पूर्वाधार वाच, काठमाडौं ।
काठमाडौं उपत्यका विकास प्राधिकरणकी विकास आयुक्त जानुका ढकालका एकपछि अर्को अवैध गतिविधि सार्वजनिक हुन थालेका छन् ।
अवैध रूपमा आफ्ना आसेपासेलाई बाहिरी चक्रपथ आयोजनामा आवाससहित जागिरमा नियुक्त गर्न जिल्ला विकास आयुक्त काठमाडौंलाई दबाब दिएको प्रकरण सेलाउन नपाउँदै विकास आयुक्त ढकालले प्राधिकरणको सञ्चालक समितिबाट गठित जिल्ला उपसमितिहरूमा फर्जी प्रतिनिधि राखेर कीर्ते निर्णय गराउने गरिरहेको भेद खुलेको छ ।
ती उपसमितिहरूका बैठकमा सञ्चालक समितिले निर्णय नै नगरेका इन्जिनियरलाई प्राधिकरणका प्रतिनिधि भन्दै लेटर हेडमै नक्कली सदस्य नियुक्त गरेर इन्जिनियर सौरभ ढकाललाई कीर्तेमार्फत् विकास आयुक्त ढकालले महत्त्वपूर्ण निर्णयहरूमा गैर कानुनी रूपमा हस्ताक्षर चल्ने बनाएकी हुन् ।
उपसमितिका निर्णयहरूमा विकास आयुक्तको अवैध तोकआदेशमार्फत् प्रतिनिधि बनेका इन्जिनियर सौरभ ढकालले ती बैठकहरूमा हस्ताक्षर गरेको समेत भेटिएको छ ।
उसो त ती उपसमितिको अध्यक्षता प्राधिकरणका नायब विकास आयुक्त सहसचिव लिला खतिवडाले गर्छन् । जसमा विशेष आमन्त्रितका रूपमा विकास आयुक्त जानुकको उपस्थिति हुने गरेको छ ।
ती उपसमितिमार्फत काठमाडौं उपत्यकामा घरजग्गा व्यवसायीहरूलाई घडेरी विकास गर्न अनुमति दिने, हाउजिङको अनुमति, अनुगमन लगायतका निर्णयहरू हुने गर्दछन् । यस उपसमितिमा पालिकाका प्रमुख, मालपोत प्रमुख, नापी प्रमुखहरूलगायत सदस्यका रूपमा रहन्छन् ।
घडेरी र हाउजिङ विकासको लागि अनुमति दिँदा ठूलो चलखेल हुने र त्यस्ता बैठकहरूमा न्यून उपस्थितिका कारण कोरम पुर्याउन सकस पर्ने भएकाले विकास आयुक्तले कीर्तेमार्फत् नक्कली प्रतिनिधि खडा गरेर आफ्ना अति विश्वासपात्र सौरभ ढकाललाई हस्ताक्षर गर्न लगाएर अवैध कार्य गरिरहेको विश्वस्त स्रोतका दाबी छ ।
प्राधिकरणका सूचना अधिकारी समेत रहेका सौरभ ढकाल, विकास आयुक्तका यति निकटका विश्वास पात्र हुन् कि दुई वर्षमा सरुवा भइसक्नुपर्ने प्राधिकरणको विनियमावलीको खिल्ली उडाउँदै ५ वर्ष पुग्न लाग्दा पनि विकास आयुक्तकै इन्ट्रेस्टमा प्राधिकरणमा हालीमुहाली गरिरहेका छन् ।
यता प्राधिकरणका नायब विकास आयुक्त लिला खतिवडाले समेत उक्त कीर्ते सदस्य एवं हस्ताक्षर प्रकरणमा साथ दिइरहेका छन् ।
उनले ती उपसमितिका अवैध सदस्य इन्जिनियर सौरभ ढकाललाई बैठकमा उपस्थितिको लागि पत्र अनुरोधसहितको काट्ने गरेको खुलेको छ ।
उपत्यकाका तीन वटै जिल्लाका उपसमितिहरूको अध्यक्ष प्राधिकरणका नायब विकास आयुक्तले नै रहने व्यवस्था छ ।
तत्कालीन नायब विकास आयुक्त नवराज प्याकुरेलकै पाइला पछ्याउँदै बाहलवाला नायब आयुक्तले समेत तीन वटै जिल्ला उपसमितिमा इन्जिनियर सौरभ ढकाललाई बैठकमा उपस्थितिका लागि अनुरोध गर्ने विषयप्रति प्राधिकरणकै कर्मचारीको असन्तुष्ट रहेको बुझिएको छ ।
जसकारण कीर्ते प्रकरणमा मुछिने भन्दै काठमाडौं जिल्ला विकास आयुक्त सुवास बस्नेत बैठकमै जान छाडेको बताइएको छ । यसबारे प्रतिक्रिया प्राधिकरणमा पटक पटक सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्