पूर्वाधार वाच, काठमाडौं।
गुल्मीको इस्मा गाउँपालिकाले नियमविपरीत ४९ जना कर्मचारी नियुक्त गरेको फेला परेको छ । महालेखा परीक्षकको कार्यालयका अनुसार गाउँपालिकाले नियमविपरीत विभिन्न पदमा ४९ जना कर्मचारी करारमा नियुक्त गरेको हो ।
नियमविपरीत नियुक्त गरिएको कर्मचारीको तलब भत्तामा यस वर्ष पालिकाले १ करोड ३९ लाख ६ हजार ११ रुपैयाँ भुक्तानी समेत गरेको छ ।
कर्मचारी व्यवस्था स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ (८)मा नगर प्रहरी, सवारी चालक, सयस, बगैंचे, प्लम्बर लगायतका पद तथा सेवामा बाहेक करारमा नियुक्त गर्न पाइने व्यवस्था छैन ।
तर पालिकाकाले ऐन विपरीत हुने गरी गैर कानुनी रूपमा कार्यकर्ता भर्ती केन्द्र बनाएको स्थानीयहरूको समेत गुनासो छ । ऐनको व्यवस्था विपरीत कर्मचारी नियुक्त गरी भुक्तानी गर्ने कार्य नियमसम्मत नदेखिएको महालेखाको समेत ठहर छ ।
यस्तै पालिकाले गाउँपालिका कार्यालयले अतिरिक्त समयमा गरिने विशेष काम र सोको नतिजा प्रमाणित नगराई, विद्युतीय हाजिर प्रणालीमा रेकर्ड नराखी कर्मचारी प्रोत्साहन भत्ता समेत बाँडेको छ ।
कर्मचारीलाई अतिरिक्त समय प्रोत्साहन भत्ता बापत ११ लाख ५९ हजार २ सय रुपैयाँ वितरण गरेको देखिन्छ ।
कार्यसंचालन निर्देशिका, २०७७ परिच्छेद ७.१.४ बमोजिम नियमित काम बाहेक विशेष कामका लागि अतिरिक्त समयमा गरिने काम र सोबाट प्राप्त हुने नतिजा लेखा उत्तरदायी अधिकृतबाट प्रमाणित गराइएको हुनु पर्ने र सोको प्रयोजनका लागि विद्युतीय हाजिर प्रणाली अनिवार्य रूपमा लागु भएको हुनु पर्ने व्यवस्था रहेको छ । पालिकाले मनलाग्दी कर्मचारीलाई बाँडेर लाखौं रकम खेर फालेको पनि महालेखाले जनाएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्