पूर्वाधार वाच, काठमाडौं ।
इजरायलले दुई हजार नेपाली श्रमिकलाई केयर गिभरका रूपमा रोजगारीमा लैजाने प्रकृया अन्तर्गत गोला प्रथा (लट्टरी)को नतिजा प्रकाशन गरेको छ ।
नेपालस्थित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभागले सोमबार उक्त नतिजा सार्वजनिक गरेको हो । इजरायलको जेरुसेलममा पीबाले गोलाप्रथामार्फत् छनोटमा परेका उम्मेदवारहरूको नामावली पठाएपछि प्रकाशन गरेको विभागले जनाएको छ ।
विभागका अनुसार इजरायल केयर गिभरका लागि गोलाप्रथामार्फत् २१ सय १२ जना उम्मेदवारहरू छनोट भएका छन् । जसमध्ये ११५६ जना महिला र ९५६ जना पुरुषहरू रहेका छन् । स्वास्थ्य परीक्षण लगायतका अन्य प्रकृयाको विषयमा वेबसाइटमार्फत् पछि जानकारी गराइने पनि विभागले जानकारी दिएको छ ।
यसअघि इजरायल केयरगिभरमा जानका लागि ४ हजार २४ जना (दुई हजार २०९ जना पुरूष र एक हजार ८१५ महिला)ले आवेदन दिएका थिए। आवेदन दिएकाबाट तीन हजार ४६१ जना (एक हजार ८६३ पुरूष र एक हजार ५९८ महिला) विभागले स्वीकृत गरेको थियो।
उसो त विभागले सुरुमै इजरायलका लागि परेका ५०० भन्दा बढी आवेदन रद्द गरेको थियो । त्यसमा धेरैजसो सीटीईभीटीबाट मान्यता नपाएका संस्थाहरूको तालिम प्रमाणपत्र पेस गर्नेहरू थिए ।
यसपछि प्रतिव्यक्ति ३० हजार रुपैयाँ लिएर केयरगिभर तालिम पूरा गरेको सर्टिफिकेट बेच्न गरिएको विषय सतहमा आएको थियो । यसरी अरू संस्थाले पनि तालिम नै नदिई प्रमाणपत्र बिक्री गर्ने गरेको पाइएपछि अरू आवेदकको पनि प्रमाणपत्रको आधिकारिता र वैधता परीक्षण गर्न समिति बनाइएको थियो ।
विभागले स्वीकृत गरेका आवेदनहरूमा कतिपयले फर्जी कागजात पेस गरेको प्रमाणहरू सार्वजनिक भएपश्चात् मन्त्रालयले उपसचिव मेघनाथ रिमालको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । उक्त छानबिन समितिले छानबिनका क्रममा झण्डै १५० जना उम्मेदवारको नक्कली आवेदन परेको निष्कर्ष निकाल्दै छानबिन प्रतिवेदन बुझाएपछि अन्तिम नतिजा सार्वजनिक भएको हो ।
नेपालस्थित इजरायली दूतावासका अनुसार यसअघि केयर गिभरका लागि गोलाप्रथामार्फत् २२ सय जना छनोट भएका थिए । तर छानबिन समितिको प्रतिवेदनपश्चात् फेरि पीबाले गरेको गोलाप्रथामार्फत् २११२ जना उम्मेदवारहरू गोला प्रथामा सफल भएका छन् ।
अब छानिएका नेपाली कामदारले इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा ६५ वर्ष ननाघेका गम्भीर अपांगता भएका व्यक्तिको स्याहारका लागि काम गर्नुपर्नेछ । दुवै देशका सरकारी स्तरमा श्रम सम्झौता भएकाले इजरायलको रोजगारी सुरक्षित र आकर्षक मानिन्छ । केयर गिभरमा जानेलाई बस्ने सुविधा भए पनि लागत आफैँ तिर्नुपर्ने र खाने खर्चसमेत कामदारले नै व्यहोर्नुपर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्