images
images
images

नेपाल, भारत, बंगलादेश विद्युत् व्यापारको आर्थिक र कूटनीतिक महत्त्व के छ ?

images

पूर्वाधार वाच, काठमाडौं ।

नेपालमा उत्पादित ४० मेगावाट बिजुली बंगलादेशमा विक्री गर्ने सम्झौतामा नेपाल, भारत र बंगलादेशका अधिकारीहरूले हस्ताक्षर गरेसँगै अधिकारीहरूले दक्षिण एशियामा क्षेत्रीय ऊर्जा व्यापारको ढोका खोलेको उक्त सहमति यसै वर्षबाट कार्यान्वयन गरिने बताएका छन्।

नेपालमा अघिल्लो सप्ताहान्तको भीषण वर्षाले निम्त्याएको बाढी पहिरोले विद्युत पूर्वाधारमा ठूलो क्षति पुर्‍याएका विवरणका माझ लामो समयदेखि प्रतीक्षा गरिएको सम्झौतामा तीन देशका अधिकारीहरूले हस्ताक्षर गरेका छन्।

सुरुमा झन्डै १ हजार मेगावाट विद्युत् राष्ट्रिय प्रसारणलाइनमा नोक्सान भएको बताएका अधिकारीहरूले अहिले धेरै वटा आयोजनाहरू पुनस् सञ्चालनमा आएको उल्लेख गरेका छन्।

बंगलादेशमा राजनीतिक उथलपुथल हुनुअघि नै तीन देशका अधिकारीहरूले सो सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरेका थिए तर उक्त घटनाक्रमले त्यसमा केही विलम्ब भएको थियो।

नेपालको नेपाल विद्युत् प्राधिकरण, भारतको एनपीटीसी विद्युत् व्यापार निगम र बंगलादेशको बंगलादेशश पावर डेभलप्मेन्ट बोर्डबीच भएको उक्त सम्झौताको हस्ताक्षर समारोहमा बंगलादेशकी वातावरण, वन तथा जलवायु सल्लाहकार सैयदा रिजवाना हसनले पनि सहभागिता जनाएकी थिइन्।

ऐतिहासिक सम्झौता

जलस्रोतमा अपार सम्भावना भएको देशका रूपमा चित्रण गरिने गरिएको नेपालले भारतबाहेक अन्य तेस्रो देशसँग विद्युत् व्यापारको सम्झौता गर्न लागेको यस घटनालाई अधिकारीहरूले ठूलो उपलब्धिका रूपमा प्रस्तुत गरिरहेका छन्।

ऊर्जा मन्त्रालयका सहसचिव एवं प्रवक्ता चिरञ्जीवी चटौतले बीबीसीसँग भने, ‘पहिला हाम्रो भारतसँग (विद्युत्) लिने भन्ने थियो। तर अहिले हामीले आफूलाई चाहिएको बेला लिने र उसलाई चाहिएको बेला दिने गरेर दोहोरो व्यापार गरिरहेका छौँ। यो सम्झौताका कारण तेस्रो देशमा पनि हाम्रो बिजुली पुग्छ। यो ठूलो उपलब्धि हो।’

उनले क्षेत्रीय विद्युत् व्यापार अघि बढाउने प्रतिबद्धताहरू जनाइएको उल्लेख गर्दै त्रिपक्षीय सम्झौतालाई त्यसको एउटा पाटोका रूपमा हेर्नुपर्ने बताए।

उनी थप्छन्, ‘हामी क्षेत्रीय ग्रीडहरू बनाउने, क्षेत्रीय व्यापारहरू गर्ने भन्दै आएका छौँ। त्यसको एउटा कदमका रूपमा यसलाई हेर्नुपर्ने हुन्छ। पहिला दुई देशमा थियो भने अब तीन देशमा पुग्यो। त्यो हिसाबले यो महत्त्वपूर्ण छ। अहिले परिणाम सानो नै भए पनि आगामी दिनमा हाम्रो उत्पादनहरू बढ्दै छ। प्रसारण लाइनहरू थप्ने कामहरू गरिदैँछ।’

बुधवार नेपाल र बंगलादेशका ऊर्जा सचिव स्तरीय संयन्त्रको बैठक बसेको थियो जसले त्रिपक्षीय विद्युत् व्यापार सम्झौतामा बिहीवार अपराह्न हस्ताक्षर गर्ने निर्णय लिएको थियो।

कस्ता फाइदा छन्

पाँच वर्षका लागि भएको यो सम्झौता अन्तर्गत बर्खायाम मुख्य गरी जुन १५ देखि नोभेम्बर १५ सम्मको अवधिमा नेपालले विद्युत् बंगलादेशमा विक्री गर्नेछ। नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले यथास्थिति बिजुली बंगलादेशमा पुर्‍याउन नपुग्ने भएपनि त्यसलाई परिवर्तन गरेर पहिलो प्राथमिकतामा ढाकालाई विद्युत् उपलब्ध गराइनुपर्ने जनाए।

उनी भन्छन्, ‘पहिलो कुरा, बंगलादेशको दर रेट भारतभन्दा बढी छ। दोस्रो कुरा, वैदेशिक मुद्रा र विदेशी विनिमयको कुरा पनि भयो। बंगलादेश हाम्रो दोस्रो बजार भयो। भारतमा दिन छाडेर पनि हामीले बंगलादेशलाई दिनुपर्छ।’

यो सालको लागि बंगलादेशलाई विद्युत् विक्री गर्न अब ४५ दिनमात्रै रहेको जनाउँदै उनले भने, ‘नोभेम्बरको अन्त्यसम्म मात्रै हामी दिइसक्छौँ, त्यो बेला हामीले भारतमा दिने बिजुली नै काट्नुपर्ने हुन्छ। नोभेम्बरको अन्त्यतिर नेपालमा नै पनि गाह्रो हुन्छ। बंगलादेशलाई दिने भनेको बिजुली २४ घण्टे हो। बेलुका पुगेन भने भारतबाट हाम्रा लागि किनेर ल्याएर भने पनि बंगलादेशलाई बिजुली दिनुपर्छ।’

नदी प्रणालीमा आधारित जलविद्युत परियोजनाहरू भएकाले बर्खायाममा नेपालमा बिजुलीको उत्पादन बढ्ने गर्छ। तर हिउँद याम लागेसँगै उत्पादन घट्छ र नेपालले आन्तरिक माग धान्न भारतबाट बिजुली किन्ने गरेको छ।

नेपाललाई कति आम्दानी ?

नेपाल र बंगलादेशले सन् २०१८ मा ऊर्जा क्षेत्र सहकार्यबारे एउटा एमओयूमा हस्ताक्षर गरेका थिए। त्यसको ६ वर्षपछि अहिलेको सम्झौतामा हस्ताक्षर भएको हो। नेपाल, भारत र बंगलादेशका अधिकारीहरूबीचका प्राविधिक छलफल र त्यसमा राजनीतिक नेतृत्वहरूले व्यक्त गरेका प्रतिबद्धतापछि तीन देशबीचको क्षेत्रीय ऊर्जा व्यापारको खाका निर्धारण भएको हो।

सहसचिव चटौतका अनुसार भारतीय प्रसारण पूर्वाधारहरू प्रयोग गरेर नेपालबाट बंगलादेशमा विद्युत् पुग्नेछ र त्यसका लागि भारतको एनपीटीसी विद्युत् व्यापार निगमलाई निश्चित शुल्क बुझाउनुपर्नेछ।

उनले भने, ‘त्यसका दरहरू निर्धारण भएका छन्। उता प्रसारण लाइनका लागि शुल्क तिर्नुपर्ने हुन्छ। हाम्रो ढल्केवरबाट मुज्जफरपुरको जुन प्रसारण लाइन छ त्यसबाट हामी विद्युत् पठाउँछौँ जुन बंगलादेशसम्म पुग्छ।’ मुजफ्फरपुरबाट नेपालले निर्यात गरेको बिजुली बहरमपुरहुँदै बंगलादेश पुग्ने भनिएको छ।

यसअघि नेपाल विद्युत् प्राधिकरणका प्रवक्ताले नेपालले बंगलादेशलाई बेच्न लागेको विद्युत्‌को मूल्य प्रतियुनिट ६.४ अमेरिकी सेन्ट तय गरिएको बताएका छन्। त्यो अहिलेको सटही दर अनुसार प्रति युनिट ८ रुपियाँ ६२ पैसा हो।

अधिकारीहरूले बंगलादेशलाई बिद्युत् विक्री गरेर नेपालले प्रत्येक वर्ष दुई अर्ब रुपैयाँसम्म प्राप्त गर्न सक्ने बताएका थिए। अघिल्लो आर्थिक वर्षमा नेपालले भारतलाई विद्युत् विक्री गरेर १६ अर्ब ७३ करोड रुपैयाँ आम्दानी गरेको थियो। उक्त अवधिमा नेपालले १७ अर्ब ८४ करोड रुपैयाँको विद्युत् भारतबाट किनेको थियो।

नेपालले बर्खायाममा भारतलाई बिजुली बेच्ने गरेको छ। मध्य अगस्टअघिको एक महिनामा १ अर्ब ५० करोड रुपैयाँको विद्युत् विक्री गरेको नेपालले ४० करोड रुपैयाँको विद्युत् भारतबाट खरिद गरेको थियो। -बीबीसी नेपाली

बंगलादेश विद्युत निर्यातको लागि त्रिपक्षीय ऊर्जा बिक्री सम्झौता सम्पन्न

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्