पूर्वाधार वाच, काठमाडौं ।
दार्चुला पावर लिमिटेडले आज आफ्नो ९औँ वार्षिक साधारणसभा (AGM) सफलतापूर्वक सम्पन्न गरेको छ।
नेपालका लागि राष्ट्रिय प्रसारण लाइनमा विद्युत् आपूर्ति गर्ने उद्देश्यले जलविद्युत् आयोजना विकास तथा सञ्चालन गर्न स्थापित कम्पनीले साधारणसभामार्फत आफ्नो प्रगति समीक्षा गर्दै २८.३ मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत् आयोजनालाई तीव्र गतिमा अघि बढाउने प्रतिबद्धता दोहोर्याएको छ।
मध्य चमेलिया परियोजना सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लास्थित मार्मा गाउँपालिका क्षेत्रमा चमेलिया खोला (महाकाली नदीको प्रमुख सहायक खोला) मा विकसित भइरहेको रन–अफ–रिभर प्रकारको जलविद्युत् आयोजना हो।
दार्चुला पावर लिमिटेडको मुख्य प्रवर्द्धक तथा ५१ प्रतिशत सेयरधनी को रूपमा अपि पावर कम्पनी लिमिटेड रहेको छ। निजी क्षेत्रका अग्रणी ऊर्जाविकास कम्पनीहरूमध्ये एक अपि पावरले आयोजना विकासका लागि आवश्यक पुँजी लगानी गर्न प्रतिबद्धता व्यक्त गरेको छ।
कम्पनीका अनुसार इन्टेक क्षेत्रमा चमेलिया खोला क्याचमेन्टको प्रभावकारी क्षेत्रफल लगभग ७६९.६७ वर्ग किलोमिटर रहेको छ। जलप्रवाह सम्बन्धी अध्ययनअनुसार ४० प्रतिशत सम्भाव्यतामा २५.१७ क्युसेक (m³/s) डिजाइन डिस्चार्ज निर्धारण गरिएको छ।
पावरहाउसमा १३६.२६ मिटर ग्रस हेड र १२८.४६ मिटर नेट हेड उपलब्ध रहनेछ। परियोजनामा दुईवटा क्षैतिज अक्षीय फ्रान्सिस टरबाइन जडान गरिनेछ, जसको प्रतिटरबाइन क्षमता १४.५९ मेगावाट र कुल स्थापना क्षमता २८.३ मेगावाट हुनेछ।
परियोजना वार्षिक रूपमा १८५.६२ गिगावाट–घण्टा (GWh) विद्युत् उत्पादन गर्ने अपेक्षा गरिएको छ, जसमा मनसुनमा ११८.५२ GWh तथा सुख्खा मौसममा ६७.१० GWh विद्युत् उत्पादन हुनेछ। यसले विशेषगरी सुख्खा महिनामा नेपालले सामना गर्दै आएको विद्युत् अभाव न्यूनिकरणमा महत्वपूर्ण योगदान पुर्याउने कम्पनीको भनाइ छ।
विद्युत् निकासको लागि दर्चुला पावर लिमिटेडले अपि पावर कम्पनीले निर्माण र सञ्चालन गरेको १३२ kV डबल–सर्किट प्रसारण लाइन प्रयोग गर्नेछ। सोही लाइनमार्फत दर्चुला जिल्लास्थित नेपाल विद्युत् प्राधिकरणको बलञ्च सबस्टेशन सम्म विद्युत् प्रवाह गरिनेछ।
नियामकीय तथा वातावरणीय पक्षमा परियोजनाले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको विद्युत् विकास विभाग (DoED) बाट सर्वेक्षण इजाजत प्राप्त गरिसकेको छ। विस्तृत सर्वेक्षण सम्पन्न भइसकेको छ भने प्रारम्भिक वातावरणीय परीक्षा (IEE) पनि मन्त्रालयबाट स्वीकृत भइसकेको छ। जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको छ।
साथै, परियोजनाको विद्युत् खरिद सुरक्षित गर्न नेपाल विद्युत् प्राधिकरणसँग २०७८ असोज २९ गते पावर पर्चेज एग्रिमेन्ट (PPA) सम्पन्न गरिसकिएको कम्पनीले जनाएको छ।
९औँ AGM सफलतापूर्वक सम्पन्नसँगै दार्चुला पावर लिमिटेडले मध्य चमेलिया जलविद्युत् आयोजनाको विकासमा महत्वपूर्ण प्रगति गरेको संकेत दिएको छ। यस आयोजनाबाट सुदूरपश्चिम क्षेत्रको समग्र विकासमा टेवा पुग्ने तथा राष्ट्रिय विद्युत् प्रणालीमा स्वच्छ र नवीकरणीय ऊर्जा थपिने अपेक्षा गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्