images
images
images

इन्जिनियरहरूको तलब र पदस्थापनमा विभेद छ !

images

पूर्वाधार वाच, काठमाडौं।

नेपालको सन्दर्भमा इन्जिनियरहरूले पाउने तलब तथा सुविधा अरू क्षेत्रको तुलनामा निकै कम रहेकाले चाँडोभन्दा चाँडो यसको व्यवस्थापन गर्नुपर्ने माग इन्जिनियरहरूले राखेका छन् ।

इन्जिनियरहरूको छाता सङ्गठन नेपाल इन्जिनियर्स एसोसियशनको आसन्न निर्वाचनको सन्दर्भमा शनिबार प्रोग्रेसिभ इञ्जिनियरर्स एसोसिएसन नेपाल (प्रगतिशील समूह)ले काठमाडौंमा आयोजना गरेको ‘स्थानीय तहको विकास, जनप्रतिनिधि र इन्जिनियरको भूमिका विषयक छलफल’ कार्यक्रममा बोल्दै ई। प्रा।डा। विष्णुप्रसाद पाण्डेले यस्तो बताएका हुन् ।

आसन्न निर्वाचनमा अध्यक्षको प्रत्याशीसमेत रहेका पाण्डेले समग्र इन्जिनियरिङ पेसामा आबद्ध श्रमजीवीहरूको तर्फबाट बोल्दै इञ्जिनियरहरुको हकहितको संरक्षणका विषयमा सरकारको ध्यानाकर्षणसमेत गराएका छन् । पाण्डेले सरकारी सेवा क्षेत्रमा इन्जिनियरहरूको प्रवेश र त्यहाँ हुने विभेदका विषयमा सरकारले नीतिगत सुधार गर्दै त्यसको व्यवस्थापन गर्नुपर्ने बताए ।

‘स्नातक तहको डिग्री हासिल गरेका इन्जिनियर तथा आर्किटेक्टहरूलाई कतै सातौँ र कतै छैटौँ तहमा प्रवेश गराइन्छ,’ पाण्डेले भने, ‘यस्तो विभेदपूर्ण नीति र प्रक्रियाप्रति हाम्रो घोर असहमति छ र सबै निकायहरूमा कम्तीमा सातौँ तहलाई नै प्रवेश तह बनाउनु पर्छ ।’

यसै क्रममा उनले आफू आसन्न निर्वाचनमा विजयी भएमा त्यसका लागि आफ्नो पहिलो पहल हुने जानकारी दिए भने इन्जिनियरहरूको हक अधिकार, स्वास्थ्य उपचारको सेवा, गुणस्तरीय इन्जिनियरिङ शिक्षा, वृत्ति विकास, समान सेवा सुविधालगायतका विषयहरूमा सरकारको ध्यानाकर्षण गराए ।

त्यस्तै, कार्यक्रममा उपस्थित बाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री अमनकुमार मास्केले विकास निर्माणमा इन्जिनियरहरूको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै ७६१ वटै सरकारले विकास निर्माणमा एक अर्कासँग हातेमाले गर्न सके मात्र नेपालको समृद्धि सम्भव हुने बताए ।

साथै, मन्त्री मास्केले विशेष गरी स्थानीय सरकारहरूले आफ्नो पालिकालाई विकासको रोल मोडलको रूपमा विकास गर्न इन्जिनियरहरूको सहयोग अपरिहार्य हुने बताए ।

उनले भने, ‘स्थानीय तहमा त्यहाँको समृद्धिको सपना देख्ने र त्यसको पोलिसी बनाउने जनप्रतिनिधिले हुन् भने त्यो सपनालाई साकार पार्ने भनेको इन्जिनियरहरूले नै हो । विकास र समृद्धिको यात्रामा जनप्रतिनिधि र इन्जिनियरहरू एक रथका दुई पाङ्ग्रा हुन् ।’

कार्यक्रममा संविधानसभा सदस्य तथा बाग्मती प्रदेशका पूर्व भौतिक मन्त्री रामेश्वर फुयाँल, लुम्बिनी प्रदेशका पूर्व भौतिक तथा अर्थमन्त्री बैजनाथ चौधरी, टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, पनौती नगरपालिकाकी उपमेयर गिता बन्जारालगायतको उपस्थिति रहेको थियो ।

नजिकिँदै गरेको नेपाल इन्जिनिर्स एसोसिएसनको ३४ औँ केन्द्रीय कार्यकारिणी समिति तथा तेस्रो प्रादेशिक समितिको चुनाव छेका पारेर प्रगतिशील समूह सातै प्रदेश यस्तै संवाद तथा छलफल सञ्चालन गरिरहेको छ ।

यस पटक एशोसियसनको निर्वाचनमा प्रगतिशील समूहको तर्फबाट अध्यक्ष पदमा डा।पाण्डे उम्मेदवार रहेका छन् । जापानबाट जलस्रोतमा विद्यावारिधि तथा पोष्ट डक्टोरल उपाधि हासिल गरेका उनी हाल इन्जिनियरिङ अध्ययन संस्थान पुलचोकमा प्राध्यापकको रूपमा कार्यरत छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्