images
images
images

राष्ट्रिय सञ्जालमा जोडिएको १४ वर्षसम्म पनि कालोपत्रे हुन सकेनन् मुगुका सडक

images

पूर्वाधार वाच, मुगु । 

राष्ट्रिय सडक सञ्जालमा जोडिएर १४ वर्ष बितिसक्दा पनि मुगु जिल्लाका सडकहरू अझै कालोपत्रे हुन सकेका छैनन् । कच्ची र साँघुरो सडकका कारण यहाँका स्थानीय बासिन्दा र यात्रुहरू दैनिक जीवनमा ठूलो कठिनाइ भोग्नुपरेको छ ।

२०६९ साल पुस १ गते तत्कालीन प्रधानमन्त्री डा।बाबुराम भट्टराईद्वारा उद्घाटन गरिएको नाग्म–गमगढी सडकको मुगु जिल्ला क्षेत्रमा अहिलेसम्म एक पटक पनि कालोपत्रे गरिएको छैन ।
सरकारले २०७२ सालभित्र जिल्ला जोड्ने सडक कालोपत्रे गर्ने लक्ष्य राखे पनि हिलाम्मे वर्षा र धुलाम्मे हिउँद, सडकको किनारमा नाला, घुम्ती, वाल र सुरक्षासम्बन्धी कुनै सुविधा नहुँदा काम अपूर्ण रहेको छ ।

स्थानीय चालक सुशील बुढाले बताएअनुसार, रोजीरोटीका लागि बाध्य भएर उनी र अन्य चालकहरूले नाग्म–गमगढी सडक खण्डमा जोखिम मोलेर साना र ठूला सवारी साधनहरू चलाइरहेका छन् ।

कालिकोट–नाग्म–गमगढी सडक ९४ किलोमिटर भए पनि जुम्ला–हाडसिंन्जा ७ किलोमिटर बाहेक बाँकी सडक कालोपत्रे हुन सकेको छैन । ताल्चा विमानस्थल–गमगढी ९ किलोमिटर, गमगढी–तारापानी–सोरुकाट ४१ किलोमिटर, गमगढी–छाइल १८ किलोमिटर र गमगढी–बालैपिना–खत्याड–कालाकाँडा–जुम्ला ३५ किलोमिटर सडक पनि कालोपत्रे नभएको छ ।

छायानाथ यातायात प्रा।लि।का सचिव सन्तोष हाहीले भने, ‘सडकको कमजोर मापदण्डका कारण गाडीका पाटा, टायरलगायतका उपकरण बिग्रन्छन् र वर्षेनि सडक दुर्घटनाले मानवीय तथा धनजनको ठूलो क्षति हुन्छ ।’

संघीय र प्रदेश सरकारबीच जिम्मेवारीको विभाजनका कारण मुगुमा सडक विकास ढिला भएको हो । तर, यस वर्ष ताल्चा–गमगढी सडक कालोपत्रे तथा मर्मत सुधारका लागि बजेट व्यवस्था गरिएको मुगुका प्रदेशसभा सदस्य जित बहादुर मल्लले जानकारी दिए ।

मुगुका सडकको जोखिमपूर्ण अवस्थाले स्थानीय बासिन्दा मात्र होइन, रारा ताल जस्ता पर्यटकीय स्थल घुम्न आउने पर्यटकहरूलाई पनि सास्तीमा पारिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्