पूर्वाधार वाच, काठमाडौं ।
अछामको कमलबजार नगरपालिकाले ४८ जना कर्मचारी नियम विपरीत करारमा नियुक्ति गरेको पाइएको छ । नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतसहित ९९ दरबन्दी स्वीकृत रहेकोमा हाल ६३ जना पदपूर्ति भएको देखिन्छ ।
पदपूर्तिमध्ये ४८ जना (७६ प्रतिशत) नियमविपरीत करारबाट नियुक्त गरिएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३(८) मा नगर प्रहरी, सवारी चालक, सयस, बगैंचे, प्लम्बर लगायतका पद तथा सेवामा बाहेक करारमा नियुक्त गर्न नपाइने व्यवस्था छ।
यद्यपि कमलबजार नगरपालिको प्रशासनिक तथा प्राविधिक प्रकृतिका ४८ जना कर्मचारीहरू नियम विपरीत करारमा नियुक्त गरेर तलब भत्ता भुक्तानी गरिरहेको छ । जुन सरासर गैरकानुनी रहेको महालेखा बताउँछ ।
नगरपालिकामा कार्य व्यवस्थापनका दृष्टिकोणले महत्त्वपूर्ण मानिएका प्रशासकीय अधिकृतसहित ३६ पदहरू अझै रिक्त रहेका छन्। दरबन्दी बमोजिम जनशक्तिको पूर्णता नहुँदा विषयगत कार्यक्रम सञ्चालन, सेवा प्रवाह तथा पालिकाको समग्र कार्य सम्पादनमा समेत असर परिरहेको महालेखाले उल्लेख गरेको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ बमोजिम स्थानीय तहको कार्यबोझ, राजस्व क्षमता, खर्चको आकार र स्थानीय आवश्यकता समेतलाई ध्यानमा राखी कर्मचारी समायोजन भएपछि मात्र संगठन तथा व्यवस्थापन सर्वेक्षणका आधारमा स्थानीय तहमा संगठन संरचना कायम हुने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्