images
images
images

फोक्सिनटारमा एक करोड बढी लागतमा बेलिब्रिज निर्माण गरिँदै

images

पूर्वाधार वाच, काठमाडौं।

गएको असोज महिनामा सुनकोसी नदीमा आएको बाढीले बगाएको पक्की पुलको विकल्पमा उक्त स्थानमा बेलिब्रिज निर्माण सुरु भएको छ । सगरमाथा लोकमार्गमा पर्ने सुनकोसी नदीमा रहेको फोक्सिनटारको पक्की पुल बाढीमा बगेपछि विकल्पको रुपमा बेलिब्रिज निर्माण सुरु भएको हो ।

सगरमाथा लोकमार्गबाट उदयपुर–खोटाङ जोड्ने फोक्सिन्टारको पक्की पुल बाढीले बगाएपछि सिधा यातयात अवरुद्ध बनेको थियो । उदयपुरको रौतामाई गाउँपालिका–५ फोक्सिनटार र खोटाङ जिल्लाको खोटेहाङ गाउँपालिका–९ को लिच्कीराम्चे बीचमा पर्ने सुनकोसी नदीमा अहिले सिधा यातयात सञ्चालनको लागि बेलिब्रिज निर्माण सुरु गरिएको सगरमाथा लोकमार्ग गाईघाट–दिक्तेल योजनाका कार्यालय प्रमुख डिई पशुपति ज्ञवालीले बताए ।

उनले भने, ‘आर्यन कन्ट्रक्सन मल्ट्रिप्रोज प्राइभेट लिमिटेड ठेक्का लिएर काम सुरु गरिसकेको छ । अहिले ढुंगा जम्मा गर्ने, वाल लगाउने लगायतका काम भइरहेको छ । सम्भवत एक महिनाभित्र बेलिब्रिज निर्माण भएर सञ्चालनमा आउने छ ।’

उनका अनुसार बेलिब्रिज निर्माणको लागि आर्यन कन्ट्रक्सन मल्ट्रिप्रोज प्राइभेट लिमिटेडले एक करोड दुईलाख ९४ हजार ६७७ रुपैँया ७८ पैसामा ठेक्का लिएर काम सुरु गरिसकेको छ ।

निर्माण सम्पन्न भएर दुई वर्ष अघिमात्र सञ्चालनमा आएको फोक्सिनटारको आर्क ब्रिज डिजाइनको पुल बाढीले बगाएपछि उदयपुर र खोटाङको सिधा यातयात अवरुद्ध भएको थियो ।

पुल बगेको स्थानमा बन्न लागेको बेलिब्रिजको सामान पुरानै अवस्थामा रहेकाले बेलिब्रिज निर्माण छिटो हुने सगरमाथा लोकमार्ग गाईघाट–दिक्तेल योजनाका कार्यालय प्रमुख डिई ज्ञवालीले बताए ।

११ करोड ६० लाखको लागतमा निर्माण भएको यो पक्की पुल सुरुमा गाईघाट–दिक्तेल सडक योजना कार्यालय र पछि पुल सेक्टर १ धरान–इटहरीको सुपरिवेक्षणमा बनेको थियो ।

ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण ९ वर्षमा बल्ल निर्माण सम्पन्न भएको भए पनि पुल सरकारलाई हस्तान्तरण गरिनसकेकै अवस्थामा सुनकोसी नदीमा आएको बाढीले बगाएको थियो ।

पक्की पुल बगेपछि फोक्सिन्टारमा यातायात ठप्प हुँदा यात्रुहरूले झोलुङ्गे पुलको साहारा लिदैँ आएका छन् । पूर्वी नेपाल तथा गाईघाटबाट खोटाङ चल्ने ठूला सुवारी साधानले गाईघाट कटारी हुँदै सिद्धिचरण लोकमार्ग भएर खोटाङको दिक्तेल पुग्ने गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्