पूर्वाधार वाच, काठमाडौं ।
‘अक्वा त्रिदेव’ ब्राण्डबाट उत्पादित जारको पानीमा कोलिफर्म भेटिएपछि काठमाडौं महानगरपालिकाले २ लाख जरिवाना गर्ने निर्णय गरेको छ । तारकेश्वर नगरपालिका वडा नं. १० मा सञ्चालित जाम्बुलिङ्गा ग्रुप इष्डष्ट्रीले उत्पादन गरेको पानीमा उक्त कोलिफर्म भेटिएको हो ।
निरीक्षण अधिकृत डा. अवधेश झाका अनुसार साउन २५ गते गोङ्गबु क्षेत्रबाट विभिन्न ५ वटा ब्रान्डका नामबाट उत्पादन भएका २० लिटरका जारबाट पानीको नमुना लिइएको थियो । यसरी लिइएको नमुना काठमाडौं उपत्यका खानेपानी लिमिटेडको प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो ।
नमुना परीक्षणबाट मंगलबार रिपोर्ट प्राप्त भयो । प्राप्त रिपोर्टमा अक्वा त्रिदेव ब्रान्डको पानीमा फिकल कोलिफर्म भेटियो । प्रति १ सय मिलिलिटर नमुनामा ३०० भन्दा बढी कोलनी फर्मिङ् युनिट (सिएफयु) देखिएको छ । यो शून्य हुनुपर्छ ।
खाद्य प्राविधिक अनिल बस्नेत भन्छन्, ‘नेपाल सरकारको खाद्य तथा दाना पदार्थको अनिवार्य गुणस्तर मापदण्ड २०८० बमोजिम प्रशोधित पिउने पानीमा कोलिफर्म शून्य हुनुपर्छ । पानीमा सिएफयु ३ सयभन्दा धेरै देखिनु भनेको पानीको स्रोतमा सरसफाइ नभएको वा प्रशोधन प्रक्रिया पूरा नभएको भन्ने हो ।’
कोलिफर्मको स्रोत मानव वा पशुको दिशा हो । यसमा भिब्रो कोलेरा भने शून्य देखाएको छ । यो भनेको हैजा फैलिने जीवाणु नहुनु हो । बस्नेतले स्पष्ट पारे ।
डा.। झाका अनुसार जरिवाना गरिएसँगै यो ब्याचमा उत्पादन भएको सबै पानी विक्रीमा प्रतिबन्ध लगाइएको छ । पानीको नमुनामा पानीको कोलिफर्म शून्य नभएसम्म यो प्रतिबन्ध कायम हुनेछ ।
जार र बोतलको पानीमा कीरा, फोहर र कोलिफर्म देखिएपछि महानगरपालिकाले उमालेर मात्र पानी प्रयोग गर्न आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्