पूर्वाधार वाच, काठमाडौं |
राष्ट्रिय चिया तथा कफी विकास बोर्डले ‘कफी खेती गरौँ, स्वरोजगार बनौँ’ भन्ने मूल नारासहित किर्तिपुरस्थित समशितोष्ण वागवानी केन्द्रमा २१औँ राष्ट्रिय कफी दिवस–२०८२ भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रममा कफी किसान, स्टेट सञ्चालक, प्रशोधन उद्योग, कफी व्यवसायी तथा उपभोक्ताहरूको व्यापक उपस्थिति रहेको बोर्डले जनाएको छ।
कार्यक्रमले कफी खेतीलाई रोजगारी, उद्यमशीलता र ग्रामीण समृद्धिको शक्तिशाली साधनका रूपमा अघि बढाउन आवश्यक रणनीति र सम्भावनाहरूमा गहन छलफल गरेको थियो।
माग तीव्र, उत्पादन सुस्त — आयात बढ्दै, निर्यात घट्दै
कफी दिवसको अवसरमा बोर्डले सार्वजनिक गरेका तथ्याङ्कले नेपाली कफी क्षेत्रमा बढ्दो असन्तुलनलाई स्पष्ट पारेको छ।
आर्थिक वर्ष २०८१/८२ मा नेपालले ६४२ मेट्रिक टन ग्रीन बीन कफी उत्पादन गरे पनि २३० मेट्रिक टन (मूल्य रु १४.४१ करोड) कफी विदेशबाट आयात गर्नुपरेको | उता निर्यात भने झनै घटेको छ | गत वर्ष ८८ हजार किलोग्राम कफी निर्यात भएकोमा यस वर्ष ६४ मेट्रिक टन मा झरेको छ। ११ वर्षको उत्पादन यात्रा हेर्दा २०७०/७१ को ४२९ मेट्रिक टन उत्पादन बढेर २०८१/८२ मा ६४१.९ मेट्रिक टन पुगे पनि आन्तरिक बजारमा मागको वृद्धि उत्पादनको गतिभन्दा धेरै नै तीव्र देखिएको बोर्डले जनाएको छ | यस वर्ष मात्रै २३४ मेट्रिक टन कफी आयात हुँदा यसको मूल्य १४४ करोड रुपैयाँ नाघेको छ, जसले कफी क्षेत्रको स्थायित्व र आत्मनिर्भरता चुनौतीमा परेको संकेत गर्दछ।
कफी संस्कृतिको विस्तार, युवा पुस्ताको आकर्षण र बजारको बढ्दो प्रभाव
बोर्डका कार्यकारी निर्देशक फाइन्द्रराज पाण्डेका अनुसार सहर–केन्द्रित क्याफे संस्कृतिको विस्तार, युवापुस्ताको बदलिँदो जीवनशैली, र अन्तर्राष्ट्रिय बजारमा ‘नेपाल कफी’ को आकर्षण बढेका कारण आन्तरिक माग हरेक वर्ष अभूतपूर्व दरले बढिरहेको छ। उनले थपे, “उत्पादन विस्तार, किसान संरक्षण, बजारीकरण र कफी क्षेत्रको नियमन–प्रवर्द्धनका लागि संघ, प्रदेश र स्थानीय तहबीच दिगो समन्वय अपरिहार्य छ।”
कफी दिवसमा प्रशिक्षण, प्रदर्शन र अन्तर्राष्ट्रिय बजारका सम्भावना
कार्यक्रममा कफीका विभिन्न विधिबाट तयार गर्ने तरिकाबारे विस्तृत डेमोन्स्ट्रेसन, कफीको गुणस्तर, रोस्टिङ प्रक्रिया, कप–टेस्टिङ तथा स्वाद पहिचान, सही प्रशोधन प्रविधि जस्ता विषयमा व्यावहारिक प्रशिक्षण दिइएको थियो। सहभागीले यस्तो प्रदर्शनले कफी क्षेत्रप्रति सीप र विश्वास दुवै बढाएको प्रतिक्रिया दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्