images
images
images

विद्युत् खपत तीन गुणाले बढ्यो, निर्यात ४४ प्रतिशत वृद्धि

images

पूर्वाधार वाच, काठमाडौं ।

मुलुकबाट लोडसेडिङ अन्त्य भई नियमित रूपमा विद्युत् आपूर्ति हुन थालेपछि विद्युत् (ऊर्जा) खपत तीन गुणा बढेको छ।

आर्थिक वर्ष (आव) (२०७२/०७३)मा ३ अर्ब ७२ करोड युनिट ऊर्जा खपत भएकोमा गत आव २०८०/०८१ मा १० अर्ब २ करोड युनिट पुगेको छ। आठ वर्षको अवधिमा देशभित्रको विद्युत् खपत ६ अर्ब ५१ करोड युनिट वृद्धि भएको हो। आठ वर्षअघि विद्युत् खपत वृद्धिदर नै ऋणात्मक थियो।

गत आवमा सबैभन्दा बढी ग्रार्हस्थतर्फ ४ अर्ब ३१ करोड र औद्योगिक ग्राहकतर्फ ३ अर्ब ६९ करोड युनिट विद्युत् खपत भएको छ। बाँकी विद्युत् अन्य समूहका ग्राहकले खपत गरेका हुन्। आठ वर्षअघि १३१ युनिट रहेको प्रतिव्यक्ति ऊर्जा खपत गत आवसम्म आइपुग्दा ४०० युनिट पुगेको छ।

आठ वर्षअघि वर्षायाममासमेत दैनिक ८ घण्टा लोडसेडिङ थियो। हिउँदमा दैनिक १४ घण्टासम्म लोडसेडिङ गर्नुपर्ने प्रक्षेपण थियो। २०७३को कात्तिकबाट काठमाडौं उपत्यका हुँदै क्रमिक रूपमा देशका प्रमुख सहरहरूका ग्राहस्र्थतर्फका ग्राहकको र त्यसपछि औद्योगिक ग्राहकको लोडसेडिङ अन्त्य गरिएको थियो। २०७५ वैशाखबाट सिङ्गो मुलुक लोडसेडिङमुक्त घोषणा गरिएको थियो।

८ वर्षअघि ५८ प्रतिशत घरपरिवारमा मात्र विद्युत् पुगेको थियो। अहिले ९९ प्रतिशतमा विद्युत् पुगेको छ। विद्युतको पहुँच पुगेका घरपरिवारमध्ये ९७ प्रतिशत राष्ट्रिय ग्रिडबाट र २ प्रतिशतले ग्रिड भन्दाबाहिर रहेका लघु जलविद्युत, सौर्य ऊर्जालगायतबाट विद्युत् उपभोग गरिरहेका छन्।

आव वर्षअघि विद्युत्का ग्राहक करिब ३० लाख रहेकामा हाल सामुदायिकसहित ५९ लाख ३५ हजार पुगेको छ।नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ अन्त्यपछि पर्याप्त निरन्तर विद्युत् आपूर्ति हुन थालेपछि विद्युत् खपत बढेको बताए।

‘ठूला तथा साना उद्योगहरूले निरन्तर विद्युत् आपूर्ति पाइरहेका छन्, यस अवधिमा उद्योगहरूको धैरे लोड स्वीकृत गरिएको छ, खाना पकाउनलगायत घरायसी प्रयोजनमा विद्युतीय उपकरणहरूको प्रयोग बढेको छ, निजी तथा सार्वजनिक यातायातमा विद्युतीय सवारी साधनको प्रयोग बढिरहेको छ, विद्युतीकरण व्यापक रूपमा गरिएको छ जसका कारण आन्तरिक रूपमा विद्युत्को खपत बढिरहेको छ,’ कार्यकारी निर्देशक घिसिङले भने।

उनका अनुसार हरेक वर्ष विद्युत् माग बढेसँगै विद्युत् आपूर्तिमा चुनौती थपिएका छन्, त्यस्ता चुनौती र समस्याको समाधान गरी उपभोक्तालाई भरपर्दो, गुणस्तरीय, सुरक्षित विद्युत् आपूर्तिका देशका प्रमुख सहरहरूलाई ११ वटा क्लस्टरमा विभाजन गरी सन् २०५० सम्मको मागलाई आपूर्ति गर्न सक्ने प्रसारण र वितरण संरचनाको गुरुयोजना तयार गरी क्रमिक रूपमा कार्यान्वयनमा लगिएको छ।

उनले आन्तरिक रूपमा विद्युत्को खपत बढाउने, उत्पादन वृद्धि गरी आयात घटाउने र निर्यात वृद्धि गर्ने गरी काम भइरहेको उल्लेख गरे।

आव २०७२/०७३मा ३ अर्ब ७२ करोड युनिट रहेको विद्युत् खपत आव २०७३/०७४मा २८.४७ बिन्दुले बढी ४ अर्ब ७७ करोड युनिट पुगेको थियो।

आव २०७४/०७५मा विद्युत् खपत ५ अर्ब ५६ करोड, २०७५/०७६मा ६ अर्ब ३० करोड युनिट, २०७६/०७७मा ६ अर्ब ४२ करोड, २०७७/०७८ मा ७ अर्ब २८ करोड युनिट भएको थियो।

यसैगरी, २०७८/०७९मा ८ अर्ब ८४ करोड, २०७९/०८०मा ९ अर्ब ३५ करोड र २०८०/८१मा १० अर्ब २ करोड युनिट विद्युत् खपत भएको थियो। आव २०७९र८०को तुलनामा आव २०८०/८१मा विद्युत् खपत करिब १० प्रतिशतले बढेको हो।

गत आवमा पिक डिमाण्ड (विद्युत् बढी माग हुने समय) अघिल्लो आव २०७९/८०को तुलनामा ११.३४ प्रतिशत विन्दुले वृद्धि भएको थियो। गत आवको जेठ १६ गते देशभित्रको सबैभन्दा बढी विद्युत्को माग रेकर्ड गरिएको थियो। उक्त दिन पिक डिमाण्ड २ हजार २१२ मेगावाट पुगेको थियो।

वर्षा यामका ६ महिना विद्युत् भातरततर्फ निर्यात गर्ने अवस्था बनेता पनि हिउँदमा नदी प्रवाही जलविद्युत आयोजनाहरूको विद्युत् उत्पादन घटी केही महिना देशभित्रको माग धान्न विद्युत् आयात गर्नुपर्ने अवस्था छ। तर, प्रणालीमा आयात गरिएको ऊर्जाको परिमाण भने घट्दै गएको छ।

गत आवमा प्रणालीमा आयातित ऊर्जाको हिस्सा १४.६८ प्रतिशत रहेको छ। जुन अघिल्लो आवको तुलनामा ८.५७ प्रतिशत बिन्दुले कम हो। विद्युत् निर्यात ४४ प्रतिशत बिन्दुले वृद्धि भएको छ।

गत आवमा भारतबाट १ अर्ब ९० करोड युनिट अर्थात् १६ अर्ब ९३ करोड रुपैयाँ बराबरको विद्युत् आयात गरिएको थियो। तर, यही अवधिमा १ अर्ब ९५ करोड युनिट विद्युत् भारतर्फ निर्यात गरी १७ अर्ब ६ करोड रुपैयाँ आम्दानी भएको थियो।

गत आवमा आयातभन्दा १३ करोड रुपैयाँको बढीको विद्युत् निर्यात गरी खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बनेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्