images
images
images

भिभिआइपीका फर्निचर कार्पेट, पर्दा लगायतमा १२ करोड बढी खर्च, सार्वजनिक खरिद प्रकृयाकाे ‘धज्जी’

images

पूर्वाधार वाच, काठमाडौं । 

विशिष्ट विशिष्ट व्यक्तिलाई उपलब्ध गराउने सेवा सुविधामा यस वर्ष १२ करोड ३७ लाख ९९ हजार खर्च भएको छ ।

संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले विशिष्ट व्यक्तिहरूका लागि फर्निचर, भान्साका अन्य सामान, बिजुलीका सामान, कार्पेट, पर्दालगायतका भौतिक सुविधाका सामान र चालु प्रकृतिका सामान खरिद गरी यो वर्ष उक्त रकम खर्च भएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

विशिष्ट व्यक्तिलाई उपलब्ध गराउने सेवा सुविधाको मापदण्ड हालसम्म तयार भएको छैन । उक्त मापदण्डको अभावमा असीमित खर्च भइरहेको महालेखाले भनेको छ ।

उसो त कार्यालयले मापदण्ड तयार नगरेको होइन ।  तर कार्यालयले तयार गरेको मापदण्ड गत २०८० असार ५ गते मन्त्रिपरिषद्मा पेस भए पनि प्रधानमन्त्री प्रचण्डले त्यसलाई स्वीकृत गरेका छैनन् ।

उक्त मापदण्ड स्वीकृत नगरेका कारण सामानको गुणस्तर, परिमाण तथा खर्चमा एकरूपता हुन सकेको छैन ।

‘विशिष्ट व्यक्तिहरूको लागि आवश्यक पर्ने बजेट सम्बन्धित निकायमा नै विनियोजन गरी भइपरी आउने कार्यको लागि मापदण्ड बनाई खर्च गर्नुपर्दछ ।’, महालेखाले सुझाव दिएको छ ।

यस्तै कार्यालयले यस वर्ष मेसिनरी तथा औजार, फर्निचर तथा फिक्चर्स, कार्यालय समानलगायतका १६ करोड ६ लाख ४८ हजार मूल्यका सामग्री र १३ करोड ५९ लाख ८० हजारको निर्माण तथा मर्मतको खरिद कार्य टुक्रा पारी विभिन्न आपूर्तिकर्ता एवं निर्माण व्यवसायीबाट सोझै खरिद गरेको समेत भेटिएको छ ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ८ (२) बमोजिम खरिद गर्दा प्रतिस्पर्धा सीमित हुने गरी टुक्रा पारी खरिद गर्न नहुने उल्लेख छ ।

भने, सार्वजनिक खरिद नियमावली, २०६४ मा रू. १० लाखसम्मको खरिद कार्य सोझै गर्न सकिने, रू. १० लाखभन्दा माथि रू. २० लाखसम्म सिलबन्दी दरभाउ पत्रबाट र सोभन्दा माथिको खरिद बोलपत्रको माध्यमबाट गर्नुपर्ने उल्लेख छ ।

तर संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले नियम विपरीत सोझै खरिद गरेको समेत महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्