images
images
images

काठमाडौंको ट्राफिक सुधारका लागि जापानको सहकार्य : नयाँ बानेश्वर र लैनचौरमा ट्रायल सफल

images

पूर्वाधार वाच, काठमाडौं ।

काठमाडौं उपत्यकामा बढ्दो जनसंख्या, तीव्र सहरीकरण र बढ्दो सवारीचापका कारण ट्राफिक जाम प्रमुख समस्याको रुपमा रहेको छ । उपत्यकाको ट्राफिक जामलाई लक्षित गर्दै नेपाल सरकार र जापान अन्तर्राष्ट्रिय सहयोग निकाय (जाइका) को साझेदारीमा “शहरी यातायात व्यवस्थापन परियोजना“ सञ्चालन भएको छ ।

सन् २०२२ फेब्रुअरीदेखि २०२५ अगस्टसम्म सञ्चालन भइरहेको यो परियोजनाले काठमाडौं उपत्यकाको ट्राफिक समस्या समाधान गर्न नविन प्रयोगहरूमार्फत् महत्वपूर्ण उपलब्धि हासिल गरेको बताइएको छ । नयाँ बानेश्वर र लैनचौरको जामलाई नमुना परियोजनाको रुपमा छनौट गर्दै कार्यान्वयन गरिएको थियो ।

परियोजनाको अन्तिम चरणमा काठमाडौं विकास प्राधिकरण, काठमाडौं तथा ललितपुर महानगर, विभिन्न विकास साझेदारहरू तथा सरोकारवालाहरूको सहभागितामा आयोजना गरिएको सेमिनारमा परियोजनाका उपलब्धिहरू प्रस्तुत गरिएको थियो ।

सेमिनारमा जाइकाले प्रस्तुत गरेको कार्यपत्र अनुसार नयाँ बानेश्वर चोकमा २०२३ को जून अन्त्यदेखि अक्टोबर मध्यसम्म पूर्वाधार सुधार कार्य अन्तरगत दायाँ मोडको छुट्टै लेन बनाउने, सडकमा मध्य भाग छुट्याउने मेडियन स्ट्रिप राख्ने, पोस्ट कोन राख्ने, सडक चिन्हहरू सच्याउने, सुरक्षा उपकरणहरू थप्ने कामहरू गरिएको छ ।

यसका साथै ट्राफिक बत्ती प्रणालीमा सुधारको काम पनि गरिएको छ । ’एडाप्टिभ सिग्नल कन्ट्रोल’ प्रणाली लागू गरी जामको अवस्था अनुसार बत्तीको समय फरक–फरक बनाइएको जाइकाले जनाएको छ । जाइकाको आर्थिक तथा प्राविधिक सहयोगमा नयाँ बानेश्वरमा ट्राफिक व्यवस्थापन सुधारको काम भएको हो ।

जाइकाको व्यवस्थापनपछि ट्राफिक प्रहरीले तालिम प्राप्त गरी यो प्रणाली सञ्चालन गर्न थालको कार्यक्रममा बताइएको छ । साथै, सडक प्रयोगकर्ताहरूलाई सचेत बनाउन ट्राफिक सुरक्षासम्बन्धी ब्यानर, शिक्षा कक्षा, र सामुदायिक कार्यक्रमहरू सञ्चालन गरिएको थियो ।

लैनचौर चोक र वरपरका केशरमहल तथा खाने विभाग चोकहरूमा पनि लेन चिन्ह, ट्राफिक बत्ती, र समन्वय प्रणाली नेपाल सरकारको आर्थिक सहयोगमा लागू गरिएको छ । काठमाडौं उपत्यकामा पहिलो पटक लैनचौरमा बायाँ मोड्न निषेध गर्ने संकेत बत्तीको प्रयोग गरी पैदलयात्रीहरूको सुरक्षालाई प्राथमिकता दिइएको जाइकाले जनाएको छ ।

दुबै चोकमा ट्राफिक जाम, सवारी गतिको वृद्धि, र दुर्घटनाजन्य व्यवहारको कमीमा आधारित गरी प्रभाव मूल्याङ्कन पनि गरिएको छ, जसअनुसार नयाँ बानेश्वरमा उल्लेखनीय सुधार देखिएको छ भने लैनचौरमा अझै जाम कायम रहेकाले थप सुधार योजनाहरू (जस्तै– नयाँ दायाँ मोड लेन र लेन चिन्ह थप) प्रस्ताव गरिएको छ ।

उपत्यकाको २ स्थानमा गरिएको नमुना परियोजनाको अनुभव तथा विश्लेषणमा आधारमा जाइकाले उपत्यकाको जाम व्यवस्थापनका लागि तीन महत्वपूर्ण दस्तावेज तयार पारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई हस्तान्तरण गरेको छ ।

शहरी यातायात व्यवस्थापन योजना, चोक सुधार सम्बन्धी निर्देशिका र ट्राफिक बत्ती सञ्चालन र मर्मतको लागि म्यानुअल जाइकाले तयारी गरी मन्त्रालयलाई हस्तान्तरण गरेको हो । कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले यातायात व्यवस्थापनका लागि सुचना प्रविधिको उपयोग बढाउनु पर्नेमा जोड दिए ।

काठमाडौ उपत्यकाको यातायात व्यवस्थापनका बारेमा जाईकाले गरेको अध्ययन बारेको कार्यक्रमलाई संवोधनका क्रममा उनले प्रविधिमा आएको विकास र परिवर्तनबाट नेपालले पनि लाभ लिन सक्नु पर्ने बताए । छिटो, छरितो र गुणस्तरीय सेवा उपलव्ध गराउन नविन प्रविधी र शैलीलाई अनुशरण गर्नु पर्ने मन्त्री दाहालको भनाई छ ।

यातायात व्यवस्थापनका लागि कुनै एक मन्त्रालय र निकायको पहल र प्रयास मात्र पर्याप्त नहुने भन्दै मन्त्री दाहालले अन्तरनिकाय सम्वन्ध र सहकार्यलाई समेत बढाउनु सक्नु बताए । जाइकाका नेपाल प्रमुख प्रतिनिधि मिजुकी मात्सुजाकीले नेपाललाई सहयोग गर्न पाउदा जापान खुशी रहेको र आगामी दिनमा पनि सहयोग निरन्तर रहने उल्लेख गरे ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव शुशिलबाबु ढकालका अनुसार जाईकाले ३ वर्ष भन्दा लामो समय लगाएर काठमाडौको शहरी यातायात व्यवस्थापनका बारेमा अध्ययन् गरेको हो । जाइकाले कुल १०७ चोकहरुको अध्ययनबाट प्राथमिकताका आधारमा नयाँ बानेश्वर र लैनचोरलाई नमुना परियोजनाको रुपमा अघि बढाएको ढकालले बताए । जाइकाको दस्तावेज अनुसार काम गर्ने हो भने उपत्यकाको ट्राफिक व्यवस्थापनमा कम्तिमा ३० प्रतिशतले सुधार हुने जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्