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका र बडिगाड गाउँपालिकाका स्थानीय लाभान्वित हुनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्