पूर्वाधार वाच, कास्की ।
यस वर्षको मनसुन सुरु भएपछि पहिरामा परेर कास्कीमा हालसम्म १४ जनाको मृत्यु भएको छ । घटनामा छ जना घाइते भएका छन् । यसबिचमा जिल्लामा बाढीपहिराका ३३ र अविरल वर्षाका ६१ वटा घटना घटेका प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयकानुसार विपदमा परेर पोखरा महानगरपालिकामा १२ र मादी गाउँपालिकामा दुईजनाको मृत्यु भएको हो । पोखरा महानगरपालिका-१९ पुरुनचौर तल्लाकोटका गत असार २७ गतेको पहिरामा परी स्थानीय कुलबहादुर परियारको परिवारका छसहित सात जनाको ज्यान गएको थियो ।
पहिरामा परेर कुलबहादुरसहित उहाँका आमा ८५ वर्षीया लक्षिमा, पत्नी ४३ वर्षीया मनकुमारी, छोरी १५ वर्षीया प्रशना, २० वर्षीया प्रभा र ज्वाइँ २५ वर्षीय अस्मित परियार तथा छिमेकी ५६ वर्षीया राधिका परियारको मृत्यु भएको थियो ।
यसैगरी सोही रात पोखरा महानगरपालिका-३२ चैनपुरस्थित बाह्विसेमा ४० वर्षीया आरती ओझोको घर पहिरामा पुरिदा १८ वर्षीया अनिता ओझा, ११ वर्षीया अनुष्का ओझा र नौ वर्षीय प्रतिक सुवेदीको मृत्यु भएको थियो । यसैगरी असार २७ गते राति मादी गाउँपालिका ११ ताप्लेमा गएको पहिरामा परेर ८० वर्षीया माइतीकुमारी गुरुङको ज्यान गएको थियो ।
गत असार २६ गते पोखरा महानगरपालिका २७ का २२ वर्षीय भीमबहादुर थापाको घरमै सुतेको अवस्थामा पहिरामा परेर निधन भएको थियो ।
गत असार १२ गते रातिको घटनामा कास्कीको मादी गाउँपालिका-५ चितेपानीकी १३ वर्षीया आयुस्मा रानाभाटको मृत्यु भएको थियो । सोही दिनको घटनामा पोखरा महानगरपालिका-२७ आरुपाटाका ३१ वर्षीय हरि सुनारका छोरा तीन वर्षीय अनमोल सुनारको पहिरामा परेर ज्यान गएको थियो ।
यसैगरी अविरल वर्षाका कारण दुईजना घाइते भएका छन् । प्रहरीकानुसार पहिराका कारण जिल्लामा १४ वटा घर पूर्ण क्षति र नौ वटामा आंशिक क्षति पुगेको छ ।
पहिराका कारण एक वटा चौपाया मरेका र चार वटा घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए ।
यस्तै वर्षाका कारण पाँच वटा चौपायाको मरेका, दुई वटा घाइते तथा एक हजार नौ सय २० वटा पंक्षी मरेका पनि शर्माले जानकारी दिए ।
विपदबाट जिल्लामा अन्दाजी चार करोड आठ लाख ८१ हजारभन्दा बढीको सम्पत्तिमा क्षति भएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्