पूर्वाधार वाच, चितवन ।
चितवनको माडी क्षेत्रमा आज बिहानदेखि अत्यधिक वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो तीन घण्टामा माडी र आसपासका क्षेत्रमा अति भारी वर्षा भएको र यो क्रम जारी रहने अनुमान गरिएको छ ।
यस परिस्थितिलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले रिउ खोला र यसका सहायक नदीहरूमा आकस्मिक बाढीको उच्च जोखिम रहेको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले नदी तटीय क्षेत्र र निचा भूभागमा बस्ने नागरिकहरूलाई दिउँसो २ बजेसम्म विशेष सतर्कता अपनाउन आग्रह गरेका छन् ।
‘कल्याणपुर वर्षा मापन केन्द्रका अनुसार माडी क्षेत्रमा अझै भारी वर्षाको सम्भावना छ,’ यादवले भने । ‘खास गरी रिउ खोला र यसका सहायक नदीहरूमा अचानक बाढी आउन सक्ने भएकाले सतर्क रहन जरुरी छ ।’
माडी क्षेत्रमा खहरे खोलाहरूले वार्षिक रूपमा ठुलो क्षति पुर्याउने गरेको स्थानीयहरू बताउँछन्। यहाँ सामान्य वर्षामा पनि साना खोलाहरू एक्कासि उर्लिने गर्दछन्, जसले गर्दा बाढी र डुबानको जोखिम बढ्छ ।
यसैबिच, भरतपुरमा पनि बिहानदेखि नै मुसलधारे पानी परिरहेको छ । स्थानीय प्रशासनले सम्पूर्ण जिल्लावासीलाई सतर्क रहन र आवश्यक सुरक्षा उपायहरू अपनाउन आग्रह गरेको छ ।
मौसम विभागले यस क्षेत्रमा अझै केही दिन वर्षा जारी रहने पूर्वानुमान गरेको छ । नागरिकहरूलाई सुरक्षित स्थानमा बस्न र आपत्कालीन सूचनाहरूलाई ध्यान दिन अनुरोध गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्