images
images
images

जलवायु परिवर्तनको असर न्यूनीकरणमा सामूहिक सहकार्य आवश्यकः परराष्ट्रमन्त्री राणा

images

पूर्वाधार वाच, काठमाडौं।

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायु परिवर्तनले पारेको असरलाई गम्भीर रूपमा लिएर यसको न्यूनीकरणका लागि सामूहिक सहकार्य गर्नुपर्नेमा जोड दिएकी छिन् ।

भारतको विदेश मन्त्रालयले राजधानी नयाँदिल्लीमा आयोजना गरेको राइसिना डायलगको जलवायु परिवर्तनसम्बन्धी सत्रलाई सम्बोधन गर्दै मन्त्री डा राणाले विकासशील राष्ट्रहरूले जलवायु परिवर्तनको अकल्पनीय प्रभावको अनुभव गरिरहेको र नेपाल यसको अग्रपङ्क्तिमा नै रहेको बताइन् ।

मन्त्री डा राणाले जलवायु परिवर्तनको वर्तमान अवस्था र यसका कारण नेपालमा परेको असरबारे आफ्नो अवस्था दर्शाउँदै यसकारण नेपालले जलवायु न्याय (क्लाइमेट जस्टिस)को मागलाई अन्तरराष्ट्रिय रूपमा उठाउँदै आएको पनि स्पष्ट पारिन् ।

उनले जलवायु परिवर्तनको असरले नेपालजस्ता हिमाल तथा पहाड भएका देशलाईमात्र नभएर सिङ्गो विश्वलाई नै असर गर्ने भएकाले सबै देशले साझा एजेण्डाकासाथ सामूहिक सहकार्य गर्नुपर्नेमा जोड दिइन् ।

जलवायु न्यायअन्तर्गत क्षतिपूर्तिका पक्षमा नेपाल रहेको बताउँदै यसका लागि आवश्यक क्लाइमेट फाइनान्सिङका विषयमा अब व्यापकमात्रामा छलफल गर्नुपर्नेमा जोड दिइन् ।

मन्त्री डा राणाले गतवर्षको सेप्टेम्बरमा जलवायु परिवर्तनको सबैभन्दा नराम्रो परिणामको नेपालले सामना गर्नुपरेको र भीषण वर्षाका कारण दुई सय ५० भन्दाबढी मानिसको ज्यान जानुका साथै करिब ४५ अर्ब बराबरको क्षति व्यहोर्नुपरेको स्मरणासमेत गरिन् ।

मन्त्री राणाले “अहिले विश्व नयाँ ढङ्गले अघि बढिरहेको अवस्थामा परम्परागत दाताहरूबाट त्यसैगरी अनुदान तथा सहयोग नआउन पनि सक्ने भएकाले नयाँ ढङ्गले सोच्नुपर्ने समय भएको बताइन् ।

नेपालले विश्वको अन्य क्षेत्रको तुलनामा जलवायु परिवर्तनको असर अकल्पनीय रूपमा अनुभव गरिरहेको दृष्टान्त पेस गर्दै उनले नेपालका लागि थप क्षतिपूर्ति आवश्यक रहेकासमेत उल्लेख गरिन् ।

नेपाललाई वर्षा, बाढीपहिरो तथा अन्य प्राकृतिक प्रकोपको पूर्वसूचना आदिका क्षेत्रमा प्राविधिक सहयोग आवश्यक रहेको उनको धारणा थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्