images
images
images

भैरहवा भन्सार ३ वर्ष देखि भएन लक्ष्य पार, निर्यात बढ्यो

images

पूर्वाधार वाच, भैरहवा । 

मुलुककै दोस्रो ठुलो र लुम्बिनी प्रदेशको पहिलो भन्सार नाका भैरहवा भन्सार कार्यालयले ३ वर्ष देखि राजश्व लक्ष्य पार गर्न सकस भएको छ । २०७८ पुस ५ गतेबाट लागु भएको अनिवार्य प्रतीत पत्र (एल.सी.) खोलेर शतप्रतिशत र दुई वटा शीर्षकमा ५० प्रतिशत नगद मार्जिन राख्नु पर्ने व्यवस्था गरेसँगै आयातमा कमी हुँदै आएको हाल सम्म पनि कार्यालयले विभागबाट पाएको लक्ष्य पार गर्न सकेको छैन ।

कार्यालयलाई भन्सार विभागले आर्थिक वर्ष २०८०/८१ का लागि एक खर्ब २७ अर्ब ८३ करोड ६६ लाख ७९ हजार राजस्व संकलन  लक्ष्य दिएकोमा आर्थिक वर्ष २०८०/८१ मा ८० अर्ब ७२ करोड रुपैयाँ अर्थात् ६३ दशमलव २४ प्रतिशत राजस्व मात्रै संकलन गरेको हो ।

बेलहिया नाका हुँदै हुने आयात खुम्चिँदा भन्सारले राजश्व संकलन लक्ष्य भेट्टाउन नसकेको हो । भन्सारले गत आर्थिक वर्षमा तोकिएको भन्दा ३७ प्रतिशत कम राजश्व संकलन गरेको छ । भन्सार कार्यालयको तथ्याङ्क अनुसार २०७७/७८ पछि लक्ष्य अनुसारको राजश्व संकलन हुन सकेको छैन ।

वर्षेनी बजेटको आकार बढेकोले स्रोतको सुनिश्चितताका लागि भन्सारको लक्ष्य पनि बढ्ने गरेको छ । तर लक्ष्य थपिए पनि सो अनुसारको राजश्व संकलन भने हुन पाएको छैन ।

कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/७८ मा लक्ष्य भन्दा १३ प्रतिशत बढी राजश्व संकलन भए पनि त्यसयता यो अनुपात घट्दै गएको छ । आर्थिक वर्ष २०७८/७९ मा लक्ष्यको ९१ प्रतिशत, २०७९/८० लक्ष्यको ४९ प्रतिशत र आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यको ६३ प्रतिशत मात्रै राजश्व संकलन भएको भन्सार कार्यालयका प्रमुख नारद गौतमले बताए । राजश्व संकलनमा योगदान दिने मुख्य वस्तुको आयात नै खुम्चिँदा पछिल्ला आर्थिक वर्षमा लक्ष्यअनुसार राजश्व संकलन गर्न नसकेको भन्सार प्रमुख गौतमले बताए ।

भन्सार विभागले लक्ष्य पार नभए पनि विगतको वर्ष भन्दा बढी लक्ष्य कार्यालयलाई दिएको छ । कार्यालयले २०७८ मंसिर सम्म लक्ष्य अनुरूप सफलता हासिल गर्दै गए पनि पुस ५ गतेबाट लागु भएको प्रावधानले आयातमा कमी हुँदै आएको हो ।

पुष महिना यता हाल सम्म लक्ष्य अनुरूपको सफलता हासिल गर्न सकेको छैन । मधेश आन्दोलन र नाकाबन्दीका बेला सहज मानिएको यो भन्सार नाका राज्यको लागि ठूलो योगदान गरेको थियो । बिस्तारै अन्य नाका सहज हुँदा सामानहरू पनि डाइभर्ट भएको छ ।

राजश्वमा मुख्य योगदान दिने बस्तु आयत घट्दा राजस्व लक्ष्य प्रभावित भएको छ गाडी, मोटरसाइकल, डिजेल, पेट्रोल, औद्योगिक कच्चापदार्थहरूको आयातमा कमी आएको छ , यस्तै विभिन्न राजश्व छुट, चोरी तस्करी, भारतीय अवरोध तथा नीतिगत फेरबदल, बुटवल नारायणगढ सडकको कठिनाइको कारण अन्य नाकाबाट काम गर्न आयातकर्ता बाध्य भएको प्रमुख गौतमले बताए ।

भैरहवा भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/८० मा २४ खर्ब ४६ अर्ब ४० करोडको सामान आयत भएकोमा १ खर्ब ९ अर्ब ६० करोड मूल्य बराबरको निर्यात भएको थियो भने व्यापार घाटा २३ खर्ब ३६ अर्ब ६८ करोड भएकोमा आर्थिक वर्ष २०८०/८१ को जेठ मसान्त सम्म २२ खर्ब ११ अर्ब ४० करोडको सामान आयत भएकोमा १ खर्ब ३१ अर्ब ७० करोड मूल्य बराबरको निर्यात भएको छ जसबाट व्यापार घाटा २० खर्ब ७९ अर्ब ७० करोड भएको छ ।

भैरहवा भन्सार कार्यालय निर्यात लक्षित भन्सार नरहेको कारण यहाँबाट न्यून रूपमा निर्यात हुने गरेको छ । गत वर्ष भन्दा अहिले निर्यातमा भने वृद्धि भएको भन्सार प्रमुख गौतमले बताए । यहाँबाट निर्यात हुनेमा सेन्थेटिक यार्न ,सिमेन्ट, सिमेन्ट किलिन्कर, पिना, रेजीन, चाउचाउ, नुडल्स, पास्ता, प्लाइउड र जडीबुटी रहेको छ ।

कार्यालयका अनुसार यस नाकाबाट भित्रिने बस्तु मध्ये सबैभन्दा बढी राजस्व मोटरसाइकल, जिप, कार र भ्यानबाट राजश्व संकलन भएको छ । यस्तै पेट्रोल, पिकअप तथा डेलिभरी भ्यान, ग्लेज टाइल, इलेक्ट्रिक कार जिप भ्यान, मोबाइल फोन, एलपी ग्यास, एम.एस. विलेट र हाइस्पीड डिजेल लगायतका १० बस्तुबाट बढी राजश्व उठेको छ । लक्ष्य यहाँ सम्म पु-याउनमा यी बस्तुहरूको मुख्य योगदान छ ।

लक्ष्य पार गर्नमा मुख्यतया मार्बल र ग्रेनाइटको भूमिका बढी हुन्छ तर ती बस्तुमा ३ वटा वर्गमा भन्सार हुने गरेकोमा यो नाकाबाट नभई अन्य नाकाबाट गएको हुन सक्ने अनुमान छ । ग्रेनाइटको हकमा सिङ्गै ल्याए २३ प्रतिशत, केही काटेर ल्याए ३३ प्रतिशत र तयारी अवस्थामा ल्याए ६० प्रतिशत भन्सार लाग्ने प्रावधान छ ।

पछिल्लो समय भन्सारले सेवा प्रवाह सरलीकृत गर्दै लगेको छ भने अवैध पैठारी रोक्न सीमा क्षेत्रमा गस्ती तीव्र पारेको छ । जसबप्याज, कपडा, चिनी, सूर्ति जन्य वस्तु किरानाका सामान सहित मानिस र सवारीसाधन लगायतका लाखौं मूल्यका सामान बरामद भएको छ ।

भन्सार विभागले आर्थिक वर्ष २०८१/०८२ मा भने विगतको तुलनामा १८ अर्ब घटाएर भन्सारलाई १ खर्ब ९ अर्ब लक्ष्य तोकेको छ । मुलुकको समग्र भन्सार राजश्व संकलनमा भैरहवा भन्सार कार्यालयको योगदान करिब १२ प्रतिशत छ । तर, पछिल्ला तीन वर्षमा भने राजश्व असुली घट्दा मुलुकको राजश्व लक्ष्य नै प्रभावित परेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्