पूर्वाधार वाच, महोत्तरी ।
सरोकार भएकाहरूले चुरेको संरक्षण गर्न नसकिए मधेस प्रदेशको जीवन धरापमा पर्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । प्रदेशको वन तथा वातावरण मन्त्रालयले आज यहाँ लालगढमा आयोजना गरेको पत्रकार र नागरिक समाजसँगको अन्तरक्रियामा सरोकार भएकाहरूले यस्तो बताएका हुन् ।
कार्यक्रममा प्रदेशका वन तथा वातावरणमन्त्री सञ्जयकुमार यादवले चुरे क्षेत्रको निरन्तर दोहन, वन फडानी र जलवायु परिवर्तनले वन तथा वातावरणमा प्रतिकूल प्रभाव परेको उल्लेख गरे ।
उनले चुरे र मधेसमा वनको अवस्था ‘रेडजोन’ मा पुगेको भन्दै यसलाई संरक्षण गर्न लाग्नुपर्नेमा जोड दिए ।
मन्त्री यादवले भने, ‘यहाँको वन र चुरे क्षेत्र सङ्कटमा छ । यसलाई बचाउन सकिएन भने मधेसको जीवन नै धरापमा पर्नेछ । अब सरकारले मात्र यसको संरक्षण गर्न सक्ने अवस्था छैन, त्यसकारण आम नागरिक समाज र जनताको संयुक्त पहलकदमी आवश्यक छ ।’
उनले वनको संरक्षणलाई जीवनको मुद्दा बनाएर कलम चलाउन पत्रकारहरूसँग अपिल गरे । पछिल्ला केही दशकयता विकास पूर्वाधारलगायत विभिन्न नाममा यहाँको वन कटान हुँदै गएकामा सहभागीले चिन्ता व्यक्त गरेका छन् ।
अभिलेखमा तीन लाख ३९ हजार ३४४ हेक्टरमा वन भए पनि राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्ष केन्द्रबाहेकका अन्य वन क्षेत्र सबै अतिक्रमणको चपेटामा परेको कतिपयको भनाइ थियो ।
कार्यक्रममा प्रदेशका आठ वटै जिल्लाका चुरे, नदी र वन क्षेत्र संरक्षणकर्मी, वातावरणविद्, स्थानीय तहका प्रतिनिधि, वन सम्बद्ध अधिकारी र सञ्चारकर्मीको सहभागिता रहेको थियो ।
वन तथा वातावरण मन्त्रालयको भू तथा जलाधार शाखाका अधिकृत नवोनारायण मिश्रले कार्यक्रममा वन संरक्षणका लागि सरोकार भएका सबै निकायले संयुक्त पहलकदमी बढाउने प्रतिबद्धता जनाएको बताए ।
मन्त्रालयका सचिव उद्धवबहादुर घिमिरेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्