images
images
images

प्रभावकारी बन्दै सुरक्षित आप्रवासन कार्यक्रम

images

पूर्वाधार वाच, तानसेन ।

वैदेशिक रोजगारीलाई सुरक्षित र उपलब्धिमूलक बनाउने उद्देश्यका साथ सञ्चालित सुरक्षित आप्रवासन परियोजना ‘सामी’ कार्यक्रम पाल्पामा प्रभावकारी बन्दै गएको छ ।

सङ्घीय सरकार र स्वीस सरकारबीचको द्विपक्षीय सम्झौताअन्तर्गत हेल्भेटासस्वीस इन्टर अपरेशनसको प्राविधिक सहयोगमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा सञ्चालित ‘सुरक्षित आप्रवासन सामी’ परियोजना जिल्लामा प्रभावकारी बन्दै गएको हो ।

तानसेन नगरपालिकाभित्र परियोजना सञ्चालन भएपछि वैदेशिक रोजगारीमा गएका, गएर फर्किएका र जाने तयारीमा रहेका व्यक्ति तथा परिवारका सदस्य यसबाट लाभान्वित भएका छन् ।

वैदेशिक रोजगारीमा जाने क्रममा, गन्तव्य मुलुकमा पुगेपछि कार्यक्षेत्रमा, कामदारको मृत्युपछि विभिन्न क्षेत्रबाट उद्धार तथा राहत कार्यक्रममा परियोजनाले सहजीकरण गर्दै आएको छ ।

वैदेशिक रोजगारमा श्रीमान् विदेशमा गए पनि सोचेजस्तो कमाई हुन नसकेपछि तानसेन नगरपालिका–२ की मिना खत्रीलाई व्यवहारले पिरोल्दै गयो । श्रीमान् गएको ऋणसमेत तिर्न नभ्याउँदै श्रीमान्लाई स्वास्थ्यमा समस्या देखिएर नेपाल फर्कनुपरेको उनले दुखेसो गरिन् ।

यो समयमा आफूलाई मनोपरामर्श र परिवार कसरी चलाउने भन्ने ज्ञान नभएको बताउँदै अहिले यो स्थानमा आउन सामी परियोजनाले समनवय गरेको खत्रीले उल्लेख गरिन् ।

परियोजनाका कारण श्रीमान् आएसँगै आफूहरूले घरमै काम गरेर परिवार चलाउने गरेको उनले सुनाईन् । परियोजनाले वैदेशिक रोजगारमा गएका परिवारलाई उपचार गर्न भन्दै सहयोग गरेपछि परिवारमा खुसीयाली छाएको उनले बताइन् । खत्री जस्तै यहाँका धेरैले वैदेशिक रोजगारमा भोग्नुपरेको समस्याबाट सहज भएको बताउने गरेका छन् ।

जिल्लामा चालु आर्थिक वर्षको अवधिमा वैदेशिक रोजगारीमा गएका, गएर फर्किएका र जाने तयारीमा रहेका पाँच हजार ६२ जनाले सामी कार्यक्रमबाट सहज सेवा लिएका छन् ।

विदेश काम गर्न, अध्ययन गर्न गएका र विदेशबाट फर्किएका उक्त सङ्ख्याका व्यक्तिहरूलाई परामर्श दिने र आइपरेका समस्या समाधानमा सहयोग गर्ने काम गरेको कार्यक्रम जिल्ला संयोजक दिनेश घिमिरेले बताए ।

तानसेन नगरपालिकाको आयोजनामा भएको सुरक्षित वैदेशिक रोजगारीका लागि पत्रकार तथा सरोकारवालाहरूसँगको अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रममा संयोजक घिमिरेले सामी कार्यक्रममार्फत प्रदान गरेका सेवाका बारेमा जानकारी गाराउँदै सेवा लिने बढ्दै गएको बताए ।

उनले वैदेशिक रोजगारीमा जान लागेका, आप्रवासमा रहेका र तिनका परिवारलाई आइपर्ने समस्या र कानुनी सहायता प्रदान गरिदै आएको उल्लेख गरे ।

संयोजक घिमिरेले भने, ‘वैदेशिक रोजगारीका क्रममा ठगीमा परेका र शव झिकाउनुपर्ने २४ वटा समस्या चालु आवमा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका छन् ।

तीमध्ये आठ वटा ठगी र शव झिकाउने मुद्दाका समस्या समाधान गर्न सफल भएका छौँ ।’ उनका अनुसार अहिले चार ठगी र १२ वटा क्षतिपूर्तिका मुद्दहरू समाधानका लागि प्रक्रियामा छन् ।

यस्तै परामर्श लिनेमध्येका एक सय ११ जनाको थप जानकारी लिने काम भइरहेको घिमिरेले बताए । चालु आर्थिक वर्षमा तानसेनबाट एक हजार ३८ जना वैदेशिक रोजगारीमा गएको उनले जानकारी दिए ।

यो सङ्ख्या वडा नं १, २, ३, ४, ५ का नागरिकको तथ्याङ्क हो । उनीहरू श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकाहरू हुन् । यहाँबाट अध्ययनका लागि ३२९ र रोजगारका लागि ५५९ जना विदेश गएका छन् । हालसम्म ५० जना भने विदेशबाट फर्किसकेका छन् ।

नगर प्रमुख सन्तोषलाल श्रेष्ठले वैदेशिक रोजगारीमा गएकाहरूलाई राहत र उद्धारका साथै पीडितलाई न्याय र राज्यकोतर्फबाट थप प्रभावकारी रणनीतिको खाँचो रहेको बताए । उनले रोजगारीमा जानेहरूलाई सुरक्षित बनाउने कार्यमा सामी कार्यक्रम प्रभावकारी बन्दै गएको उल्लेख गरे ।

स्थानीय सरकारले स्थानीय स्रोतसाधनको अधिकतम उपयोग गरी साना तथा घरेलु उद्यम, तरकारीखेती, पशुपालन, कृषिलगायत क्षेत्रमा गुरुयोजनासहित काम गर्ने योजनासहित अगाडि बढेको नगर प्रमुख श्रेष्ठले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्