फाइल तस्बिर
पूर्वाधार वाच,सिरहा ।
सिरहामा लगदि गदियानी सडक निर्माण कार्यमा ठेकेदारले गुणस्तरहीन सामाग्री प्रयोग गरेको पाइएको छ। गोलबजार लगदी गदियानी सडक कालोपत्रे गर्ने निर्माण व्यवसायीले सब–बेसमा कमसल तथा गुणस्तरहीन निर्माण सामाग्री प्रयोग गरी सडक निर्माण गरेको पाइएको हो ।
सडक कालोपत्रेमा सबैभन्दा पहिला सब–बेसको काम गर्नुपर्छ । सब–बेस बलिया भए सडक कालोपत्रे टिक्ने सम्भावना बढी हुने प्राविधिकहरू बताउँछन्। तर यस सडक निर्माणमा ठेकेदारले ठेक्का सम्झौतामा उल्लेख भएअनुसार रातो ग्राभेल हाल्नु पर्ने ठाउँमा स्थानीय “गागन खोलाबाट उत्खनन गरी ल्याएको” अधिक मात्रामा बालुवा, गिट्टी नभएको र माटोको मात्रा दश प्रतिशत समेत नभएको गुणस्तरहीन सामाग्री सब– बेसमा प्रयोग गरिएको स्थानीयहरू बताउँछन्।
आर्थिक वर्ष २०७६÷०७७मा १५ किलोमिटर सडक कालोपत्रे गर्न करिब ५१ करोडमा कोनटेक प्रा।लि। नक्सालले ठेक्का लिएर पेटीमा शम्भु कन्स्ट्रक्सनलाई दिइएको छ।
गोलबजार लगदि गदियानी सडक निर्माणका लागी पेटी ठेक्का पाएका शम्भु कन्स्ट्रक्सनले सडकको सब–बेसमा स्थानीय गागन नदीको आत्याधिक बालुवाको मात्रा भएको ग्राभेल प्रयोग गरिएको गोलबजार १२ का स्थानीय माधव यादवले जनाएको छ।
उनले भने, ‘सब बेसमा खोलाको गुणस्तरहीन ग्राभेल प्रयोग गरेको कारण छुटफुट वर्षा मात्र हुँदा पनि सो सडक हिलाम्मे हुन्छ। ठाउँ ठाउँमा सडक भासिएको छ । वर्षा नहुँदा सडक पुरै धुलाम्मे भइहाल्छ ।’
अर्नामा गाउँपालिका ५ का कारी यादव भन्छन्, “माटो,बालुवा र गिट्टीको मात्रा भएको ग्राभेल सब– बेसमा हालेर रोलिङ् गरिएको सडक यस्तो हिलाम्मे कसरी हुन्छ रु यस्तो सब – बेसमाथि कसरी एग्रिगेट बेस हाल्ने हो रु यो जनताको आँखामा ठेकेदारले छारो हाल्ने काम गरेको छ।
उनले भने, ‘निर्माण व्यवसायी शम्भु कन्स्ट्रक्सनले गागन नदीको बालुवा हाल्न खोज्दा सुरुमै स्थानीयले विरोध गरेपछि हुलाकी सडक आयोजना कार्यालय जनकपुरका इन्जिनियर कौशल यादवले खोलाको ग्राभेल सबबेसमा प्रयोग गर्न रोकेका थिए।
यो नदीजन्य पदार्थ सब–बेसमा हाल्न पाइदैन भन्दै त्यो सामाग्री अस्वीकृत गरिएको थियो । त्यसपछि शम्भु कन्स्ट्रक्सनले उक्त नदीजन्य कमसल तथा अस्वीकृत सामाग्री नजिकै स्टोर गरेर राख्यो। तिन महिनापछि त्यही ग्राभेल प्रयोग गरे।’
हुलाकी सडक आयोजनाका प्राविधिकले तिन महिना अघि अस्वीकृत गरिएको गुणस्तरहीन ग्राभेल सब–बेसमा प्रयोग भए पनि नियमनकारी निकाय मौन बस्नुले ठेकेदार र नियामक निकाय बीच अनुचित लेनदेन भएको गन्ध दिन्छ ।
गोल बजारका क्रसर व्यवसायीहरू भन्छन्,–“सब–बेसमा” धनगढीमाई नगरपालिकामा रहेको ग्राभेल खानीबाट झिकिएको रातो ग्राभेल हाल्नु पर्ने हो ।सडक निर्माण सम्झौतामा सोही कुरा उल्लेख छ । तर शम्भु कन्स्ट्रक्सनले हुलाकी सडक आयोजनाका इन्जिनियरहरूलाई आर्थिक प्रलोभनमा पारेर जनताको आँखामा छारो हाल्ने र गुणस्तरहीन सडक निर्माण गर्ने प्रपञ्च गरेको छ ।’
सब– बेस र बेसको फिल्ड डेन्सिटी परीक्षण गरिनु पर्छ । माटोको भार वहन क्षमता परीक्षण गरेपछि मात्र सब– बेस र बेस हाल्नुपर्ने स्थानियतहमा कार्यरत प्राविधिकहरू बताउँछन्। बेस एग्रिगेटको पनि साइज हुन्छ। निश्चित मात्रामा डस्ट मिसाइन्छ। माटो र बालुवा सब– बेस र बेसमा हाल्नै हुँदैन। कालोपत्रे सडकको टिकाउपन सब–बेस र बेस नै हो। सब–बेस हालेर रोलिङ्ग गरेपछि सामान्यतया सडक नभासिनुपर्ने प्रविधिकहरुको भनाई छ।’
सुरुमा गागन नदीको सामाग्रीमा बालुवा र माटो मात्र देखिएकोले सबबेसमा त्यो ग्राभेल नहाल्न भनिएको हुलाकी सडक आयोजना कार्यालय जनकपुरका इन्जिनियर कौशल यादवले जनाएको छ। उनले भने, ‘बालुवाकोमात्रा बढी भएकोले अस्वीकृत गरिएको थियो । पछि गिट्टीको मात्रा मिसाएको सामाग्री सबबेसमा ओछ्याइएको इन्जिनियर यादवले बताए।
उनले भने, ‘सब–बेसको सामाग्री ल्याबमा परीक्षणको लागि पठाइएको छु। रिपोर्ट आएपछि स्पष्ट हुन्छ।’ गोल बजार लगदी गदियानी सडक ठेक्का कोनटेक प्रा.लि. नक्सालको नाममा बोलपत्र स्वीकृत भएको छ।
१५ कलिोमिटर लम्बाइ रहेको यो सडक २०७७ मै ठेक्का लागेको थियो। दुई वर्षमा सम्पन्न गर्ने सर्तमा ठेक्का पाएका निमार्ण कम्पनीले हाल सम्म ३५–४० प्रतिशत निर्माण कार्य मात्र सकाएका छन्।
समयमा काम सम्पन्न नभएकोले एक पटकका लागी एक वर्षको लगी पुनः म्याद थपिएको लगदि गदियानी सडकका साइड इन्जिनियर अकिंत साहले जनाएको छ। थप म्याद अनुसार २०८१/११/२३ सम्ममा काम पूरा गर्नु पर्ने तोकिएको साहले बताए।’
५१ करोड ४१ लख ०२ दुई हजार ३ सय ९६ रुपैयाँ ०४ पैसामा ठेक्का कबुल गरेको कम्पनीले ३३ प्रतिशत सडक निर्माणको काम भएको आधारमा १६ करोड ८७ लाख ८४ हजार २६ रुपैयाँ भुक्तानी लिइसकेको छ । तर हालसम्म भौतिक प्रगति ३५ प्रतिशत मात्र भएको छ।
हुलाकी सडक आयोजना कार्यालय जनकपुरका अनुसार यो सडकको राइट अफ वे राजपत्रमा प्रकाशित नहुनु , सडक सीमा विवाद हुनु , विद्युतीय संरचना नहटाउनु र साइट क्लियर नहुनु , अदालतबाट विभिन्न मुद्दामा निषेधाज्ञा जारी हुनु , निर्माण सामग्रीको अभाव हुनु र बजेटको अभाव भएर निर्माण कार्य ढिलाइ भएको हो ।
समयमै सडक निर्माण हुन नसक्दा लगदी गदियानी देखि उत्तर गोल बजारसम्मका २४ गाउँ टोलका बासिन्दाहरू मर्का परेका छन्। गुणस्तरहीन निर्माण सामाग्री प्रयोग गरेकोले वर्षाको समयमा सडक हिलाम्मे हुने भएका कारण यस क्षेत्रको वासिन्दाहरुलाई बजार आउजाउ गर्न समेत कठिनाइ भइरहेको स्थानीयहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्