पूर्वाधार वाच, जनकपुरधाम ।
उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नागरिकले नेपाली कांग्रेस सरकारमा रहेको अनुभूति हुने गरि काम गर्ने बताएका छन्। जनकपुरमा रहेको मधेस प्रदेश नेपाली कांग्रेस पार्टी कार्यालयमा संक्षिप्त सम्बोधन गर्दै उनले राजनीतिक स्थिरताका लागि अहिलेको गठबन्धन बनेको भन्दै सरकारले नागरिकको चाहना अनुसार काम गर्ने बताए।
राजनीतिक स्थायीत्व विना विकास र समृद्धि सम्भव नरहेको भन्दै उनले कांग्रेस र एमाले गठबन्धनले स्थीरतासँगै विकास निर्माणलाई प्राथमिकतामा राखेको बताए ।
त्यस्तै फरक सन्दर्भमा उनले अहिले आइरहेका चुनौति सामना गर्न सक्ने गरि कांग्रेस पार्टीलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए । प्रदेशले राम्रो काम गरे पार्टी बलियो हुने भन्दै उहाँले मधेस प्रदेश समितिलाई संगठन निर्माणमा लाग्न पनि आग्रह गरे ।
सेवा प्रवाह सहज बनाउन कर्मचारीलाई निर्देशन
उपप्रधानमन्त्री एव् शहरी विकास मन्त्री सिंहले नागरिकलाई सहज रूपमा सेवा दिन कर्मचारीलाई निर्देशन दिएका छन् । शहरी विकास मन्त्रालयले निर्माण गरेको मिथिला अन्तरगृह परिक्रमा विश्रामस्थल तथा सभाहल समुद्घान कार्यक्रममा बोल्दै उनले सेवा प्रवाहलाई सहज बनाउन निर्देशन दिएका हुन् । ‘जनतालाई अनावश्यक रूपमा दुख दिने काम तपाईंहरूको गतिविधिबाट नहोस् ,’ उनले भने, ‘शहरी विकास मन्त्रालयबाट गर्नुपर्ने जति कामहरू छन् छिटोछरितो रूपमा गर्नुहोला ।’
सभाहल र मिथिला अन्तरगृह परिक्रमा विश्रामस्थलको निर्माणले स्थानीयलाई थप सहज हुने उपप्रधानमन्त्री सिंहले विश्वास व्यक्त गरे । त्यस्तै उनले योजनाहरू बनाउँदा जनप्रतिनिधिहरूसँग सल्लाह गर्दा काम सहज हुने पनि बताउनुभयो । ‘योजनाहरू बनाउँदा आवश्यक पर्ने पूर्वाधारहरूलाई प्राथमिकताका राखेर स्थानीय, प्रदेश र संघका जनप्रतिनिधिहरू सबैसँग सल्लाह गरेर काम अघि बढाउँदा राम्रो हुन्छ,’ उनले भने ।
संघीय शहरी तथा भवन निर्माण कार्यालय जनकपुरधामले समयमै काम सम्पन्न गरेकोमा प्रशंसा गर्दै आगामी दिनमा अरू आयोजनाहरू पनि समयमै काम सक्ने गरि अघि बढाउन निर्देशन दिए । ६ करोड २१ लाखमा समयमै निर्माण सम्पन्न भएको जलेश्वर-जनकपुरधाम-धनुषाधाम सर्किटअन्तर्गत सभाहल, विश्रामस्थल, धर्मशाला, मन्दिर परिसर सुधार, पोखरि सौन्दर्यीकरणको काम सम्पन्न भएको छ । यसले जनकपुरधामको धार्मिक गतिविधिमा सघाउ पुग्ने विश्वास गरिएको छ ।
त्यस्तै उपप्रधानमन्त्री सिंहले धनुषाकै गणेशमान चारथान नगरपालिकामा निर्मित नेपाल रेडक्रस आँखा उपचार केन्द्रको नवनिर्मित शल्यक्रिया भवनको पनि उद्घाटन गरे। उनले शल्यक्रिया सेवा शुरू भएपछि स्थानीय नागरिकले सुविधा पाउने र उपचारका लागि टाढा जानुपर्ने बाध्यता हट्ने विशवास व्यक्त गरे ।
आँखाको उपचार प्रभावकारी बनाउन आग्रह गर्दै उपप्रधानमन्त्री सिंहले आफूले सकेको सहयोग गर्ने प्रतिवद्दता पनि जनाए । सिंह सहभागी कार्यक्रममा कांग्रेस सहमहामन्त्री महेन्द्र यादव, कांग्रेस केन्द्रीय सदस्य, राष्ट्रिय सभा सदस्य आनन्द ढुंगाना, केन्द्रीय सदस्य किरण यादव र मुक्ता यादव पनि सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्