पूर्वाधार वाच, काठमाडौं ।
दाना खोला जलविद्युत् आयोजनाको सिभिल संरचना निर्माणको लागि सम्झौता भएको छ । लालुपाते हाइड्रोपावर कम्पनीले प्रवर्द्धन गर्न लागेको ४९.९५ मेगावाटको उक्त आयोजनाको सिभिल संरचना निर्माणको ठेक्का साई९पावर इन्फ्रा जेभीले पाएको हो ।
गत असोज २२ गते आह्वान गरिएको बोलपत्रमा हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन लिमिटेड, सिई कन्स्ट्रक्सन प्रालि, शेर्पा हाइड्रो कन्स्ट्रक्सन प्रालि, बाबरी कन्स्ट्रक्सन प्रालि र पाराम्याक्स कन्स्ट्रक्सन गरी ७ वटा कम्पनीले भाग लिएका थिए । ती मध्ये निर्माणको सबैभन्दा न्यूनतम दररेट पेस गर्ने साई-पावरले ठेक्का पाएको प्रवर्द्धक कम्पनीका कार्यकारी अध्यक्ष मोहन डाँगीले जानकारी दिएका छन् ।
सम्झौता पत्रमा प्रवर्द्धक कम्पनीका अध्यक्ष डाँगी र निर्माण ठेकेदार कम्पनीका महाप्रबन्धक घनबहादुर श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार आगामी ३० महिना अर्थात् २०८४ असारभित्र पूरा सिभिल संरचनाको निर्माण कार्य पूरा गर्नुपर्ने छ ।
कूल ९ अर्ब ९६ करोड रुपैयाँ लागत अनुमान रहेको आयोजनामा ६ वटा बैंक तथा वित्तीय संस्थाले ७ अर्ब ४७ करोड रुपैयाँ (७५ प्रतिशत) र प्रवर्द्धकहरूबाट २४९ करोड रुपैयाँ (२५ प्रतिशत) लगानी गर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।
मनाङको दाना खोला (डोना खोला)मा निर्माण गर्न लागिएको आयोजना नासौं गाउँपालिकाको वडा नम्बर २, ३, र ५ मा यो आयोजनाका संरचना निर्माण हुनेछन्। आयोजनाको विद्युत् गृह मनाङको खोत्रो भन्ने स्थानमा रहने छ ।
कार्यकारी अध्यक्ष डाँगीका अनुसार आयोजनाका विद्युत् गृहमा आवास भवन, आर्मी क्याम्प निर्माण भइसकेको छ। पहुँच मार्ग निर्माण भइरहेको छ । जग्गा खरिद गरिसकिएको छ । हाइड्रो मेकानिकल तथा इलेक्ट्रो मेकानिकल कार्यका लागि आह्वान गरिएको बोलपत्र अनुसार पेस भएका प्रस्तावउपर छलफल चलिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्