images
images
images

पानीलाई ‘प्लास्टिक फोहोरको थुप्रो’मा परिणत गर्दैछ कोका कोला

images

कोका कोलाका कारण  सन् २०३० सम्म प्रत्येक वर्ष विश्वका महासागरहरू र जलमार्गहरूमा ६० करोड किलोभन्दा बढी प्लास्टिक फोहोर जानेछ।

पूर्वाधार वाच, काठमाडौं ।

यो जानकारी हालै गैरनाफामुखी संस्था ओशेयानाद्वारा प्रकाशित गरिएको नयाँ अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ, जसअनुसार यति धेरै प्लास्टिकले समुद्रमा रहेका १.८ करोड ह्वेलहरूको पेट पूरै भरिन सक्छ।

यो प्रतिवेदन त्यस्तो समय सार्वजनिक भएको हो, जब मानव स्वास्थ्यमा माइक्रोप्लास्टिकको खतराबारे चिन्ता तीव्र रुपमा बढ्दै गएको छ। वैज्ञानिकहरूले यसलाई क्यान्सर, नपुंसकता, मुटुरोग तथा अन्य धेरै गम्भीर रोगहरूसँग जोडेर हेर्दै आएका छन्। साथै, यो वातावरणका लागि पनि अत्यन्तै खतरनाक मानिन्छ।

सबैभन्दा धेरै प्लास्टिक प्रदूषण कोका कोलाबाट

कोका कोला संसारभर प्लास्टिक प्रदूषण फैलाउने ब्रान्डहरूमध्ये सबैभन्दा अग्रस्थानमा रहेको छ। सन् २०२४ मा साइन्स एडभान्सेजमा प्रकाशित एक अनुसन्धान प्रतिवेदनअनुसार कोका कोलापछि पेप्सीको, नेस्ले, ड्यानोन र अल्ट्रिया क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा पर्दछन्।

ओशेयानाको मूल्यांकन कोका कोलाले सार्वजनिक रूपमा जारी गरेका प्याकेजिङसम्बन्धी प्रतिवेदनहरूमा आधारित छ। यस मूल्यांकनका लागि ओशेयानाले सन् २०१८ देखि २०२३ सम्मका तथ्यांकहरू प्रयोग गरेको हो। साथै, यसमा भविष्यमा बिक्री वृद्धि हुने अनुमानहरू र सामान्य व्यापारिक परिदृश्यहरू पनि समावेश गरिएको छ।

यसको नतिजाका आधारमा प्राप्त तथ्यांकअनुसार, सन् २०३० सम्म कोका कोलाको वार्षिक प्लास्टिक प्रयोग ४१.३ लाख मेट्रिक टन अर्थात् झण्डै ४१४ करोड किलोसम्म पुग्नेछ।

जलीय पारिस्थितिक तन्त्रमा यसमध्ये कति प्लास्टिक पुग्नेछ भन्ने मूल्यांकन गर्न अनुसन्धानकर्ताहरूले एक विशेष विधिको प्रयोग गरेका छन्। यस विधिलाई पीयर रिभ्यूड मेथड भनिन्छ, जुन अन्तर्राष्ट्रिय वैज्ञानिकहरूको एक टोलीले तयार पारेका हुन् र यो सन् २०२० मा एक साइन्स जर्नलमा प्रकाशित गरिएको थियो।

यस विधिबाट तयार पारिएका तथ्यांकअनुसार, झण्डै १.३३ अर्ब पाउन्ड- अर्थात् ६० करोड किलोभन्दा बढी प्लास्टिक फोहोर महासागर तथा जलमार्गहरूमा पुग्नेछ। यो मात्रा आधा लिटर क्षमताका करिब २२० अरब बोतलहरू बराबर हो।

ओशेयानाका अनुसार यो विशाल प्लास्टिक फोहोरको परिमाण घटाउने एउटै प्रभावकारी उपाय भनेको प्याकेजिङलाई पुनः प्रयोगयोग्य बनाउनु हो।

यसअन्तर्गत पुनः प्रयोग गर्न सकिने काँचका बोतलहरू, जुन कम्तीमा ५० पटकसम्म प्रयोग गर्न सकिन्छ, वा बाक्लो पीईटी प्लास्टिक कन्टेनरहरू, जुन करिब २५ पटकसम्म प्रयोग गर्न मिल्ने गरी बनाइन्छन्, प्रयोग गर्न सकिन्छ। यस किसिमको पुनः प्रयोगयोग्य प्याकेजिङ प्रणालीले प्लास्टिक प्रदूषणमा उल्लेखनीय कमी ल्याउन सक्छ।

पुनः प्रयोग गर्न सकिने प्याकेजिङको प्रयोग

सन् २०२२ मा कोका कोलाले स्वयं स्वीकार गरेको थियो कि पुनः प्रयोग गर्न सकिने प्याकेजिङ ‘फोहोर घटाउने सबैभन्दा प्रभावकारी उपायहरूमा पर्दछ।’ त्यही वर्ष कम्पनीले यो प्रतिबद्धता पनि जनाएको थियो कि सन् २०३० सम्ममा पुनः प्रयोगयोग्य प्याकेजिङको प्रयोगलाई २५ प्रतिशतसम्म पुर्‍याइनेछ।

तर, डिसेम्बर २०२४ मा सार्वजनिक गरिएको नयाँ सस्टेनेबिलिटी रोडम्याप (दिगोपन कार्ययोजना)मा सो प्रतिबद्धतालाई पूर्ण रूपमा हटाइएको छ।

कम्पनीका नयाँ लक्ष्यहरूमा अब पुनःप्रयोगयोग्य प्याकेजिङको सट्टा रिसायक्लिङ सामग्रीको प्रयोग बढाउने र प्लास्टिक संकलन दरमा सुधार ल्याउनेतर्फ ध्यान केन्द्रित गरिएको छ। साथै, सोडा बोतलहरू रिसायकल गर्नु र उपभोक्ताहरूको बानी परिवर्तन गर्नु कति ठूलो चुनौती हो भन्ने कुरामा पनि जोड दिइएको छ।

तर, वातावरण संरक्षणका लागि काम गर्दै आएका अभियन्ताहरू भने लामो समयदेखि रिसायक्लिङमा अत्यँधिक निर्भर हुनुका विरुद्ध चेतावनी दिँदै आएका छन्। उनीहरूको तर्क छ— रिसायक्लिङलाई समाधानको रूपमा प्रस्तुत गर्दा प्रायः दोष उपभोक्तामाथि थोपारिन्छ, र समस्याको मूल कारण हटाउने प्रयास गरिँदैन।

लिटिलजोन भन्छन्, ‘रिसायक्लिङ राम्रो कुरा हो, मलाई गलत नबुझ्नुहोस्, तर यदि तपाईं रिसायकल गरिएको प्लास्टिकको प्रयोग अझ धेरै ‘सिंगल युज’ प्लास्टिक बनाउनका लागि गर्न चाहनुहुन्छ भने त्यो आफैंमा एक समस्या हो।’

कोका कोलासँग समाधानको सम्भावना छ

प्लास्टिक उत्पादन कच्चा तेलमा निर्भर हुन्छ, त्यसैले कर्पोरेट तहमा प्लास्टिक प्रयोग गर्नु जलवायु परिवर्तनका प्रत्यक्ष कारकहरूमध्ये एक मानिन्छ। यद्यपि, अझै केही आशा बाँकी छ — कोका कोला केही देशहरूमा ठूला स्तरमा रिफिल प्रणाली सञ्चालन गरिरहेको छ। तीमध्ये ब्राजिल, जर्मनी, नाइजेरिया र अमेरिकाका केही भागहरू (जस्तै टेक्सास) पनि समावेश छन्।

लिटिलजोन भन्छन्, ‘उनीहरूसँग विश्वका कुनै पनि पेय पदार्थ कम्पनीको तुलनामा सबैभन्दा ठूलो दोबारा प्रयोगयोग्य प्रणालीको पूर्वाधार छ, उनीहरूले अझ ठूलो कदम चाल्न सक्छन् र पूरै उद्योगलाई नेतृत्व दिनसक्ने क्षमता पनि राख्छन्।’

समाचार एजेंसी एएफपीलाई पठाएको एक बयानमा कोका कोलाका प्रवक्ताले भनेका छन् कि कम्पनीको ध्यान हाल मुख्यतया रिसाइक्लिङ सामग्रीको प्रयोग र संकलन प्रणाली सुधार्नमा भए तापनि, ‘हामी दोस्रो पटक भरिने प्याकेजिङमा लगानी गरिरहेका छौं र यसलाई विस्तार गर्ने हाम्रो प्रतिबद्धतामा अडिग छौं। ग्राहकलाई केन्द्रमा राख्ने हाम्रो रणनीतिअनुसार यो प्रयास निरन्तर जारी रहनेछ।’

(विभिन्न अन्तराष्ट्रिय समाचार एजेन्सीहरुको सहयोगमा तयार पारिएको)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्