पूर्वाधार वाच, रौतहट ।
रौतहटमा जथाभाबी रूपमा अरूको खेत हुँदै विद्युतीय तार लगाएका दुई जना माथि ज्यान सम्बन्धी मुद्दा दायर गरिएको छ ।
स्थानीय देवाही गोनाही नगरपालिका ७ गोनाही टोलका रामदरेश राय यादव र गुल्टेन राय यादव माथि इलाका प्रहरी कार्यालय गरुडामा ज्यान सम्बन्धी मुद्दा दायर गरिएको हो ।
आरोपीहरूले विद्युतको पोलबाट जथाभाबी आफ्नो खेतमा लगेको मोटरको तारबाट करेन्ट लागि गत सोमवार दिउँसो देवाही गोनाही ७ का कुती हजराको छोरा वर्ष ४५ को चुनिलाल पासवानको आफ्नै खेतमा काम गरी रहेको अवस्थामा करेन्ट लागेर मृत्यु भएको थियो ।
पासवानको मृत्युपछि उनको आफन्तले दिएको लिखित किटानी जाहेरीको आधारमा मङ्गलवार रामदरेश र गुल्टेन माथि कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता भएको रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताएका छन्।
गत सोमवार दिउँसो १ बजेर २० मिनेटमा करेन्ट लागेको लगत्तै प्रहरीले पासवानलाई तत्काल उपचारको लागि शिवनगर स्थित एक निजी अस्पतालमा लगेकोमा आधा घण्टा पश्चात् दिउँसो १ बजेर ५० मिनेटमा उपचारको क्रममा मृत्यु भएको थियो।
इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रामेश्वर त्वातिले घटना लगत्तै पासवानको खेत हुँदै विद्युतको तार लागेका रामदरेश राय यादव, गुल्टेन राय यादव फरार रहेकाले उनको खोजी तथा घटना सम्बन्धी थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।
रौतहटमा आफ्नो खेतमा पानी पताउन जथाभाबी रूपमा विद्युत् पोल बाट लागेको तारबाट करेन्ट लागेर बर्षेनी कैयौँ मानिसको मृत्यु हुने गरेको पाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्