images
images
images

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा कर्मचारी सुनिल कुशवाहाकाे मनपरी: चुनावमा उम्मेदवार, मेलामा प्रवक्ता !

images

पूर्वाधार वाच, काठमाडौं ।

शहरी विकास मन्त्रालय मातहतको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिमा करार सेवामा कार्यरत कर्मचारी सुनिल कुशवाहाले निरन्तर आचरण विपरीत कार्य गरिरहेको आरोप लागेको छ ।

राजनीतिक पहुँचका आडमा करारमा सरकारी नियुक्ति खाएका कुशवाहाले बाराको महागढीमाई नगरपालिका वडा नं. २ को बरियापुरस्थित गढीमाई पञ्चवर्षीय मेला व्यवस्थापन तथा सञ्चालन समितिको प्रवक्तामा मनोनीत भएपछि उनीमाथि यस्तो आरोप आइलागेको हो ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिको कार्यालय काठमाडौंको नयाँ बानेश्वरस्थित हाल संघीय संसद् भवन परिसरमा रहेको छ । तर बाराका स्थानीय समेत रहेका कर्मचारी कुशवाहा भने झण्डै एक महिनासम्म सञ्चालन हुने उक्त मेला व्यवस्थापन मूल समितिको प्रवक्तामा मनोनीत भएका छन् ।

महागढीमाई नगरपालिकाका मेयर उपेन्दप्रसाद्र यादवले आइसीसीका कर्मचारी रहेका कुशवाहालाई गत असोज २६ गते प्रवक्तामा मनोनयन गरेका हुन् । नगरपलिकाले बनाएको गढीमाइ पञ्चवर्षीय मेला सञ्चालन कार्यविधि अन्तर्गत समेत कुशवाहालाई मनोनीत गर्ने आधार समेत नदेखिएको एक स्थानीयले दाबी गरे ।
तर सुनिल कुशवाहाको दाबी भने ठीक उल्टो छ । उनी आफू मेलाको प्रवक्ता बन्नु स्वभाविक रहेको दाबी गर्छन् । उनी भन्छन्, ‘त्यो मेरो गाउँघरको मेला हो । त्यसमा म मात्रै होइन, सिडिओ र सुरक्षा प्रमुख पनि व्यवस्थापन समितिका मनोनीत सदस्य हुन्छन् । म बस्न मिलिहाल्छ ।’

झण्डै एक महिनाभन्दा बढी समय चल्ने मेला व्यवस्थापन समितिको प्रवक्ताको जिम्मेवारी पाएका कुशवाहा आफू कार्यालयबाट बिदा मिलाएर जिम्मेवारी सम्हाल्ने बताउँछन् । विभिन्न बाहनामा सरकारी कार्यालयमा महिनौं बिदा लिने कार्य आफैंमा आचरण विपरीत हुनेमा दुई मत देखिँदैन ।

पाँच वर्षमा लाग्‍ने गढीमाई मेला यसवर्ष मंसिर १७ देखि सुरु हुने भएको छ। महागढीमाई नगरपालिकाको बरियारपुरमा लाग्‍ने उक्त मेला मंसिर ३० सम्म सञ्चालन हुनेछ । तर मेलाकाे तयारी आन्तरिक तयारी र व्यवस्थापनमा मूल समिति मंसिर महिनाको सुरुदेखि नै खटिनु पर्ने हुन्छ ।

प्रवक्ताजस्ता महत्वपूर्ण जिम्मेवारीमा रहेका कुशवाहा आफूले जसरी पनि समय व्यवस्थापन गर्ने दाबी गरे पनि उनी हाल कार्यरत रहेको कार्यालय र मेला सञ्चालन केन्द्रसँग सामाञ्जस्य मिलाउने कुरा गफमै सिमित हुने पक्का छ । 

अझ अचम्मको कुरा त के छ भने मंसिरमा सञ्चालन हुने मेला व्यवस्थापन मूल समितिको प्रवक्ताको जिम्मेवारी उनले असोजमै पाइसकेका छन् ।

सुनिल कुशवाहाकाे काम: कर्मचारी कम, राजनीति धेरै

हाल नयाँ बानेश्वरको संसद् भवन व्यवस्थापन गरिरहेको आइसीसीमा तत्कालीन शहरी विकास मन्त्री प्रभु साहको पहुँचले नियुक्ति पाएका कुशवाह कार्यालयमा समेत काम कम राजनीति ज्यादा गर्ने कर्मचारीभित्र पर्छन् । यसअघि प्रतिनिधि सभा निर्वाचनमा उनले बारा क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेदवारी समेत घोषणा समेत गरेका थिए ।

यद्यपि कुशवाहा भने आफूले उम्मेदवारी दर्ता नगरेको दाबी गर्छन् । उनी भन्छन्, ‘गाउँमा हामीजस्ता युवा आफ्नै क्षेत्रको व्यक्ति राजनीतिमा आउनुपर्छ चुनाव लड्नुपर्छ भन्ने लागेको हो । तर मैले चुनाव लडिँन नि त ।’

उनी यदि आफूले निर्वाचनमा उम्मेदवारी दर्ता गराएको भए जागिरबाट राजीनामा दिने योजना रहेको समेत दाबी गरे । तर कुशवाहले पर्चा पम्लेट छपाई मात्र होइन बारा जिल्लामै पुगेर निर्वाचन लड्ने भन्दै घरदैलो कार्यक्रम नै गरेको समेत भेटिएको छ ।
यसरी राजनीतिक कार्यक्रम र मनमौजी तवरले हिँड्दा कार्यालयको काम समेत प्रभावित हुने गरेको कार्यालय स्रोतको गुनासो छ । भने उनी धेरैजसो समय विभिन्न बाहनाबाजी गर्दै कार्यालयमा अनुपस्थित रहँदा हाजिरमा समेत कैफियत रहेको कार्यालय स्रोत बताउँछ ।

यसरी राजनीतिक पहुँचको आडमा सरकारी कोषको रकममा मस्ती गर्दै निरन्तर राजनीतिक गतिविधिमा सक्रिय हुनु जायज नभएको कर्मचारी प्रशासन क्षेत्रका जानकारहरु बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्