images
images
images

खानेपानी समस्या, खोलाकै पानी पिउँछन् स्थानीय

images

फाइल तस्बिर

पूर्वाधार वाच, कटारी ।

उदयपुरको कटारी नगरपालिका–१, माथिल्लो खसिबासका स्थानीयलाई खानेपानीको समस्या छ । खानेपानीको कुनै पनि आयोजना सञ्चालन नहुँदा यहाँका स्थानीय खोलाको पानी पिउन बाध्य छन् ।

हिउँद लागेसँगै खोलाको पानीसमेत सुक्दै जाने भएकाले झनै समस्या हुने गरेको स्थानीय बताउँछन् । “खोलाभन्दा माथिल्लो गाउँमा पानीको समस्या छ”, स्थानीय ज्ञानबहादुर तामाङले भने, “लुगा धुन, नुहाउन त तल्लो गाउँतिर लुगा बोकेर आउँछन् तर गाईवस्तुलाई पानी खुवाउनसमेत समस्या छ ।”

तामाङका अनुसार खसिबासको तल्लो भेगमा विभिन्न आयोजनाबाट पानी सञ्चालनमा छ । माथिल्लो खसिबासमा भने पानीको कुनै पनि आयोजना सञ्चालनमा छैन ।

वर्षामा खोलामा वाढी आउँदा झनै पिउने पानीसमेत समस्या हुने गरेको स्थानीय रुद्रबहादुर राईले बताए । हिउँदमा खोलाखोल्सी चहारेर पानीको जोहो गर्नुपर्ने उनले बताए ।

माथिल्लो खसिबासका ५०–६० घरमा पानीको समस्या छ । तल्लो खसिबासमा पनि आयोजनाबाट सञ्चालित पानी पर्याप्त छैन । खोलामा मोटर जोडेर पानी प्रयोग गर्नेलाई वर्षामा बाढीका कारण पानी धमिलो हुने र हिउँदमा पानी घट्ने भएकाले समस्या रहेको स्थानीय बताउँछन् ।

चारैतिर चुरे वनले घेरिएको यो गाउँ पशुपालनका लागि उपयुक्त भए पनि पानीको समस्या रहेको स्थानीय बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्