पूर्वाधार वाच, इन्डोनेसिया ।
इन्डोनेसियाको सुमात्रा टापुमा मङ्गलबार भएको मनसुनी वर्षाका कारण आएको बाढी र पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १६४ पुगेको छ । बाढी र पहिरोमा परी बेपत्ता ७९ जना मानिसहरूको खोजी जारी छ ।
बाढीले सडकमा क्षति पुगेको उल्लेख गर्दै आवाश्यक उपकरणको अभावका कारण उद्धारकर्मीहरूले कठिनाइको सामना गरिरहेका इन्डोनेसियाका अधिकारीहरूले विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।
इन्डोनेसियाको राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सी (बिएनपिबी)ले सुरुमा १७४ जनाको मृत्यु भएको रिपोर्ट गरेकोमा हाल मृतकको सङ्ख्या १६४ मा संशोधन गरेको छ । एजेन्सीका प्रमुख सुहारियान्तोले पत्रकार सम्मेलनमा उत्तरी सुमात्रा प्रान्तमा मृतकको सङ्ख्या ११६ पुगेको र उद्धारकर्ताहरूले टापुको पश्चिममा २३ जनाको शव बरामद गरेको जानकारी दिए।
उनले उद्धार टोलीहरूले उत्तरी सुमात्राका १२ सहर र जिल्लाहरूमा प्रभावित क्षेत्रहरूमा पुग्न कठिनाइको सामना गरिरहेको पुष्टि गर्दै बाढीले १७ हजार भन्दा बढी घरहरू डुबानमा पर्दा लगभग २३ हजार मानिसहरु विस्थापित भएको जानकारी दिए ।
उष्णकटिबन्धीय चक्रवात सिनियार्टले बढाएको मनसुनी वर्षाले मङ्गलबार उत्तरी सुमात्राका नदीहरूले खतराको सतह नाघेका छन् भने बाढीले धेरै पहाडी गाउँहरू बगाएको छ । बाढीका कारण तीन हजार २०० भन्दा बढी सरकारी घर तथा भवनहरू डुबानमा परेका थिए । उक्त स्थानमा आश्रय लिइरहेका तीन हजार परिवारसमेत विस्थापित भएका छन् ।
बाढीले धान बाली , गाईवस्तु र सार्वजनिक सुविधाहरू पनि नष्ट गरेपछि मानिसहरुको दिनचर्या नै तहस नहस भएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्