पूर्वाधार वाच, काठमाडौं ।
यशोदा फुड्स प्रालिले सर्वोच्च अदालतले करेन्ट चाउचाउको उत्पादन तथा बिक्री–वितरणमा रोक नलगाएको दाबी गरेको छ । करेन्ट चाउचाउको उत्पादक तथा वितरक कम्पनी यशोदाले करेन्ट चाउचाउलगायत उत्पादन नियमित रूपमा बिक्री–वितरण भइरहेको जानकारी गराएको हो ।
ट्रेडमार्क तथा लेबलको विवादमा सर्वोच्चको फैसलालाई अपव्यख्या गरी करेन्ट चाउचाउको उत्पादन तथा बिक्री–वितरणमा रोक लगाएको भनी भ्रामक तथा तथ्यहीन प्रचारप्रसार गरिएको भन्दै कम्पनीले आफ्नो ध्यानकर्षण भएको समेत जनाएको छ ।
कम्पनीले एक विज्ञप्ति जारी गर्दै उद्योग विभागबाट विभिन्न मितिमा लेबल डिजाइन ट्रेडमार्क दर्ता प्राप्त गरिसकेको भन्दै प्रचलित कानुनभित्र रहेर विभिन्न स्वादका चाउचाउलगायत वस्तु उत्पादन तथा बिक्री–वितरण गरिरहेको जनाएको हो ।
‘यशोदा फुड्स प्रालिले उद्योग विभागसमक्ष आवेदन नं ०९८२२९ बाट करेन्ट रेगुलर २० रुपैयाँमा बिक्री गर्ने चाउचाउको पाँच प्याक भनी लेबल दर्ताका लागि आवेदन गरिएकोमा सो लेबलमा उत्पादन तथा बिक्री–वितरणमा रोक लगाइपाऊँ भनी उद्योग विभागमा उजुरी परेको रहेछ,’ कम्पनीको विज्ञप्तिमा उल्लेख छ, ‘सो निवेदनमा उद्योग विभागले विपक्षीको दाबी नपुग्ने र यशोदा फुड्सले दर्ता माग गरेको ट्रेडमार्क दर्ता हुने भनी २९ जेठ ०८० मा फैसला गरेको थियो ।’
विभागको उक्त फैसलाउपर विपक्षी उद्योगले उच्च अदालत पाटनमा उक्त लेबलको चाउचाउको उत्पादन बिक्री–वितरण रोकिपाउन अन्तरकालीन आदेश माग गरी दायर गरेको थियो । तर, उच्च अदालत पाटनले ‘उल्लिखित ट्रेडमार्कका हकमा सुरु तहले गरेको निर्णयको न्यायिक परीक्षण भई अन्तिम टुंगो लाग्नसमेत बाँकी रहेको अवस्था हुँदा उद्योग विभाग त्रिपुरेश्वर, काठमाडौंबाट मिति २९ जेठ ०८० मा भएको निर्णय प्रस्तुत मुद्दाको फैसला नहुँदासम्म कार्यान्वयन नगरी यथास्थितिमा राख्न उपयुक्त हुने देखिन आयो’ भनी आदेश गरेको थियो । त्यसपछि उक्त आदेशलाई सर्वोच्च अदालतबाट ३२ साउन ०८१ मा ‘कानुनबमोजिम गर्नू’ भनी आदेश आएको कम्पनीको दाबी छ ।
‘उक्त आदेशको गलत व्याख्या गरी विभिन्न सञ्चारमाध्यममा यशोदा फुड्सको उत्पादनको बिक्री–वितरणमा सर्वोच्च अदालतले रोक लगाएको भनी अदालतको अवहेलनाजन्य कार्य गरी दुष्प्रचार गरेको कुरामा यशोदा फुड्सको गम्भीर ध्यानाकर्षण भएको छ,’ कम्पनीको विज्ञप्तिमा उल्लेख छ, ‘विपक्षीले विरोध गरेकाले सो एक आवेदन नम्बरको लेबलका विषयमा उच्च अदालतले यथास्थितिमा राख्नु भनी गरेको आदेशअनुसार उक्त आवेदन नम्बर ०९८२२९ को लेबलबाट कुनै मालवस्तु उत्पादन नगरी उद्योग विभागबाट प्राप्त अन्य ट्रेडमार्क दर्ता प्रमाणपत्रबमोजिमका लेबलको मात्र मालवस्तु उत्पादन गरिआएको जानकारी गराउँछौँ ।’
कम्पनीले कानुनसम्मत उत्पादन तथा बिक्री–वितरण गरिरहेको बताउँदै भ्रममा नपर्न उपभोक्ता, डिलर एवं व्यापारीलाई आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्