पूर्वाधार वाच, काठमाडौं ।
नेपालको पूर्वी जिल्ला इलाममा रेड पाण्डा (हाब्रे)को वासस्थान जोगाउन रेडपाण्डा संरक्षण क्षेत्र घोषणा गरिएको छ ।
इलाम नगरपालिकाले पुवामाइ सामुदायिक वन र कालपोखरी थामडाँडा सामुदायिक वन क्षेत्रको १ सय १६ हेक्टर क्षेत्र रेडपाण्डा संरक्षण क्षेत्र घोषणा गरेको हो । यसरी पालिकास्तरबाट संरक्षण क्षेत्र घोषणा गरिएको यो पहिलो अवसर हो ।
रेड पाण्डा वासस्थानको अध्ययन गर्दा पुवामाइ सामुदायिक वन र कालपोखरी थामडाँडा सामुदायिक वन क्षेत्रको १ सय १६ हेक्टर रेडपाण्डाको वासस्थान रहेको देखिएपछि स्थानीय संरक्षणकर्ता सो क्षेत्र जोगाउन लागिपरेका थिए ।
नगरपालिकाको वडा नं। ३ मा पर्ने सोही क्षेत्रलाई बिहीबार एक कार्यक्रमका बीच ‘रेड पाण्डा संरक्षण क्षेत्र’ घोषणा गरिएको हो । सो क्षेत्रमा रेडपाण्डाको स्वतन्त्रतापूर्वक हिँडडुल गर्ने वातावरण बनाउने र उनीहरुको प्राकृतिक प्रजनन केन्द्र विकास गर्ने लक्ष्य राखिएको छ ।
सो क्षेत्र इलामको सन्दकपुरसम्म फैलिएको छ । संरक्षण क्षेत्र घोषणा भएपछि अब स्थानीय समितिले सो स्थानमा रेड पाण्डालाई असर पर्ने कुनै पनि कार्य गर्न गराउनबाट रोक लगाउनेछ ।
पाण्डा संरक्षण क्षेत्रलाई प्राथमिकतामा राखेर संरक्षण क्रियाकलाप अघि बढाउने जिल्ला वन कार्यालय अधिकृत दानबहादुर श्रेष्ठले घोषणासभामा बताए ।
‘पालिकास्तरबाट संरक्षण क्षेत्र घोषणा गरिनु आफैंमा राम्रो कुरा हो,’ उनले भने, ‘रेड पाण्डा संरक्षणलाई सरकारले नै प्राथमिकतामा राखेको सन्दर्भमा संरक्षण क्षेत्रको यो काम आफैंमा नमुना र सराहनीय काम हो ।’
गत आर्थिक वर्ष नगरपालिकाले रेड पाण्डा नेटवर्कसँगको सहकार्यमा रेडपाण्डा संरक्षण समिति बनाएर संरक्षण कार्य थालेको थियो । ‘गत वर्ष समिति गठन गरेर सदस्यहरुलाई अभिमुखीकरण गर्दै सचेतना जागृत लगायतका काम गरेका थियौं,’ नगरपालिकाका प्रशासकीय अधिकृत गणेश खड्काले भने, ‘सोही वर्ष नगरपालिकाले पुवामझुवा सामुदायिक रेड पाण्डा संरक्षण तथा व्यवस्थापन कार्यविधि पारित गरेको थियो ।’ त्यसअघि २०७८ सालमै नगरपालिकाको स्थानीय वन ऐनले संरक्षण क्षेत्र स्थापनाको अधिकार दिएको थियो ।
‘यसअघि समिति गठन गरेर अभिमुखीकरणका काम गर्यौं,’ खड्काले बताए, ‘यसपाली रेडपाण्डा क्षेत्रमा उसले खाने मालिङ्गो, निगालोका विरुवा वृक्षरोपण गर्नेछौं ।’
संरक्षण क्षेत्र स्थापनामा रेडपाण्डा नेटवर्कले पनि सहयोग गरिहरहेको छ । ‘स्थानीयलाई संलग्न नबनाई कुनै पनि संरक्षणको काम सफल नहुने हुँदा हामीले स्थानीयसँगको साझेदारी हुने यस्ता संरक्षण प्रयासलाई सहयोग, प्रोत्साहन र अपनत्व लिँदै आएका छौं,’ नेटवर्कका राष्ट्रिय निर्देशक आङफुरि शेर्पा भन्छन्, ‘इलाममा हामीले गरेको १५ वर्षदेखिको कामको प्रतिफलको रुपमा हामीले यसलाई लिएको छौं । अबको चुनौती भनेको संरक्षण क्षेत्रको प्रभावकारी व्यवस्थापन र स्थानीय स्तरमा पर्यापर्यटन लगायत जीविकोपार्जनको ढोका खोल्नु हो ।’
कालपोखरी थामडाँगा सामुदायिक वन उपभोक्ता समितिकी अध्यक्ष मानसिंग राईले पुवामाइ र कालपोखरी सामुदायिक वन क्षेत्र जोडिएकाले यताबाट रेडपाण्डा उता जाने र उताबाट रेडपाण्डा यता आउने गरेको बताइन् ।
‘हामी सबैले हाब्रेलाई जोगाउने नै हो । हाम्रो सामुदायिक वन समितिका दुई जनाले हाब्रे संरक्षणमा हेरालुको काम गर्दै आउनुभएको छ,’ उनले भनिन्, ‘सामुदायिक वन क्षेत्रमा प्राकृतिक विरुवाले ढाकिए पनि यहाँको मालिंगो र निगालोलाई हाब्रेले खाने गरेको हुँदा यो वर्ष ती विरुवा रोप्ने योजना छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्