पूर्वाधार वाच, मकवानपुर ।
मकवानपुरको पूर्वी बकैया गाउँपालिका–५, गरगरेमा शुक्रबार बिहान भएको भीषण आगलागीमा करिब दुई करोड रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालका अनुसार स्थानीय लिलाराम जिम्बाको दुईतले पक्की घरमा रहेको किराना पसलमा बिहान करिब ७ः४५ बजे आगलागी भएको हो ।
पसल सञ्चालक गम्भीर घाइते
आगलागीमा पसल सञ्चालक ४५ वर्षीय लिलाराम जिम्बा गम्भीर घाइते भएका छन् । आगो निभाउने क्रममा उनको दुवै हात र खुट्टा जलेको प्रहरीले जनाएको छ ।
हेटौँडा अस्पतालमा प्रारम्भिक उपचारपछि उनलाई चुरेहिल अस्पताल हुँदै कीर्तिपुरस्थित बर्न अस्पतालमा रिफर गरिएको छ । जिम्बाको शरीरको करिब ४० प्रतिशत भाग जलेको र अवस्था मध्यम रहेको प्रवक्ता अर्यालले जानकारी दिए ।
कसरी भयो आगलागी ?
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार घर अगाडि बालेको दियोबाट पेट्रोलमा आगो सल्किँदा दुर्घटना भएको देखिएको छ ।
पसल सञ्चालकले पेट्रोलको ड्रमबाट तेल खन्याउने क्रममा ड्रम पल्टिएपछि आगो तीव्र गतिमा फैलिएको बुझिएको छ ।
दुई घण्टापछि नियन्त्रण
दमकल, प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा करिब दुई घण्टापछि आगो नियन्त्रणमा आएको थियो । तर यसअघि नै जिम्बाको दुईतले घर पूर्ण रूपमा जलेको थियो ।
करिब १५ लाख रुपैयाँ नगद, ३० थान ग्यास सिलिन्डर, पेट्रोल, डिजेल, खाद्यान्न, लत्ताकपडा, फर्निचर र पसलका सामानहरु आगलागीमा जलेर नष्ट भएको छ ।
यस्तै, घटनामा जिम्बाकै बा.प्र.०३–००६ प १८९७ नम्बरको पल्सर मोटरसाइकल जलेको छ भने पसलमा सामान किन्न आएका स्थानीय नारायणबहादुर स्याङ्तानको ना ४९ प १३ नम्बरको पल्सर मोटरसाइकल समेत जलेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सम्पूर्ण क्षतिको मूल्याङ्कन गर्दा करिब दुई करोड रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्