images
images
images

काठमाडौंमा ‘टप रोप तथा लिड ओपन क्लाइम्बिङ च्याम्पियनसिप २०८३´असार २७ र २८ गते आयोजना हुने

images

पूर्वाधार वाच, काठमाडौं ।

नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसन (एनसीएसए) अन्तर्गत काठमाडौं उपत्यका विशेष समिति (केभीएससी) र बागमती प्रदेश नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसनको संयुक्त आयोजनामा ‘टप रोप तथा लिड ओपन क्लाइम्बिङ च्याम्पियनसिप २०८३’ आयोजना हुने भएको छ । प्रतियोगिता आगामी असार २७ र २८ गते गोकर्णेश्वर नगरपालिका–४, जगडोलस्थित गेटवे एड्भेन्चर हब क्लाइम्बिङ सेन्टरमा सञ्चालन हुने आयोजकले जनाएको छ ।

बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको उद्घाटन असार २७ गते बिहान ७ बजे तथा समापन एवं पुरस्कार वितरण असार २८ गते साँझ ४ बजे हुने जानकारी दिइयो । प्रतियोगितामार्फत नेपालमा क्लाइम्बिङ खेलको विकास, नयाँ प्रतिभाको खोजी तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने लक्ष्य राखिएको आयोजकको भनाइ छ ।

दुई विधामा प्रतिस्पर्धा

प्रतियोगितामा टप रोप क्लाइम्बिङ र लिड क्लाइम्बिङ गरी दुई विधामा प्रतिस्पर्धा हुनेछ । टप रोप विधा विशेषगरी नयाँ तथा शुरुआती खेलाडीलाई लक्षित गरी सञ्चालन गरिनेछ भने लिड क्लाइम्बिङ पुरुष तथा महिला खुला प्रतिस्पर्धाका रूपमा आयोजना हुनेछ ।

प्रतियोगितामा सहभागी हुन नेपाली नागरिक तथा १७ वर्ष वा सोभन्दा माथिका खेलाडी योग्य हुनेछन् । टप रोपतर्फ दर्ता शुल्क ५०० रुपैयाँ तथा लिड क्लाइम्बिङतर्फ २,५०० रुपैयाँ निर्धारण गरिएको छ ।

सिफारिसपत्र ल्याउनेलाई दर्ता शुल्कमा छुट

आयोजकका अनुसार कुनै क्लाइम्बिङ वाल, क्लाइम्बिङ क्लब वा सम्बन्धित संस्थाको सिफारिसपत्र तथा प्रशिक्षक (कोच) को नाम र सम्पर्क विवरण पेश गर्ने खेलाडीलाई लिड क्लाइम्बिङतर्फ दर्ता शुल्कमा ५०० रुपैयाँ  गरिनेछ ।

यस व्यवस्थाले संस्थागत रूपमा प्रशिक्षण लिइरहेका खेलाडीलाई प्रतियोगितामा सहभागी हुन थप प्रोत्साहन मिल्ने आयोजकको विश्वास छ ।

विजेतालाई ५० हजार रुपैयाँसम्म पुरस्कार

प्रतियोगिताको टप रोप क्लाइम्बिङतर्फ प्रथम हुने खेलाडीले १० हजार रुपैयाँ, द्वितीयले ८ हजार रुपैयाँ र तृतीयले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

त्यसैगरी लिड क्लाइम्बिङतर्फ प्रथम हुने खेलाडीलाई ५० हजार रुपैयाँ, द्वितीयलाई ३० हजार रुपैयाँ तथा तृतीयलाई २० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । साथै उत्कृष्ट प्रदर्शन गर्ने १० जना खेलाडीलाई विशेष प्रतिभा पुरस्कारसमेत प्रदान गरिनेछ ।

टप रोपमा अनुभवी खेलाडीलाई रोक

नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसनद्वारा यसअघि आयोजित आधिकारिक प्रतियोगितामा सहभागिता जनाइसकेका खेलाडीले टप रोप विधामा प्रतिस्पर्धा गर्न नपाउने व्यवस्था गरिएको छ । नियम उल्लङ्घन गरी सहभागी भएको पाइएमा सम्बन्धित खेलाडीको नतिजा स्वतः रद्द गरिने आयोजकले स्पष्ट पारेको छ ।

आयोजकका अनुसार यो व्यवस्था नयाँ खेलाडीलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्ने उद्देश्यले लागू गरिएको हो ।

क्लाइम्बिङ खेलको विकासमा योगदान पुग्ने अपेक्षा

नेपालमा पछिल्ला वर्षहरूमा साहसिक खेलप्रतिको आकर्षण बढ्दै गएको सन्दर्भमा क्लाइम्बिङ खेललाई पनि व्यावसायिक र प्रतिस्पर्धात्मक रूपमा विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताले नयाँ प्रतिभाको पहिचान, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन, युवालाई साहसिक तथा स्वस्थ खेल गतिविधितर्फ आकर्षित गर्नुका साथै क्लाइम्बिङ खेललाई भविष्यमा ओलम्पिक स्तरसम्म प्रतिस्पर्धी बनाउने आधार तयार गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्