images
images
images

काठमाडौं उपत्यकामा किन सुस्तायाे घरजग्गा कारोबार ?

images

पूर्वाधार वाच, काठमाडौं ।

देशकै रियल इस्टेटको हब मानिने काठमाडौं उपत्यकामा घरजग्गा कारोबार सुस्ताउन थालेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा घरजग्गा किनबेच निरन्तर ओरालो लागिरहेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले देखाउँछ ।

घरजग्गा कारोबार संख्यामा उपत्यकाका मालपोत कार्यालयलाई झापा, मोरङ, सुनसरी, धनुषा, चितवन, दाङ, बाँके, कैलालीका मालपोतले पछाडि पार्न थालेका छन् ।
चालु आवको पहिलो त्रैमासमा उपत्यकाका नौ मालपोत कार्यालयबाट १० हजार ७३८ घरजग्गाको लिखत पारित भएको छ । जबकी, गत आवको सोही अवधिमा उपत्यकाभित्र ११ हजार ३४२ लिखत पारित भएका थिए ।

चालु आवको पहिलो महिना साउनदेखि नै घरजग्गा किनबेच निरन्तर घट्दै गइरहेको विभागको तथ्यांकले देखाउँछ । साउनमा उपत्यकाभित्र तीन हजार ४१२ घरजग्गको लिखत पारित भएको देखिन्छ । अघिल्लो महिना असारमा (गत आर्थिक वर्षको अन्तिम महिना) चार हजार नौ सय घरजग्गाको लिखत पारित भएको थियो ।

भदौ र असोजमा घरजग्ग कारोबार झनै घटेको छ । विभागका अनुसार भदौमा तीन हजार ६२३ र असोजमा तीन हजार १९४ घरजग्गाको लिखत पारित भएको विभागले जनाएको छ । पहिलो त्रैमासमा उपत्यमाभित्र घरजग्गा कारोबार घटेपनि राजश्व भने सामान्य बढेको छ ।

गत आवको पहिलो तीन महिनामा चार अर्ब ३६ करोड रुपैयाँ राजश्व संकलन भएकोमा यस वर्षको सोही अवधिमा चार अर्ब ५० करोड रुपैयाँ राजश्व संकलन भएको छ । चालु आवको साउनमा एक अर्ब ५६ करोड रुपैयाँ, भदौमा एक अर्ब ४५ करोड रुपैयाँ र अशोजमा एक अर्ब ४८ करोड रुपैयाँ राजश्व संकलन भएको विभागको तथ्यांक छ ।
पछिल्लो समय अविरल वर्षाका कारण उपत्यकाका खोला किनारका बस्तीहरु डुबानमा पर्दा पनि कारोबार प्रभावित भएको आंकलन छ । ११ र १२ असोजमा परेको अविरल वर्षाका कारण उपत्यकाभित्र रहेका खोला किनाराका अधिकांश वस्तीहरु डुबानमा परे । नख्खु खोलाको भेल उर्लिँदा ललितपुरमा पुरै बस्ती नै बगायो ।

त्यसो त पछिल्लो समय उपत्यकामा खाली जग्गा कम हुँदै जाँदा कारोबार पनि घट्दै गइरहेको देखिन्छ । त्यसमाथि घरजग्गाको मूल्य पनि अचाक्ली महंगो छ । लामो समय घरजग्गा कारोबार मन्दीमा फस्दा पनि उपत्यकामा घरजग्गाको मूल्य खासै नघटेको व्यवसायी बताउँछन् ।

देशमा नैराश्यताको वातावरण बढ्दै जाँदा गैरआवासीय नेपालीहरुले काठमाडौंमा घरजग्गा जोड्न छाडिसकेको देखिन्छ । उल्टै काठमाडौंका घरजग्गा बिक्री गरेर पैसा हुन्डीमार्फत लैजान थालेको व्यवसायीको जिकिर छ ।

पछिल्लो समय बैंकमा तरलता फालाफाल हुँदा कर्जाको ब्याजदर ८ प्रतिशतसम्म झरिसकेको छ । बैंक तथा वित्तीय संस्थाहरुले पनि सस्तो ब्याजदरका आकर्षक कर्जा स्किम ल्याउन प्रतिस्पर्धा गरिरहेका छन् ।

सरकार र राष्ट्र बैंकले घरजग्गा कारोबार चलायनमा बनाउन एकपछि अर्को नीतिगत सहजीकरण गर्दै आइरहेको देखिन्छ । तैपनि, घरजग्गा कारोबार बढ्न नसकेको विभागको तथ्यांकले देखाउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्