पूर्वाधार वाच, काठमाडौं ।
नेपालले तेस्रो मुलुक अर्थात बंगलादेशमा पनि आगामी आर्थिक बर्षदेखि विद्युत निर्यात गर्ने भएको छ । बंगलादेश सरकारले नेपालबाट ४० मेगावाट विद्युत आयात गर्ने औपचारिक निणर्य गरेसँगै अब नेपाललाई तेस्रो मुलुकमा विद्युत निर्यातको बाटो खुलेको हो ।
बंगलादेशको मन्त्रिपरिषद्को सार्वजनिक खरिदसम्बन्धी समिति (सीसीजीपी)ले मंगलबार नेपालबाट आयात गर्ने ४० मेगावाट विद्युतको मूल्य स्वीकृत गरेपछि नेपाललाई विद्युत निर्यातको बाटो खुला भएको हो ।
नेपाल बंगलादेशबीच भएको सम्झौता अनुसार नेपालले प्रतियुनिट ९ रुपैयामा बंगलादेशलाई विद्युत निर्यात गर्ने छ । सीसीजीपीको बसेको बैठकले नेपालबाट आयात हुने विद्युतको मूल्य अनुमोदन गरेपछि नेपालले आगामी आर्थिक बर्षदेखि औपचारीक रुपमा ४० मेगावाट विद्युत निर्यात गर्ने उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ ।
यद्यपि आउँदो अषाढमा भारतको विद्युत् व्यापार निगम, नेपाल विद्युत् प्राधिकरण र बंगालादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी)बीच औपचारीक रुपमा त्रिपक्षीय सम्झौता गरेर विद्युत् निर्यात सुरु हुने मन्त्रालयले जनाएको छ ।
नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्यसम्बन्धी समझदारी भएको ६ वर्षपछि विद्युत् निर्यातले अन्तिम रूप लिन लागेको हो । प्राधिकरणले तयार पारेको प्रस्तावअनुसार बंगलादेशसँग ५ वर्षका लागि विद्युत् बिक्रीका लागि सम्झौता हुनेछ ।
नेपालको ४० मेगावाट विद्युत ढल्केबर–मुजफ्फरपुर ४ सय केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत भारतको बहरमपुर–भेरामारा प्रसारण लाइन हुँदै बंगलादेश निर्यात हुनेछ ।
हरेक वर्ष जुन १५ देखि नोभेम्बर १५ भित्र विद्युत् निर्यात गर्ने प्रस्ताव गरिएको छ । भारतीय प्रसारण लाइन प्रयोग गरेबापतको भाडा शुल्क भने बंगलादेशले नै तिर्ने सम्झौता भएको छ । मन्त्री बस्नेतका अनुसार बंगलादेशले ५ हजार मेगावाटको प्रस्ताव राखेको छ ।
बंगालदेशको प्रस्तावलाई नेपाल सरकारले सकरात्मक रुपमा हेरेकाले केही बर्षभित्रमै बंगालदेशलाई ५ हजार मेगावाट विद्युतनिर्यातको लक्ष्य राखेको उहाको भनाई छ ।
यसैगरी गत २०७९ भदौमा नेपाल–बंगलादेशको संयुक्त सचिवस्तरीय बैठकमा ६ सय ८३ मेगावाट क्षमताको सुनकोशी तेस्रो आयोजना नेपाल–बंगलादेशको संयुक्त लगानीमा निर्माण गर्ने प्रारम्भिक सहमति भएको थियो । सो सहमतिलाई छिट्टै औपचारीक सम्झौता गर्ने तयारी सरकारको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्