images
images
images

वैदेशिक रोजगारीबाट फर्किएपछि गाउँमै बङ्गुरपालन सुरु

images

पूर्वाधार वाच, इलाम ।

माईजोगमाई गाउँपालिका–४ नामसालिङका पुजन र लक्ष्मी प्रधानको जोडी वैदेशिक रोजगारीबाट फर्किएपछि गाउँमै स्वरोजगार बनेका छन् । छ वर्ष साइप्रस बसेर गाउँ फर्किएका उनीहरुले रु ३० लाख लगानीमा बङ्गुरपालन सुरु गरेको सात महिना भयो । ‘लक्ष्मी पशुपालन बङ्गुर फार्म’ दर्ता गरेर सुरु गरिएको व्यवसायमा आम्दानी सुरु हुन अब तीन महिना लाग्छ ।

‘अहिले ४२ बङ्गुर छन् । पाठा हालेको सात महिना भयो । अब तीन महिना पालेपछि बिक्री गर्न सकिन्छ’, लक्ष्मीले भनिन्, ‘पाठा हुर्किदै जाँदा लगानी बढ्दै गएको छ तर, बजार भाउ राम्रो छ । बेच्न समस्या हुँदैन’, राम्रो स्याहार पुगेको एउटा बङ्गुर सामान्यतया एक क्विन्टल (एक सय केजी) हुने उनको भनाइ छ । इलामका बजारमा बङ्गुरको मासु हाल प्रतिकेजी र पाँच सयदेखि छ सयसम्म बिक्री भइरहेको छ ।

पशुपालन मात्रै होइन । पुजनका दुई वटा यात्रु गाडी छन् । फार्ममा लक्ष्मीसहित अन्य दुईजना खटिन्छन् भने पुजन गाडी लिएर जान्छन् । गत वर्ष गाउँमा आमा बिरामी परेपछि दुवैजना स्वदेश फर्किएको लक्ष्मीले बताइन् ।

‘रोगले आमा बित्नुभयो । त्यसपछि विदेश जाने मन भएन । गाउँमै स्वरोजगार बन्ने सोचले पशुपालन सुरु गरेका हौँ’, उनको भनाइ छ, ‘पुर्खाले पनि बङ्गुर त पालेकै हुन् । तर, व्यावसायिक बन्न नसक्दा सधैँ निर्वाहमुखी हुनुपर्यो । विदेशमा पैसा कमाएर सहरमा घर किन्नुभन्दा गाउँमै व्यवसाय गर्दा अरुलाई पनि प्रोत्साहन मिल्छ भन्ने लाग्छ ।’

स्थानीय तहमै उद्यम गर्न चाहनेलाई प्रोत्साहन तथा सहयोग गर्ने गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेबेको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्