images
images
images

केबलकार निर्माणको विवादकाबीच धमाधम शौचालय निर्माण

images

पूर्वाधर वाच, फुङलिङ ।

पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विवादकाबीच क्षेत्र विकास समितिले शौचालय निर्माण तथा व्यवस्थापनमा तीव्रता दिएको छ । पाथीभरा मन्दिरको दर्शनका लागि आउने तीर्थयात्रीको सहजताका लागि समितिले शौचालय व्यवस्थापन एवं निर्माणलाई गति दिएको हो ।

समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार माथिल्लो फेदीदेखि पाथीभरा मन्दिरसम्मको पदमार्गको विभिन्न ४ ठाउँमा शौचालय निर्माण गरिएको छ । करिब ८४ लाखको बजेटमार्फत हरेक ठाउँमा ४ कोठे शौचालय निर्माण गरिएको उनले बताए ।

विभिन्न स्थानमा कुल १६ वटा प्यान रहेको शौचालय निर्माण गरिएको समितिले जनाएको छ । पाथीभराको भेटीमार्फत दर्शनार्थीको सहजताका लागि शौचालय निर्माण गरिएको हो ।

पाथीभरा मन्दिर क्षेत्रका कर्मचारी प्रमुख राजेन्द्र महतका अनुसार चन्द्रमा ढुङ्गाको छेउमा १८ लाख रुपियाँ र ठूलो घण्टी रहेको स्थानदेखि करिब ५० मिटर तल २४ लाख रुपियाँको लागतमा शौचालय निमार्ण भएका छन् ।

त्यस्तै हरियो पाटी छेउमा २० लाख र रमिते चौतारीको छेउमा २२ लाख रुपैयाँको लागतमा निर्माण कार्य जारी छ । यी दुई स्थानका शौचालय निर्माण कार्य करिब ८० प्रतिशत सम्पन्न भएको समितिले जनाएको छ ।

यस्तै पुराना शौचालयको समेत पुनर्निर्माण तथा व्यवस्थापन गरिएको छ । समितिका अनुसार करिब ६ लाख रुपियाँको लागतमा पुराना शौचालयको मर्मत गरिएको छ।

फुटेका ढोका, उप्केको स्थल तथा चुकुल मर्मतलगायतको काम गरिएको छ । निर्माण कार्य सम्पन्न गरेपछि शौचालयको नियमित सरसफाइमा कर्मचारीको समेत व्यवस्था गरिने कार्यकारी निर्देशक हाङबाङको भनाइ छ ।

शौचालयमा तत्कालका लागि फाइबर ट्रष्टमार्फत पानी सङ्कलन गरी ड्रममा जम्मा गर्ने गरिएको कार्य जारी रहेको छ । पानीको दीर्घकालीन समस्या समाधानका लागि थप अध्ययन सुरु भएको हाङबाङले बताए । उनका अनुसार आगामी आर्थिक वर्षबाट पानीका लागि थप काम सुरु गर्ने तयारी रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्