पूर्वाधार वाच, काठमाडौं ।
दिगो शहरी विकास प्रवर्द्धन गर्दै सबैका लागि उपयुक्त आवास सुनिश्चित गर्ने उद्देश्यले विश्वको ध्यानाकर्षण गर्न सुरु गरिएको विश्व बसोवास दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । सन् १९८६ देखि अक्टोबर महिनाको पहिलो सोमबार संयुक्त राष्ट्र सङ्घीय मानव बसोवास कार्यक्रम (युएन ह्याबिट्याट)को आह्वानमा यो दिवस मनाउन थालिएको हो । नेपालमा भने सन् २००१ देखि सरकारी एवं गैरसरकारी क्षेत्रबाट यो दिवस मनाउन सुरु गरिएको शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ ।
‘कर्मशील युवा स् समुन्नत सहर’ नाराका साथ यस वर्षको विश्व बसोवास दिवस मनाउन लागिएको विश्व बसोवास दिवस २०८१ मूल तयारी समितिले जनाएको छ । यस अवसरमा आज शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभाग र युएन ह्याबिट्याटको संयुक्त आयोजनामा कार्यक्रम गर्न लागिएको जनाइएको छ ।
दिगो विकास लक्ष्यको लक्ष्य एक दशमलव एकले समावेशी तथा दिगो शहरीकरण गर्ने लक्ष्य लिएको छ । दिगो शहरीकरण र समृद्ध अर्थतन्त्रलाई मूलमन्त्र मानेर मन्त्रालय तथा विभागले सघन शहरी विकास कार्यक्रम, क्षेत्रीय शहरी विकास आयोजना, शहरी करिडोर आयोजना, नयाँ सहर आयोजनामार्फत विभिन्न स्थानीय तहमा सामाजिक तथा आर्थिक पूर्वाधार विकासका कार्यक्रमहरु कार्यान्वयन गर्दै आएका छन् । त्यसै क्रममा यस वर्षको नाराले समुन्नत सहर निर्माणमा कर्मशील युवा वर्गलाई जागरुक बनाउने विषय अघि सारेको छ ।
दिवसका अवसरमा आज यस क्षेत्रका विज्ञले कार्यपत्र प्रस्तुत गर्ने गरी कार्यशाला आयोजना गरिएको विभागले जनाएको छ । यस अवसरमा आवास कम्पनी लिमिटेड, युएन ह्याबिट्याट, नगर विकास कोष, विभिन्न नगरपालिकाले विविध कार्यक्रम आयोजना गरेको दिवस मूल समारोह समितिले जनाएको छ । यस वर्षको नारामा आधारित रही शहरी अर्थतन्त्रका विभिन्न पक्षसहितको प्राविधिक सत्र र छलफल कार्यक्रम आयोजना हुने जनाइएको छ ।
राष्ट्रिय जनगणना–२०७८ अनुसार नेपालका नगरपालिकाको जनसङ्ख्या ६६ दशमलव १७ प्रतिशत रहेको छ । समग्र अर्थतन्त्रमा यस क्षेत्रको योगदान ७६ दशमलव एक प्रतिशत रहेको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्