images
images
images

स्टाफ कलेजबाट एमपीएस पास गर्न नसक्नेले प्रहरीमा एसएसपीभन्दा माथि जान नपाउने

images

पूर्वाधार वाच, काठमाडौं ।

नेपाल प्रहरीमा स्नातकोत्तर तह ‘मास्टर्स इन पोलिस साइन्स'(एमपीएस) पास गर्न नसक्नेहरु अब प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) तहभन्दा माथि बढुवा हुन नपाउने भएका छन् ।

उक्त कोर्स सञ्चालन सम्बन्धमा सहकार्य गर्न राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र त्रिभुवन विश्वविद्यालयबीच समझदारीपत्रमा शुक्रबार हस्ताक्षर भएसँगै अबदेखि उक्त नियम अनिवार्य बनेको छ ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्रा।डा। डिल्लीराज शर्माले नेपाल प्रहरी प्रधान कार्यालयमा आज एक कार्यक्रमबीच उक्त समझदारीपत्रमा हस्ताक्षर गर्नुका साथै समझदारीपत्र आदान प्रदान समेत गरे ।
कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सिनियर प्रहरी अधिकृतहरूको वृत्तिविकास र नेतृत्व विकास कोर्षको रूपमा रहने यस एमपिएस कार्यक्रम तथा यसमा समाहित विषयहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देखा परेका नवीनतम् परिवेश अनुरूप कार्यसम्पादन गर्न सक्ने व्यावसायिक र सक्षम जनशक्तिको विकास हुने अपेक्षा लिएको उल्लेख गरे ।

रिसर्च, अनुसन्धान, रणनीति र योजना तर्जुमा गर्न सक्ने दक्ष जनशक्ति विकास भई नेपाल प्रहरीको आधुनिकीकरण तथा सांगठनिक सुदृढिकरणका क्षेत्रमा अपेक्षित लक्ष्य प्राप्त हुनेमा विश्वस्त रहेको उनले बताए ।

प्रहरी महानिरीक्षक कुँवरले प्रहरीको नेतृत्व तहमा पुग्ने क्षमता भएका प्रहरी अधिकृतहरूको क्षमता र दक्षतालाई अभिवृद्धि गर्दै हाल नेपाल प्रहरीमा विद्यमान् बढुवा प्रणालीलाई समेत पारदर्शी र अनुमानयोग्य बनाउन सहयोगी हुने बताए ।यस समझदारीले नेपाल प्रहरी र त्रिभुवन विश्वविद्यालयबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै दुवै निकायले शान्ति, सुरक्षा एवम् सुशासनको क्षेत्रमा निर्वाहित उत्तरदायित्वको दायरा अझ फराकिलो बनाएको विश्वास उनले व्यक्त गरे ।

सो अवसरमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्रा.डा. डिल्लीराज शर्माले समझदारीले प्रहरी अधिकृतहरूको क्षमता विकासमा उल्लेखनीय योगदान पुग्ने चर्चा गरे । साथै उनले आगामी दिनमा समेत थप सहकार्य र समन्वय हुने विश्वास व्यक्त गरे ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षक डा।मनोज कुमार केसीले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

समझदारीपत्रमा अक्षयकोष, एमपिएस कार्यक्रम संचालन, शैक्षिक क्यालेण्डर, विभिन्न शुल्कहरू, विद्यार्थीहरूको विवरण, कोर्षको प्रभाव अध्ययन, शाखा स्थापना एवम् विविध कार्य, निरीक्षण र निर्देशन, परीक्षा व्यवस्थापन, परीक्षा केन्द्र, त्रिभुवन विश्वविद्यालय पुस्तकालय तथा सुविधा प्रयोग लगायतका प्रावधानहरू उल्लेख गरिएको छ ।
उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, त्रिभुवन विश्वविद्यालयका सहायक डीनहरू, प्रहरी नायव महानिरीक्षकहरू एवं वरिष्ठ प्रहरी अधिकृतहरू लगायत त्रिभुवन विश्वविद्यालयका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्