पूर्वाधार वाच, काठमाडौं ।
अपि पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको खुद नाफा उल्लेख्य रूपमा बढेको छ ।
कम्पनीले यस अवधिमा ९६ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३०.०६ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्म कम्पनीको खुद नाफा ४१ करोड ७५ लाख रुपैयाँ रहेको थियो ।
विद्युत बिक्री आम्दानी पनि बढ्यो
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानीमा समेत वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा १ अर्ब ६५ करोड रुपैयाँ रहेको विद्युत बिक्री आम्दानी बढेर चालु आर्थिक वर्षमा १ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ ।
त्यस्तै, कम्पनीको सञ्चालन मुनाफा पनि बढेको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म ९० करोड ८७ लाख रुपैयाँ रहेको सञ्चालन मुनाफा बढेर १ अर्ब ८ करोड रुपैयाँ पुगेको छ ।
ब्याज खर्च र प्रशासनिक खर्च घट्यो
कम्पनीको नाफा वृद्धिमा ब्याज खर्च तथा प्रशासनिक खर्चमा आएको कमीले समेत सकारात्मक प्रभाव पारेको देखिन्छ ।
समीक्षा अवधिमा कम्पनीको ब्याज खर्च ५७ करोड ७ लाख रुपैयाँबाट घटेर ४३ करोड ३० लाख रुपैयाँमा झरेको छ । त्यसैगरी, प्रशासनिक खर्च पनि ४ करोड ८८ लाख रुपैयाँबाट घटेर ३ करोड ८ लाख रुपैयाँमा सीमित भएको छ ।
यससँगै कम्पनीले गरेको लगानीको भ्यालुएसनमा समेत उल्लेख्य वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा १२ करोड १७ लाख रुपैयाँ रहेको लगानीको भ्यालुएसन बढेर समीक्षा अवधिमा ४७ करोड ४१ लाख रुपैयाँ पुगेको छ ।
विद्युत बिक्री आम्दानीमा भएको वृद्धि, ब्याज तथा प्रशासनिक खर्चमा आएको कमी र लगानीको भ्यालुएसनमा भएको वृद्धिलगायतका कारण कम्पनीको खुद नाफामा उल्लेख्य सुधार आएको देखिन्छ ।
प्रति शेयर आम्दानी १५ रुपैयाँ नाघ्यो
नाफामा भएको सुधारसँगै कम्पनीको प्रति शेयर आम्दानी (EPS) मा पनि उल्लेख्य वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म ६.८७ रुपैयाँ रहेको प्रति शेयर आम्दानी बढेर समीक्षा अवधिमा १५.०६ रुपैयाँ पुगेको छ ।
त्यस्तै, कम्पनीको प्रति शेयर नेटवर्थ पनि बढेको छ । अघिल्लो आर्थिक वर्षमा ११०.१२ रुपैयाँ रहेको प्रति शेयर नेटवर्थ बढेर ११९.५१ रुपैयाँपुगेको कम्पनीको वित्तीय विवरणमा उल्लेख छ ।
चुक्ता पुँजी ६ अर्ब ३७ करोड
समीक्षा अवधिको अन्त्यसम्म अपि पावरको चुक्ता पुँजी ६ अर्ब ३७ करोड रुपैयाँ रहेको छ । कम्पनीको रिटेन्ड अर्निङ १ अर्ब २४ करोड ४५ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको पछिल्लो वित्तीय विवरणले आम्दानी वृद्धि तथा खर्च व्यवस्थापनमा सुधारसँगै नाफा र प्रतिशेयर सूचकमा समेत सकारात्मक प्रगति देखाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्