images
images
images

पत्रकार महासंघमा कांग्रेस नेतृको रजाईं, वास्तु नमिलेको भन्दै फेरिन् अध्यक्षको आसन

images

पूर्वाधार वाच, काठमाडौं ।

नेपाल पत्रकार महासंघका निर्वाचित अध्यक्ष विपुल पोखरेलले समयमै निर्वाचन गर्न नसकेको भन्दै राजीनामा दिएपछि अलपत्र परेको महासंघमा वरिष्ठ उपाध्यक्ष रहेका रमेश विष्टले स्वतः कार्यवाहक अध्यक्षको जिम्मेवारी पाए । उनी पनि आफूले पत्रकार महासंघभित्र बल्झिएको रोगको उपचार गर्न नसक्ने भेउ पाएपछि राजीनामा दिएर कुलेलम ठोके ।

तत्कालीन अध्यक्ष विपुल पोखरेल (दायाँ) र उपाध्यक्ष रमेश विष्ट (बायाँ)

त्यसपछि महासंघमा महिला उपाध्यक्षमा निर्वाचित भएर राजीनामा घोषणा गरिसकेकी र लाज पचाएर महासंघमा बलमिच्याईं गरिरहेकी कांग्रेस नेतृ बाला अधिकारी कार्यवाहक बनिन् ।

पार्टी राजनीतिमा सक्रिय हुने भन्दै नेपाल पत्रकार महासंघको उपाध्यक्ष पदबाट राजीनामा दिएकी अधिकारीले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी समेत दिएकी थिइन् ।

तर उनी कांग्रेस सदस्य बन्न नसकेपछि फेरि पत्रकार महासंघको केन्द्रीय समिति बैठकमा सहभागी भएकी थिइन् । यद्यपि तत्कालीन केन्द्रीय समिति बैठकमा सहभागी उनी सहभागी भएपछि हंगामा भएको थियो ।

अधिकारीको सहभागितालाई लिएर केन्द्रीय सदस्यहरूले चर्को असन्तुष्टि जनाएका कारण केहीबेर बैठक नै अवरुद्ध भएको थियो ।

कपिलवस्तुको तिलौराकोटमा बसेको बैठकको सुरुमै केही केन्द्रीय सदस्यले राजीनामा दिएर हिँडेकी अधिकारीको उपस्थितिलाई लिएर प्रश्न उठाएका थिए ।

उनी कुन हैसियतमा बैठकमा आएको हाे ? भन्दै सदस्यहरूले कडिकडाउ कुरा उठाएपछि बैठक केहीबेर भाँडिएको थियो । महासंघको विधानले राजनीतिक दलका कार्यकर्ता महासंघको सदस्य हुन नपाउने व्यवस्था गरेको छ ।

विधानको सोही व्यवस्थाका कारण काँग्रेस महाधिवेशनको पूर्वसन्ध्यामा अधिकारीले महासंघको जिम्मेवारी छाडेर आफू पार्टी राजनीतिमा आबद्ध हुने घोषणा गरेकी थिइन् ।

महाधिवेशन प्रतिनिधिसमेत रहेकी उनी केन्द्रीय सदस्यमा उम्मेदवार बन्ने चर्चा पनि थियो । तर, उनी केन्द्रीय सदस्य भने बनिनन् ।

राजीनामा दिँदा अधिकारीले महासंघको विधान र आचारसंहिता पालना गर्नु आफ्नो प्रमुख कर्तव्य हुने कुरा हेक्का रहेको उल्लेखसमेत गरेकी थिइन् ।

उपाध्यक्षबाट राजीनामा दिइसकेकी अधिकारी कसरी बनिन् कार्यवाहक अध्यक्ष ?

महासंघकी तत्कालीन उपाध्यक्ष अधिकारी नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत गृह जिल्ला ओखलढुंगाबाट उनी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी थिइन् ।

महाधिवेशन प्रतिनिधि निर्वाचित भएपछि उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी थिइन्, ‘म नेपाल पत्रकार महासंघको केन्द्रीय उपाध्यक्ष भएको नाताले नेपाल पत्रकार महासंघको विधान, आचारसंहिताको पालना गर्नु मेरो प्रमुख कर्तव्य रहेको कुरा मलाइ हेक्का छ, नेपाल पत्रकार महासंघको २६औँ महाधिवेशनमा मलाई आफ्नो अमूल्य मत दिएर महासंघको नेतृत्वमा पु¥याउनुहुने सम्पूर्ण मतदाताहरूमा हार्दिक आभार व्यक्त गर्दछु ।’

उनले थप लेखेकी थिइन्, ‘म महासंघको नेतृत्वमा नरहे पनि तपाइँहरूको मतको उच्च सम्मान गर्दै हर हमेशा तपाइँहरूको माझ सुख–दुःखमा साथ रहने प्रण गर्दै आगामी योजनाका बारेमा उल्लेख गर्दै अबको मेरो गन्तव्य पार्टी राजनीतितिर ।’

तर राजीनामा दिएर कांग्रेसको महाधिवेशनमा प्रतिनिधि बनेकी अधिकारी एक्कासी महासंघको बैठकमा टुप्लुक्क पुगेपछि सदस्यहरूले कोलाहल मच्चाएका थिए ।

त्यतिबेला कांग्रेसको समर्थनमा पत्रकार महासघको टिकट पाएर चुनाव जितेका विपुल पोखरेल लगायत कांग्रेस निकट पत्रकारहरूको कारण उनलाई बैठकबाट बहिष्कार गर्नबाट रोकिएको थियो ।

त्यसपछि कांग्रेसमा तत्काल राजनीतिक भविष्य नदेखिएपछि उनी जबर्जस्ती महासंघको उपाध्यक्षकै हैसियतमा काम गरिरहेकी थिइन् ।

महासंघको तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न नसकेको भन्दै चर्को आलोचना खेपेपछि विपुल पोखरेलले अध्यक्ष पदबाट राजीनामा दिए ।

उनको राजीनामासँगै कार्यवाहकको जिम्मेवारी पाएका वरिष्ठ उपाध्यक्ष पनि निस्केर हिँडेपछि अलपत्र परेको महासंघ बाला अधिकारीको पोल्टोमा परेको छ ।

सरकारका कतिपय महत्त्वपूर्ण निर्णयमा समेत महासंघको प्रतिनिधिका रूपमा कामचलाउ अध्यक्ष रहेकी अधिकारीले सत्ताको स्वाद चाख्नमा व्यस्त देखिन्छिन् ।

अझ पछिल्लो समय उनी निर्वाचित अध्यक्षजस्तै सकेसम्म पत्रकार महासंघमा कायर्ववाहकको रुपमा टिकिरहन खोजेको आशंका देखिन थालेको पत्रकारहरुबीच चर्चा हुन थालेको छ ।

पत्रकार महासंघको गरिमा र औचित्यमाथि नै प्रश्न उठिरहेका बेला कार्यवाहक अध्यक्ष अधिकारीको प्राथमिकता अरु नै भएको लख काट्न थालिएको छ ।

जतिसक्दो छिटो नयाँ कार्यकालका लागि निर्वाचन गराउनु उनको कर्तव्य भएपनि महासंघ संक्रमण कालमा गुज्रिरहेका बेला धमिलो पानमिा माछा मार्न खोजेको हुनसक्नेमा कतिपयले प्रश्न उठाएका छन् ।

उनले नेपाल पत्रकार महासंघको कार्यालयमा वास्तु शास्त्र नमिलेको भन्दै अध्यक्षको आसन समेत फेर्न लगाएकी छन् ।

‘वास्तु विज्ञानलाई मध्यनजर गर्दै नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष बाला अधिकारीज्यूले कार्यकक्षको आसन परिवर्तन गर्नुभएको छ ।,’ महासंघका केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सेजुवालले फेसबुकमा लेखेका छन् ।

‘वास्तु विज्ञानलाई मध्यनजर गर्दै कार्यकक्षको आसन पुर्वतर्फ परिवर्तन गरियो।’, उनले फेसबुकमा लेखेकी छन् ।

तर पत्रकार महासंघको निर्वाचन गराउनुपर्ने महत्त्वपूर्ण दायित्व बिर्सिएर उनी अर्कैतर्फ केन्द्रीत हुँदा आमपत्रकार जगतमा भने महासंघप्रति नै वितृष्णा चुलिँदै गएको देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्