रिंकु दास, काठमाडौं ।
सोसाइटी अफ नेप्लीज आर्किटेक्टस् (सोना), शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको भवन महाशाखा र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको नेपाल राष्ट्रिय भवन संहिता पालना प्रवर्द्धन परियोजना (एनबीसीसी)को निर्माण कार्यविधि (बीसीडब्ल्यूपी) तथा विद्युतीय नक्सा पास प्रणाली (ईबीपएिस) सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ ।
सोमबारदेखि सुरु भएको उक्त तालिम मंगलबार (आज) सम्पन्न भएको हो । उक्त तालिममा २८ जना आर्किटेक्ट्सहरुको सहभागिता रहेको थियो ।
सफलतापूर्वक तालिम सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक प्रकीर्ण तुलाधरले भवन संहिता निर्माण भएपश्चात यसको कार्यान्वयनमा निकै चुनौती भोग्नुपरेको स्मरण गर्दै सुरक्षित भवन निर्माणमा यस्ता तालिम तथा कार्यक्रमहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो ।
उहाँले देशभरका स्थानीय तहमा समेत यसको कार्यान्वयनको जिम्मेवारी रहेकाले यसलाई थप प्रभावकारी बनाउन सेन्ट्रलाइज्ड इबीपीएस प्रणाली बनाउन विभागले काम गरिरहेको पनि जानकारी दिनुभयो ।
तालिमको समापन समारोहमा बोल्दै राष्ट्र निर्माण र आर्किटेक्टस्हरुको पक्षमा विभिन्न सरोकारवालाहरूसँग सहकार्य गरेर निरन्तर अघि बढिरहेको सोनाका उपाध्यक्ष एवं शहरी विकास मन्त्रालय अन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक एकराज अधिकारीले जानकारी दिनुभयो ।
उहाँले नक्सा पास लगायत भवन निर्माण संहिता कर्मकाण्डी र बाध्यताजस्तो बुझ्ने गरिएकाले यसलाई चिर्न आर्किटेक्टस् तथा इन्जिनियरहरूले काम गर्नुपर्ने बताउनुभयो ।
उहाँले इन्जिनियर तथा आर्किटेक्टहरु राजधानी केन्द्रीत मात्र नभई देशभर परिचालन भएर राष्ट्र निर्माणमा योगदान गर्नुपर्नेमा समेत जोड दिनुभयो । यस्तै सोनाले हालसम्म बीन परियोजनाअन्तर्गत २०९ जनाभन्दा बढी सिभिल इन्जिनियर तथा आर्किटेक्ट्सहरुलाई ऊर्जा प्रभावकारी भवन निर्माण संहितासम्बन्धी तालिमहरु प्रदान गरिसकेको जनाएको छ ।
निरन्तर यस्ता खालका तालिमहरुमार्फत् भवन निर्माण संहिता कार्यान्वयनमा सक्रिय रूपमा काम भइरहेको तथा हालसम्म काठमाडौं उपत्यकाका ७ वटा पालिकाहरूमा पाइलट प्राजेक्ट सञ्चालनमा रहेको एनबीसीसी परियोजनाका तालिम संयोजक बाबुराम केसीले जानकारी दिनुभयो ।
सुरक्षित भवन निर्माणमा यस्ता खालका तालिमहरू निक्कै फलदायी हुने तथा तालिममा सहभागीहरूलाई सकारात्मक प्रभाव पर्ने उहाँले भनार्ए छ ।
उहाँका अनुसार सन् २०२१ देखि सुरु भएको सो परियोजनाले भवनसँग सम्बन्धित इन्जिनियर, डिजाइनर तथा कन्सल्ट्यान्सहरु गरी झण्डै ८०० जनाभन्दा बढीलाई तालिम दिइसकिएको छ ।
भवन तथा संरचनाहरू सुरक्षित बनाउन र नेपालको सोना मातहतका सदस्यहरूलाई यो संहितासम्बन्धी तालिम दिने जाइका तथा भवन निर्माण विभागबाट पाएको प्राविधिक सहयोग र स्थानीय पालिकाको इच्छाशक्तिका कारण टोखा नगरपालिकामा एनबीसीसीको पाइलट परियोजना सफल रूपमा कार्यान्वयन गर्न सहज भएको टोखा नगरपालिकाका आर्किटेक्टस् तथा सोनाका कोाषाध्यक्ष एवं लोकेन्द्र आचार्य बताउनहुन्छ ।
यसलाई सफल कार्यान्वयनमा लैजान सबै सरोकारवालाहरूको सहयोग र प्रतिबद्धता आवश्यक रहेको समेत उहाँको अनुभव छ ।
घर निर्माण गर्दा कच्ची र पक्की घर भन्ने बुझाइमै समस्या रहेको बताउँदै जुन प्रकारले घर तथा भवन निर्माण गरे पनि भवन निर्माण मापदण्ड पालना गर्दै बनाउँदा भूकम्प थेग्ने तथा गुणस्तरीय घर तथा भवन निर्माण हुने इन्जिनियर माधव कटुवालको भनाई छ ।
खर्च कम लाग्ने चक्करमा गुणस्तरहीन निर्माण सामग्री तथा मापदण्ड बेवास्ता गर्दा भूकम्पलगायतका प्राकृतिक विपत्तिमा जनधनको ठूलो क्षति हुनसक्ने पक्षमा सबैले ध्यान दिनुपर्ने इन्जिनियर कटुवाल बताउनुहुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्